बैतडीको दोगडाकेदार गाउँपालिका–८ कटौजपानीका २३ वर्षीया सुरेन्द्र विष्ट जिप चालक थिए। चौसिला बजार, सिल्लेगडा, खोचलेक हुँदै बैतडी सदरमुकामसम्म जिप चलाउँथे, उनी।
घर कटौजपानी भएपनि जिपमा सवार ओहोरदोहोर गर्दा ढिलो हुँदा उनी चौसिला बजारमै बास बस्थे। त्यहीँ जिप राख्थे। फुर्सदिलो समयमा कहिलेकहीँ घरतिर पनि जान्थे।
शनिबार दिनभर सुरेन्द्रले रुटमा जिप चलाएर यात्रु ओहोरदोहार गरे। दिउँसोतिर बजारमा सुरेन्द्रको भेट, उनका दाइ (बाजे भाइ), कर्ण बहादुर विष्टसँग हुन्छ।
त्यहाँ उनीहरुबीच लेनदेनको विषयमा विवाद भएको थियो।
स्थानीयका अनुसार सुरेन्द्रले ५/६ वर्षअघि दाइ कर्णलाई ५० हजार नगद ऋण दिएका थिए। बारम्बार माग्दा पनि कर्ण बहादुरले सुरेन्द्रलाई पैसा फिर्ता दिएका थिएनन्। आफूले पैसा तिर्नु बाँकी नरहेको कर्णको जिकिर हुन्थ्यो।
शनिबार दिउँसो त्यसकै कारण उनीहरूबीच विवाद भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूले बताए।
‘प्रारम्भिक रुपमा लेनदेनको विषयमा विवाद भएको देखिन्छ,’ उनले भने, ‘त्यसकै कारण गोली प्रहार गरेर हत्या (सुरेन्द्र)को हत्या भएको पाइएको छ।’
शनिबार दिउँसो विवाद हुँदा सुरेन्द्रले कर्णलाई एक झापड हाने। त्यसपछि स्थानीलये छुट्याएर कर्ण बहादुरलाई घर पठाए। जिप चलाएर ढिला हुँदा सुरेन्द्र बेलुकी घर गएनन्। सदाझैँ चौसिला बजारमा जिप पार्किङ गरेर त्यहीँको होटलमा खान खाइरहेका थिए, सुरेन्द्र।
८ बजेतिर उनका दाइ नाता पर्ने कर्णबहादुर घरबाट भरुवा बन्दुक लिएर बजारमा आए। खाना खाइरहेका सुरेन्द्रलाई पछाडिबाट गोली ताकेर हाने। कर्णबहादुरले हानेको गोलीले सुरेन्द्रको पेट छेडेर निस्कियो, उनी त्यहीँ ढले।
सँगैका अन्य तीनजनाले हतरपतर सुरेन्द्रलाई उठाएर उनकै गाडीमा राखेर अस्पतालतर्फ लगिरहेका थिए। तर बाटोमै सुरेन्द्रले प्राण त्यागे। गोली प्रहार गर्ने कर्णबहादुर बन्दुकसहित त्यसपछि फरार रहेका छन्।
उनको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन्। यद्यपी, घटना भएको २४ घण्टा बितिसक्दा पनि प्रहरीले उनलाई समात्न सकेको छैन।
विवादपछि मदिरा सेवन गरेर मात्तिएका कर्णबहादुरले रिसको झोकमा सुरेन्द्रमाथि गोली चलाएका थिए। जिल्ला अस्पतालमा पोष्टमार्टमपछि सुरेन्द्रको आइतबार बेलुकी हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिएको छ।
उनको घरमा आमा, बुवा, दाइ, भाउजु र श्रीमती छन्। शुक्रबार उनका बुवा बहादुर मजदुरी गर्न भारतको पिढौरागढ गएका थिए। आमा धनमती पनि गोकुलेश्वर मेलामा थिइन्। त्यहीँ बेला उनीहरूले कलिलो उमेरमै छोरा सुरेन्द्रलाई गुमाए।
सुरेन्द्रको परिवार मात्रै विक्षिप्त छैन, पूरै गाउँ नै शोक र त्रासमा छ। विष्ट परिवारका कान्छा छोरा थिए, सुरेन्द्र। उनका दाइ नरेश प्रहरीमा जागिरे छन्।
‘दाइले ऋणदान गरेर २ वर्षअघि बोलेर जिप किनीदिएको थियो। जिप चलाएरै घरखर्च जोहो गरिरहेको थियो,’ दोगडाकेदार गाउँपालिका–८ का वडा सदस्य दानबहादुर विष्ट भन्छन्, ‘होनहार युवाको दुःख घटना भयो। परिवारको सहारा ढल्यो।’
सुरेन्द्र कक्षा १० सम्मको अध्ययन गरेपछि बैतडीमै गाडीमा सहचालकको काम गर्थे। सहचालकको काम गर्दा गर्दै उनले जिप चलाउन सिकेका थिए।
गोली प्रहार गरेर सुरेन्द्रको हत्या गरिएपछि उनको सुन्दर प्रेमिल परिवार बिछोडिएको छ।
सुरेन्द्रले गत भदौमा पुर्चौडी नगरपालिका–१० विजयपुरकी प्रेमिकासँग विवाह गरेका थिए। बिहे गरेको ६ महिनामै उनको निधन भयो। गोली लागेर सुरेन्द्र ढलेपछि विष्ट परिवारको सपना चकनाचूर भएको छ।
Shares

प्रतिक्रिया