अछाममा दुई किशोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
यस क्रममा शंकास्पद दुई किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
उनीहरू पनि ढकारी गाउँपालिकाकाकै हुन्। प्रहरीका अनुसार सोधपुछ जारी छ।
स्रोतका अनुसार उनीहरू ती किशोरीसँग सम्पर्क रहने गरेको र घटनाका बेला जंगलमै देखिएको पाइएको छ।
ढकारी गाउँपालिका-८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का शनिबार बेलुकी ढकारी गाउँपालिका-१ को जंगलमा मृत फेला परेका थिए।
बाख्रा चराउन गएका उनीहरूको ढकारी गाउँपालिका-१ स्थित सिस्ने ओढारमा शव भेटिएको थियो। प्रहरीले शव पोस्टमार्टमका लागि भेरी प्रादेशिक अस्पताल नेपालगन्ज लगेको छ।
भीरमुनि मृत भेटिएका किशोरीको अनुहार क्षतविक्षत अवस्थामा छ। उनीहरू दुवैको शरीरमा पनि घाउ र निलडाम छन्।
दुवै किशोरीको शव २० मिटरको दूरीमा सिस्ने ओढारमा भेटिएको थियो।
पीडित परिवारले घटना शंकास्पद रहेकाले अनुसन्धान गर्न माग गरेको छ।
Shares

प्रतिक्रिया