१० बिगाह जमिनमा फैलिएको छ- पोखरी। पोखरीमा पौडिरहेका छन्- माछा। जमिनका केही भागमा बंगुर र बाख्रा फर्म पनि छन्।
उक्त माछा पोखरी वरपरका स्थानीयले भने धान, गहुँ खेती गरेका छन्।
तर कञ्चनपुरको वेदकोट नगरपालिका-६ घुर्सुवाका हरिराम चौधरी दशकदेखि परम्परागत धान, गहुँ खेती छाडेर माछापालनमा रमाइरहेका छन्।
‘बुवाले माछापालन सुरु गर्नु भएको हो। उहाँ बितेपछि मैले नै सम्हालिरहेको छु,’ उनले भने, ‘सुरुमा हामीले धान खेतीमै माछापालन गर्थ्यौँ। परम्परागत खेतीभन्दा राम्रो फाइदा हुने भएपछि माछापालनतिरै लाग्यौँ।’

वि.सं. २०६५ सालमा धानखेतीपछि एक पोखरीमा माछापालन गरेका हरिरामका बुवा चन्द्रलालको माछापालन विस्तार गरेर अहिले १० बिगाह जमिनमा फैलिएको छ।
हरिरामका बुवा चन्द्रलालको २०७२ सालमा निधन भयो। त्यसपछि बुवाको बिँडो हरिरामले सम्हालिरहेका छन्। हरिराम शिक्षण गर्थे।
बुवाले सुरु गरेको माछापालनमा व्यस्त हुनु परेपछि उनले शिक्षण पेसा नै त्यागे। सरकारी जागिरे बन्ने चाहनालाई थाँती राख्दै माछापालनतर्फ मोडिए।

‘सरकारी जागिरे बन्ने चाहना थियो। तर शिक्षण र माछा पालनतिर व्यस्त हुँदा तयारी गर्नतर्फ लागिएन। तयारी गरेको भए सरकारी जागिरे भइन्थ्यो होला, अहिले माछा पालनबाट पनि राम्रै भएको छ,’ उनले भने, ‘सरकारी जागिरे नहुँदा पनि केही छैन। माछा पालनले सन्तुष्टि दिएको छ।’
उनका अनुसार माछापालनबाट वार्षिक ३० लाख आम्दानी भइरेहको छ। धान, गहुँ खेतीभन्दा पनि माछापालनबाट राम्रो आम्दान भइरहेको उनको भनाइ छ।
‘१० विगाह जमिनमा हामी धान, गहुँ केही लगाउँदैनौँ,’ उनले भने, ‘लगानीको दोब्बर फाइदा हुन्छ। वार्षिक ३०/४० लाखसम्म आम्दानी हुने गरेको छ।’
हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिएका छन्। माछा एक किलोग्रामको हुन एकदेखि सवा किलोग्रामसम्म दाना खुवाउनुपर्ने हुन्छ।

१० विगाह जमिनको पोखरीमा गरिएको माछापालनबाट वार्षिक ७/८ सय क्विन्टल माछा उत्पादन हुने गरेको हरिरामले बताए।
पोखरीबाट माछा बिक्री गर्दै आएका उनी अब महेन्द्रनगरमा माछा पसल थापेर पोखरीको उत्पादन आफैँ बिक्री गर्ने तयारीमा छन्। उनले माछा स्थानीय बजारमै बिक्री गर्ने गर्छन्। माछाको भुरा र दाना भारतबाट ल्याउने गरेको उनको भनाइ छ।
नेपालमा गुणस्तरी भुरा र दाना नपाइने हुनाले चर्को मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
जमिन भाडामा लिएर माछा पालन गर्दा पनि आफैँसँग जमिन भए आम्दानी झनै राम्रो गर्न सकिने हरिरामको भनाइ छ।

आफ्नै ठाउँमा माछा पोखरीमा काम गर्न पाउँदा स्थानीय विजय डगौँरा खुसी छन्। विजय हरिरामको माछा पोखरीमा दशकदेखि काम गर्दै आएका छन्।
युवाहरू रोजगारीका लागि विदेश भौतारिँरहेको अवस्थामा आफ्नै ठाउँमा गतिलो आम्दानीको काम पाउँदा निकै सहज भएको विजयको भनाइ छ।
‘विद्यालय पढ्दादेखि नै माछा पोखरीमा काम गर्न सुरु गरेको हो। गाउँकै अन्य साथीभाइ कामको खोजीमा विदेश गएका छन्। आफू स्वदेशमै रोजगारीमा जोडिँदा आनन्द छ,’ उनले भने, ‘घरपरिवारको हेरविचार पनि भएको छ। आम्दानी पनि राम्रै छ।’
Shares

प्रतिक्रिया