सुदूरपश्चिम


डोटीमा किबीखेती विस्तार गरिँदै

डोटीमा किबीखेती विस्तार गरिँदै

नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १४:३१, डोटी

जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ। दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार थालिएको हो।

किबीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यसतर्फ आकर्षित गर्न ‘किबी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए। 

दिपायल सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले ९ वर्ष पहिले नौ वटा किबीका बोट लगाएका थिए। तत्कालीन समयमा हालको कृषि ज्ञान केन्द्रको सहयोगमा किबीखेतीको सुरुआत गरेको उनले बताए। दुई रोपनी क्षेत्रफलमा ९ बोट लगाएर खेती सुरु गरेको बताउँदै उनले अहिले खेती विस्तार गरी ४० बोट पुर्‍याएको जानकारी दिए। 

सुरुका ४ वर्ष किबी हुर्काउन समय लागेको भन्दै मल्लले त्यसपछि उत्पदान दिन सुरु भएको बताए। हाल किबी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक २ लाखभन्दा बढी आम्दानी हुन थालेको उनले जानकारी दिए। 

सुरुमा लगाएका प्रतिबोटमा वार्षिक  ३० देखि ४० हजार रुपैयाँको किबी फल्ने गरेको मल्लले बताए। ‘जिल्लामा पहिलो पटक किबीखेती गरेकोले बजारको समस्या थियो। बिक्री गर्नु पहिले एक/दुई दाना चखाएपछि मात्र खरिद गर्नुहुन्थ्यो’, उनले भने, ‘अहिले भने माग बाहिरी जिल्लाबाट पनि आउने गरेको छ। उपभोक्ताले घरमै आएर खरिद गर्ने भएकाले बजारको समस्या छैन।’

किबीखेती गर्दा काँटछाँट र मलजलमा बढी ध्यान दिनुपर्ने मल्लले उल्लेख गरे। काँटछाँटसम्बन्धी ज्ञान नभएमा उत्पादनमा कमी आउने भन्दै ज्ञान केन्द्रले यससम्बन्धी तालिम दिनुका साथै आवश्यक समन्वय गरिरहेकाले किसानलाई खेती गर्न सहज भएको उनको बुझाइ छ। आगामी दिनमा एक सय बोट थप गर्ने योजना रहेको उनले जानकारी दिए।

जोरायल गाउँपालिका–१ गैराका भास्कर भट्टले पाँच सयबढी बोट लगाएर किबीखेती गरिरहेका छन्। सात वर्ष पहिले सामाजिक सञ्जाल युट्युबमा  भिडियो हेरेर किबीखेतीप्रति आकर्षित भएको बताउँदै उनले ६५ बोटबाट खेती सुरु गरेको जानकारी दिए।

तत्कालीन समयमा कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ बोट र बाँकी आफ्नो लगानीमा खेती गर्न थालेको भट्टले अनुभव सुनाए। यस वर्षदेखि किबी बिक्री हुने उनले बताए। उनले भने, ‘बारीमा चार क्विन्टल किबी छ, बिक्रीका लागि धनगढीस्थित भाटभटेनीसँग समन्वय भएको छ। यहाँबाट पनि १०/१५ किलोका दरमा माग भइरहेकाले बिक्रीमा समस्या नहुने विश्वास लिएको छु।’

अर्को वर्षदेखि ५०–६० क्विन्टल किबी फल्ने भट्टले बताए। उनले किबीखेती गरिएको क्षेत्रभित्र विभिन्न किसिमका तरकारी पनि फलाएका छन्।

मल्ल र भट्ट जस्तै डोटीमा किबीखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लामा एक हजारभन्दा बढी किबीका बोट रहेका भन्दै चारवटा फार्म सञ्चालन भइरहेका केन्द्रका प्रमुख अवस्थीले जानकारी दिए। 

जिल्लामा उत्पादित किबीका लागि बजारको समस्या नभएको बताउँदै भण्डारण गर्नुपर्ने अवस्था आएमा डडेल्धुरामा रहेको चिस्यान केन्द्रमा राखिने उनले उल्लेख गरे। केन्द्रले किसानलाई बिरुवा काँटछाँटसम्बन्धी तालिम दिने, औजार उपलब्ध गराउने, बजारीकरणमा समन्वयनलगायत सहयोग गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad