दार्चुलाको मार्मा गाउँपालिका–५ की ३५ वर्षीया विमला महतालाई मंगलबार अन्य दिनभन्दा बेग्लै खुसी थियो। किनभने उनकी दिदी जैमती बोहराकी छोरी २० वर्षीया कमला बोहराले सोमबार पहिलो सन्तान छोरा जन्म दिएकी थिइन्।
गर्भवती कमलालाई लिएर प्रसूतिका लागि श्रीमान् २२ वर्षीय सहदेव बोहरा २४ असोजमै कैलालीको धनगढी झरिसकेका थिए। छोरीको स्याहार गर्न आमा जैमती पनि उनीहरूसँगै थिइन्।
धनगढीमा सोमबार कमलाले छोरालाई जन्म दिइन्। मंगलबार अस्पतालबाट डिस्चार्ज भइन्।
धनगढीमै रहेकी जैमतीकी बहिनी विमला, नवजात शिशुसहित पाँच जनाले मंगलबार बेलुकी पहाड फर्कने निधो गरे। कैलालीको अत्तरियाबाट उनीहरू बसमा चढे।
सहदेव, कमला, जैमती बैतडीको पुर्चौडी नगरपालिका–३ मा बस्छन्। मार्मा घर भएकी विमला पनि उनीहरूसँगै जान कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बर बस चढेकी थिइन्।
आधा बाटो छिचोलेपछि उनीहरू सवार बस मंगलबार मध्यराति डडेल्धुराको अमरगढी नगरपालिका–७, खस्रेखानमा दुर्घटनामा पर्यो।
सडकबाट बसले कयौँ बल्ट्याङ खाँदै झण्डै तीन सय मिटर तल खस्यो। बस टुक्राटुक्रा मात्रै भएन, त्यसमा सवार १७ जना यात्रुमध्ये कोही च्यापिए, कोही बस भिरमा पल्टिँदा यत्रतत्र लागेर घाइते भए।
‘दुर्घटनास्थल डरलाग्दो छ। पहाडको घुम्तीको माथिल्लो सडकबाट बस तल्लो सडकमा खसेको छ,’ दुर्घटनास्थलमा पुगेका पुर्चौडी नगरपालिका–३ का अध्यक्ष खगेन्द्रबहादुर बोहराले भने, ‘बस भिरमा खसेर बोडी छुट्टिएपछि यात्रुहरू यत्रतत्र लागेर बचेको देखिन्छ।’
बस दुर्घटनामा विमला पनि घाइते भइन्। दुर्घटनाग्रस्त बसबाट निक्लेर मंगलबार मध्यराति उनैले दुर्घटनाबारे जानकारी दिएकी थिइन्। उनले फोन गरेर आफन्तलाई बस दुर्घटनाबारे बताएकी थिइन्। उनका आफन्तले नै प्रहरीलाई खबर गरे।
‘घाइते अवस्थामै उहाँ (विमला)ले घरमा फोन गर्नुभएको रहेछ,’ सहदेवका दाइ नाता पर्ने चक्रबहादुर बोहरा भन्छन्, ‘त्यसपछि त्यतैबाट प्रहरीलाई पनि खबर भएको हो।’
सुरक्षाकर्मीले दुर्घटनाग्रस्त स्थलबाट गम्भीर अवस्थामा उद्धार गरेका विमलाकी दिदी जैमती, छोरी कमला, ज्वाइँ सहदेव र दुई दिने नवजात शिशुलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरे।
दुर्घटनाको खबर दिने विमलाले दिदी, छोरी, ज्वाइँ र नवजात शिशु हेर्नै पाएनन्। घाइते उनको अहिले कैलालीको धनगढीमा उपचार भइरहेको छ।
छोरा जन्मिएको खुसी बोकेर गाउँ फर्किरहेको सहदेवको परिवारका ४ सदस्य बाटोमै बिलाए।
मृतकका आफन्तले बुधबार शव बुझेर गाउँ फर्कँदैछन्। बिहीबार गाउँमै अन्त्येष्टि गरिने पुर्चौडी नगरपालिका–३ का अध्यक्ष खगेन्द्रबहादुर बोहराले बताए।
यस दुर्घटनामा पुर्चौडी नगरपालिका–१० की गोवणी महराले पनि ज्यान गुमाएकी छिन्। घाइते १२ जनाको डडेल्धुरा अस्पतालमा उपचारपछि धनगढी ल्याइएको छ।
Shares

प्रतिक्रिया