ad ad

सुदूरपश्चिम


किन संसार त्यागिन् टिकटकर विमलाले?

श्रीमान् गुमेको ३ महिनामै छोरी पनि बितेपछि विक्षिप्त छिन् लक्ष्मीदेवी
किन संसार त्यागिन् टिकटकर विमलाले?

फाइल तस्बिर : विमला देउवा


गोकुल जोशी
भदौ २८, २०८१ शुक्रबार ७:३३, कञ्चनपुर

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ की ५५ वर्षीया लक्ष्मीदेवी देउवा श्रीमान्‌को बरखीमा थिइन्। उनका पति गत जेठ २६ गते बितेका थिए।

यहीबीच उनीमाथि बुधबार (भदौ २६ गते) अर्को बज्रपात पर्‍यो। कान्छी छोरी २१ वर्षीया विमलाले संसार त्यागिन्। 

दिउँसो छोरी, बुहारीसहित परिवारका सदस्यले सँगै खाना खाए। त्यसपछि आमा बाख्रा चराउनतिर लागिन्। बुहारी घाँस काट्न। छोरी विमला घरमै थिइन्।

बेलुका सबै घर फर्किँदा विमला आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परिन्।

‘छोरी हामीसँग आइनन्, कहाँ गइन् भनेर नातिनातिनालाई हेर्न पठाउँदा कोठामा त्यस्तो अवस्थामा भेटिएकी रहेछन्’, एक स्थानीय भन्छन्, ‘सुरुमा सुन्दा त हामी पत्याएका नै थिएनौँ।’

लक्ष्मीका जेठा छोरा बुवाको किरिया सकेर रोजगारीका लागि भारतमा छन्। घरमा आमा, बहिनी, बुहारी र ससाना तीन छोराछोरी बस्थे।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दीपक कार्कीका अनुसार बिहीबार विमलाको शव पोस्टमार्टम गरियो भने सोही दिन परिवारले स्थानीय सेती नदीको घाटमा अन्तिम संस्कार पनि गरिसकेको छ।

‘कोठाभित्र शव झुन्डिएको अवस्थामा भेटिएको हो। आत्महत्याको कारण खुलेको छैन’, डीएसपी कार्कीले भने, ‘घटनाको बारेमा परिवारसँग प्रारम्भिक सोधपुछ गर्दै छौँ।’

विमला सामाजिक सञ्जाल टिकटकमा सक्रिय थिइन्। उनको टिकटक अकाउन्टमा २ लाख २४ हजार फलोअर्स थिए।

उनी डडेल्धुरा सदरमुकामस्थित  महेन्द्र नमुना माध्यमिक विद्यालयमा पढ्थिन्। पारिवारिक स्रोतका अनुसार कक्षा १२ को नतिजा बिग्रिएपछि उनी तनावमा थिइन्। 

सदरमुकामबाट घर फर्किएपछि केही दिनअघि आमा लक्ष्मीदेवीसँग उनले ‘मरिदिन्छु’समेत भनेकी थिइन्। ‘रिजल्ट बिग्रियो भन्दैमा त्यस्तो गर्नु हुँदैन, अर्को वर्ष भइहाल्ला’ भनेर आमाले सम्झाएकी थिइन्। 

‘परिवारको कुरा सुुन्दा रिजल्ट बिग्रिएपछि केही तनावमा रहेको बुझिन्छ’, गन्यापधुरा गाउँपालिका-३ का अध्यक्षसमेत रहेका मृतकका छिमेकी चक्र देउवा भन्छन्, ‘नानी राम्रै थिइन्। खै के भएर यस्तो गलत बाटो रोजिन्।’

विमलाले कोठाभित्रै पंखामा दोपट्टाले झुन्डिएर संसार त्यागिन्।

परिवारले आउँदो मंसिरमा उनको बिहे गर्ने तयारी पनि गरिरहेको थियो।

श्रीमान् गुमाएको ३ महिनामै छोरी पनि गुमेपछि लक्ष्मीदेवी विक्षिप्त छिन्। उनी छोरीको बिहे गर्ने कुरा सम्झिँदै भक्कानिँदै थिइन्।

घटनाले देउवा परिवार मात्र होइन, यतिबेला गाउँ नै शोकमा डुबेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .