ad ad

सुदूरपश्चिम


नागरिक उन्मुक्तिका २ मन्त्रीले पाए मन्त्रालय

नागरिक उन्मुक्तिका २ मन्त्रीले पाए मन्त्रालय

नेपालखबर
चैत १५, २०८० बिहिबार १३:५८, कञ्चनपुर

बिनाविभागीय मन्त्रीका रूपमा सुदूरपश्चिम प्रदेश सरकारमा सामेल नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई सांसदलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नाउपाका लक्ष्मणकिशोर चौधरी र खुसीराम डगौराले विभागीय जिम्मेवारी पाएका हुन्। 

मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई सामाजिक विकास मन्त्रालय र डगौरालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

उनीहरूले बिहीबारै कार्यभार सम्हालेका छन्। लक्ष्मणकिशोर फागुन २८ र खुसीराम फागुन २५ मा बिनाविभागीय मन्त्री नियुक्त भएका थिए। 

मन्त्री नियुक्त भएको दुई साताभन्दा बढी समयपछि चौधरी र डगौराले मन्त्रालय पाएका हुन्।

बुधबार नाउपाकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्य र सांसदहरूको बैठकबाट नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गराएसँगै नाउपाका बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको हो। 

सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाका ७ सांसदमध्ये ५ जना अहिले मन्त्री छन्।

रामेश्वर चौधरी भूमि व्यवस्था तथा सहकारी, घनश्याम चौधरी आर्थिक मामिला र इन्द्रिरा गिरी भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री छन्।

तत्कालीन सत्ता सहयात्री नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री शाह नाउपालाई साथमा लिएर सरकार जोगाउने कसरतमा छन्।

तर नाउपाभित्र रेशम र रञ्जिताको विवादले कांग्रेस नेतृत्वको प्रदेश सरकार संकटमा छ।

सत्ता सुनिश्चित गर्न राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा ल्याउन दुई मन्त्रालय मुख्यमन्त्री शाहले आफैँसँग राखेका थिए। ५३ सदस्य रहेको प्रदेश सभामा सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन चाहिन्छ।

नेपाली कांग्रेससँग १८ र नागरिक उन्मुक्तिका ७ गरेर सुदूरपश्चिम सरकारलाई अहिले २५ सांसदको समर्थन छ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।

यस्तै राप्रपा र स्वतन्त्र सांसद एक/एक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .