ad ad

सुदूरपश्चिम


श्रमदानबाट टीकापुरमा ठडियो रेशम चौधरीको ‘उन्मुक्ति घर’

श्रमदानबाट टीकापुरमा ठडियो रेशम चौधरीको ‘उन्मुक्ति घर’

गोकुल जोशी
कात्तिक ११, २०८० शनिबार १७:५३, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले जनश्रमदानमार्फत कैलालीमा आफ्नो घर बनाएका छन्। कैलालीको टीकापुर नगरपालिका–१ कर्मचारी टोलस्थित खाद्य गोदाम नजिक जनश्रमदान गराएर चौधरीले घर निर्माण गरेका हुन।

उन्मुक्ति पार्टीका स्थानीय कार्यकर्ताहरूलाई श्रमदान गराएर टीकापुरमा एक तले घर तयार भएको बताइएको छ। उन्मुक्ति पार्टीका एक नेताका अनुसार जनश्रमदानबाट एक तले घर निर्माणको काम सकिएको छ।  

‘जग हाल्नेदेखि एक तला पूरा हुँदासम्म श्रमदानबाट काम भएको हो, टीकापुरका साथै बाँके, बर्दिया लगायतका थुप्रै कार्यकर्ता श्रमदानमा सहभागी भएका थिए,’ ती नेताले नेपालखबरसँग भने, ‘रेशम जी जेलबाट छुटेपछि भेट्न आउने गाउँले, साथीभाइहरू पनि श्रमदानमा जुटेका थिए।’ 

स्वस्फुर्त रुपमा कार्यकर्ता घर निर्माणमा सहभागी बनेको ती नेताको दाबी छ। श्रमदानबाट घर निर्माण भइरहेको विषयमा नकारात्मक टिप्पणी आउन थालेपछि श्रमदानमा भइरहेको काम रोकिएको छ।

‘जनताले माया गरेर स्वस्फूर्त रुपमा गरेको श्रमदान अरुलाई पचेन, अन्य राजनीतिक दलका नेताहरुले यसलाई विवादमा ल्याए,’ चौधरी निकट ती नेताले भने, ‘स्वस्फुर्त रूपले खुसी खुसी जनता श्रमदानमा आउँथे, एक तलासम्म काम गरेर पछि श्रमदानका काम रोकेका हौं।’

श्रमदानबाट निर्माण भएको पहिलो तलामा हल बनाइएको छ। चौधरीले स्थानीयलाई घर निर्माणमा सहभागी गराउनुका साथै सिमेन्ट लगायत निर्माण सामाग्री सहयोग पाएका थिए।

घर निर्माणको काममा स्थानीय कार्यकर्तासँग चौधरी आफै पनि सक्रिय थिए। टीकापुर–१ मा चौधरीको तीन तले घर निर्माणाधीन अवस्थामा छ।

उक्त घरलाई ‘उन्मुक्ति घर’ नाम दिइएको छ। 

अर्को व्यवस्था नहुञ्जेलसम्म पार्टी कार्यालयको रुपमा सो घर प्रयोग गरिने चौधरी निकट नेताहरूको भनाइ छ।

‘पार्टीको कार्यालयका लागि जग्गा पाइएको छैन,  कार्यालयको लागि अर्को व्यवस्था नहुँदासम्म यही घर प्रयोग गरिन्छ,’ ती नेताले भने, ‘दोस्रो तला ढलान गरियो, तेस्रो तलामा पिल्लर ठड्याइएको छ।’ 

केही महिना अघि उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीको बैठक यही घरमा राखिएको थियो। 

श्रमदानमा निर्माण भइरहेको काम रोकिएपछि बाँकी दुई तला निर्माणको लागि ठेक्का दिइएको हो। 

टीकापुर नरसंहारमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरीले गणतन्त्र दिवसमा आममाफी पाएका थिए। 

राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएपछि साउनदेखि चौधरीले टीकापुरमा घर निर्माण गर्न थालेका थिए। 

बजेटको अभाव भएकाले निर्माण सम्पन्न कहिले हुने टुंगो छैन। पहिलो तलामा हल बनाइएको ‘उन्मुक्ति घर’को माथिल्लो तलामा आवासका लागि कोठा बनाउने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .