ad ad

सुदूरपश्चिम


बाटैमा रोकिएका विदेशी पर्यटकले एक सातापछि पाए रामारोशन प्रवेश अनुमति, प्रहरीले बढायो निगरानी

बाटैमा रोकिएका विदेशी पर्यटकले एक सातापछि पाए रामारोशन प्रवेश अनुमति, प्रहरीले बढायो निगरानी

सुुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल रामारोशनका लागि हिँडेका विदेशी पर्यटक। थप तस्बिर तल।


गोकुल जोशी
असोज ४, २०८० बिहिबार १०:३०, कञ्चनपुर

सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल रामारोशन प्रवेशका लागि विदेशी पर्यटकले अनुमति पाएका छन्।

यसअघि सम्बन्धित निकायको अनुमतिपत्र नहुँदा स्थानीय प्रशासनले बाटोमै रोकेका विभिन्न देशका २ सय ८३ जना विदेशी पर्यटकले एक सातापछि रामारोशन प्रवेश गर्न पाएका हुन्।

भिजाका साथै व्यक्तिगत गतिविधि अध्ययन गरेर रामारोशन प्रवेशका लागि सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि  रोकिएका पर्यटक गन्तव्यतर्फ गएको अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरद कुमार पोखरेलले जानकारी दिए।

‘भिजा भएकाहरुलाई उनीहरुको गतिविधि अध्ययन गरेर गन्तव्य जान दिन सहजीकरण गरेका छौँ,’ उनले भने, ‘धेरै संख्यामा विदेशी पर्यटकहरू आएका तर अनुमति नभएकाले हामीले रोकेका थियौँ।’

पर्यटन क्षेत्रमा सम्मेलनको आयोजनाबारे आफूहरूलाई कुनै जानकारी नभएको र पर्यटनसँग सम्बन्धित कुनै पनि निकायको अनुमतिपत्र नभएकाले विदेशी पर्यटकहरूलाई अछाम प्रशासनले बाटोमा रोकेको थियो। 

अमेरिका, क्यानडा, पोल्यान्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्यान्ड, जापान, भारतसहित ३५ भन्दा बढी देशका तीन हजार हाराहारीमा पर्यटक रामारोशन आउँदै छन्।

अछाम प्रवेशद्वार चौखुट्टे, बेलखेत र रामारोशन क्षेत्रमा रोकिएका  २ सय ८३ विदेशी पर्यटक गन्तव्यतर्फ लागेका छन्। 

पर्यटक आउने क्रम रोकिएको छैन। वर्ल्ड रेन्वो फेमिली नामक समूहको जमघट कार्यक्रममा रामारोशन घुम्न पर्यटकहरु आइरहेका हुन्। अहिलेसम्म अछाम पुगेकामध्ये अधिकांश भारतीय नाका हुँदै नेपाल प्रवेश गरेका पर्यटक छन्।

हजारौंको संख्यामा एकैपटक विदेशीले त्यता बस्न चाहँदा सुरक्षा, शौचालयको समस्या, वन्यजन्तुलाई हुने नोक्सानी र फोहोरमैलाजस्ता विषय चुनौती बनेका छन्। 

विदेशी पर्यटकप्रति प्रहरीले सूक्ष्म निगरानी पनि राखेको छ। पर्यटकले गैरकानुनी क्रियाकलाप गरेको पाइए तत्काल पक्राउ गरेर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले बताए।

रामारोशन क्षेत्रमा नेपाल प्रहरी र सशस्त्रको संख्या थपेर उनीहरुको क्रियाकलापको निगरानी गर्न थालिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .