ad ad

सुदूरपश्चिम


दार्चुलाको आकाशमा तारन्तार भारतीय हेलिकप्टरको फन्को, पत्राचार गर्दा पनि आएन जवाफ

दार्चुला प्रशासनले गरायो गृहलाई जानकारी
दार्चुलाको आकाशमा तारन्तार भारतीय हेलिकप्टरको फन्को, पत्राचार गर्दा पनि आएन जवाफ

दार्चुला सदरमुकाम खलंगाको आकाशमा देखिएको भारतीय हेलिकप्टर


गोकुल जोशी
साउन २२, २०८० सोमबार १६:३५, कञ्चनपुर

नेपाली आकाशमा भारतीय पक्षले अनधिकृत रुपमा तारन्तर हेलिकप्टर उडाइरहेको पाइएको छ। 

नेपाली प्रशासनसँग समन्वय नै नगरेर एकलौटी ढंगले दार्चुलास्थित नेपाली आकाशमा भारतीय पक्षले तारन्तार हेलिकप्टर उडाइरहेको हो।

केही दिनयता दार्चुला सदरमुकाम खलंगाको आकाशमा भारतीय हेलिकप्टरले फन्को लगाइरहेको महाकाली नगरपालिका–५ का स्थानीय धनसिंह कार्कीले जानकारी दिए।

‘५/६ दिन भयो, भारतीय हेलिकप्टर खलंगाको आकाशमा फन्को लगाएर जान्छ,’ उनले भने, ‘सरकारी अड्डामाथि हेलिकप्टरले फन्को लगाउँछ।’

भारतीय पक्षले नेपाली आकाशमा हेलिकप्टर उडाउनका लागि नेपाली प्रशासनसँग कुनै समन्वय गरेको छैन। 

भारतीय पक्षले नेपाली आकाश प्रयोगका लागि कुनै औपचारिक जानकारी नगराएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामी बताए।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुई वर्षअघि तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीको खोजीका लागि नेपाली प्रशासनलाई नदीमा ड्रोन समेत चलाउन दिएको थिएन।

दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षले पटक पटक बलमिच्याँइ गर्दै आएको छ। यसअघि पनि धेरै पटक नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतले दार्चुलाको आकाशमा हेलिकप्टर उडाएको थियो।

बिना जानकारी नेपाली आकाशमा भारतीय पक्षले हेलिकप्टर उडाएपछि दार्चुला प्रशासनले लिखित आपत्ति जनाएको छ।

भारतीय प्रशासनलाई पत्राचार गर्दै अनुमतिबिना नेपाली आकाशमा हेलिकप्टर किन उडाएको भनेर जवाफ मागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्।

२० साउनमा भारतीय प्रशासनलाई पत्राचार गरेपनि अहिलेसम्म त्यसको जवाफ नआएको उनले बताइन्।

‘हामीले डीएमलाई पत्राचार गरेका छौँ, हिजो आइतबार बिदा थियो, आज पनि त्यहाँबाट जवाफ आएको छैन,’ उनले भनिन्।

नेपाली आकाशमा हेलिकप्टर उडाएको घटना बारे गृह मन्त्रालयलाई समेत जानकारी गराइएको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .