ad ad

सुदूरपश्चिम


बाढी बस्तीमा पस्ने डरले रातभर सुत्दैनन् कुतियाकबरवासी

‘घरखेत पूरै ढाकेर बाढी आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ’
बाढी बस्तीमा पस्ने डरले रातभर सुत्दैनन् कुतियाकबरवासी

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबर। तस्बिर : रासस


नेपालखबर
साउन १४, २०८० आइतबार ११:२५, कञ्चनपुर

वर्षात्‌को पानीले किसानलाई राहत हुन्छ। तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका बासिन्दाको भोक, निद्रा उडाउँछ। 

महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू। पानी परेको रात नसुती बस्छन्। उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ। 

‘बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जाग्राम बसेर नदीमा पानीको बहाव हेरिरहनुपर्छ’, कुतियाकबरवासी खड्के बुढाले भने, ‘बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन।’

महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो- कुतियाकबर। करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन्। जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ। बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित बनेका छन्। 

आफूहरू डरडरैमा बाँच्नुपरेको स्थानीय वसन्ती सुनार बताउँछिन्। ‘केही दिनअघि धौलिगङ्गा बाँध खोलेको जानकारी आएको थियो, त्यसबेला बाढी आउँछ कि भनेर रातभर सुत्न सकेनौँ’, उनले भने, ‘पानी परेमा बेलाबेला पानी बढ्यो कि भनेर हेर्दैमा रात बित्छ।’

सुनारको घरमा दुई ससाना छोराछोरी र वृद्ध आमा छन् । यहाँका स्थानीय मोबाइलमा एसएमएसमार्फत आउने बाढीको पूर्वसूचना हेरिरहन्छन्। स्थानीयले आवश्यक पर्ने लत्ताकपडा पोको पारेर तयारी अवस्थामा राखेका छन्। ‘घरखेत पूरै ढाकेर बाढी आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ’, स्थानीय बमबहादुर सुनारले भने, ‘घरखेत, लत्ताकपडा, खाद्यान्न सब छाडेर अन्यत्र जान्छौँ।’

उनका अनुसार कतिपयले बाढीका बेला विद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बस्ने गरेका छन्। महाकाली नदीले यसपटक पनि कुतियाबरमा कटान गर्न थालेको छ। ‘यसपटक ठूलो बाढी आएको छैन, त्यसमा पनि महाकालीले जमिन कटान गर्न थालेको छ’, उनले भने, ‘खेत बगरमा परिणत गरिसक्यो, यस्तै रह्यो भने हाम्रो त उठिबास नै लाग्छ।’

कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। वर्षौँदेखि  चुनावमा डुबान र कटानको समस्या समाधान गर्ने आश्वासन दिने नेताले जितेपछि वाचा बिर्सिने गरेको उनीहरूको गुनासो छ। 

‘सीमा रक्षक बनेर बसेका हामीहरूलाई सरकारले कहिल्यै हेरन, चुनाव जित्नलाई समस्या समाधान गर्ने आश्वासन दिन्छन्, पछि बिर्सिन्छन्’, स्थानीय ऐनबहादुर सुनारले भने, ‘महाकाली उँचो भइसक्यो, हामी होचो भूभागमा छौँ, कुनै पनि बेला नदी गाउँ पस्न सक्छ।’

महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध तथा गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने स्थानीयको माग छ। ‘वर्षैपिच्छे बाढीको समस्या झेल्नुपर्छ, ज्यानको जोखिममा राखेर बस्नुपरेको छ’, उनले भने, ‘सरकारले हाम्रो पीडा कहिले सुन्छ?’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .