ad ad

सुदूरपश्चिम


भीमदत्तका तत्कालीन मेयर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भीमदत्तका तत्कालीन मेयर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार १०, २०८० आइतबार १६:४९, कञ्चनपुर

भीमदत्त नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) सुरेन्द्र बहादुर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

राजश्व चुहावट गरेर भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नु पर्ने आयमा नियम विपरित छुट दिएको भन्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कोरोना कहरका बेला महाकालीको नदीजन्य पदार्थ उत्खनन्बापत उठाउनु पर्ने नियमअनुसारको राजश्व नउठाएर संघ सरकार र प्रदेश सरकारको स्वीकृत बिना कार्यदलको सिफारिसमा भवानी कन्स्ट्रक्सनलाई राजश्व छुट दिइएको आरोप छ।

राजश्व रकम घटाएर कम अंकमा सम्झौता र नियम विपरित राजश्व रकममा छुट दिँदा मूल्य अभिवृद्धि करसहित ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ चुहावट भएको उल्लेख छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र त्यसकै (झ) का अनुसार कारबाही र दफा ७ बमोजिम चुहावट रकम राजश्वको दोब्बर जरिवाना माग गरिएको छ।

अन्य जनप्रतिनिधि र कर्मचारी पनि भ्रष्टाचार मुद्दामा मुछिएका छन्। भीमदत्त नगरपालिकाका तत्कालीन राजश्व छुटको लागि गठित कार्यदलका संयोजक तथा सदस्यहरु, तत्कालीन वडा नं. १७ को अध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी र शाखा अधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालय सिंह ऐर र गोविन्दराज उपाध्याय विरुद्ध मुद्दा दायर भएको हो।

भवानी कन्स्ट्रक्सनका सञ्चालकहरु केशवराज भट्ट, पुष्पराज भट्ट, प्रतिनिधि दिवाकर भट्ट, स्व. ईश्वरी प्रसाद भट्टकी श्रीमती खगेश्वरी भट्टलाई ३ करोड ३३ लाख २२ हजार ५८३ बिगो असुलउपर तथा कारबाहीको मागसहित अख्तियारले आरोप पत्र दायर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .