ad ad

सुदूरपश्चिम


खालिस्तानी कमाण्डर खोज्न नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा खुफियाको तारन्तार निगरानी

खालिस्तानी कमाण्डर खोज्न नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा खुफियाको तारन्तार निगरानी

गोकुल जोशी
चैत ११, २०७९ शनिबार १९:१४, कञ्चनपुर

भारतको पञ्जाबलाई छुट्टै खालिस्तान राज्य माग गर्दै आएका अमृतपाल सिंह र उनका समर्थकहरुलाई खोज्न कञ्चनपुरस्थित नेपाली सीमा नजिकका भारतीय बस्तीमासुरक्षा एजेन्सी र खुफियातन्त्र सक्रिय छ।

भारतीय सुरक्षाकर्मीले कञ्चनपुरसँग सीमा जोडिएका भारतीय बस्तीमा खालिस्तानी कमाण्डर खोज्न केहीदिन यता तारन्तार बाक्लो उपस्थिति देखाएको छ। 

सुरक्षा निकायले नेपालको पश्चिमी सीमासँग जोडिएका उत्तराखण्डको उद्यमसिंहनगर र चम्पावत जिल्लामा सर्च अप्रेसन चलाएको छ। तर, उनको अझै अत्तोपत्तो छैन।

खुल्ला सीमा क्षेत्रबाट नेपाल पस्न सक्ने आशंकामा प्रहरी, सुरक्षा एजेन्सी र खुफियातन्त्रलाई सतर्क राखिएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

पञ्जाब प्रहरीले हतियारधारी केही व्यक्तिहरुको पोस्टर जारी गरेको छ। तिनमा अमृतपाल सिंह, हरजीत, विक्रम जीत, पपल प्रीत, हरप्रीतलगायत छन्।

खोजी सूचीमा रहेकाहरुको कुनै पनि जानकारी पाएमा प्रहरी र सुरक्षा एजेन्सीहरुलाई सूचित गर्न भनिएको छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को छैटौँ बाहिनी  कमान्डेन्ट अनिल नेहराका अनुसार सीमा क्षेत्रमा एसएसबी केहीदिन यता सतर्क अवस्थामा रहेको छ। ‘यस्ता खतरनाक अपराधी खुल्ला सीमाको फाइदा उठाउँदै नेपाल भाग्न सक्ने  आशंकामा सबै यूनिटहरुलाई सतर्क रहन निर्देश दिइएको छ,’ उनले भने।

सीओ अविनाश बर्माले प्रहरीलाई पनि सीमा क्षेत्रमा सतर्क रहन, संदिग्ध, अपरिचित र बाहिरका व्यक्तिहरुमाथि नजर राख्न निर्देशन दिएको बताए। खालिस्तानी कमाण्डर सिंह र उनका समर्थकहरुका पोस्टर सीमा क्षेत्रका सार्र्वजनिक स्थानहरुमा टाँसिएका छन्। 

एसएसबी र प्रहरी संयुक्त चेकिङमा जुटेको छ। सीमावर्ती बजार बनबसाको शारदा ब्यारेजस्थित प्रहरी चौकीका इन्चार्ज हेमन्तसिंह कठैतले आफूहरु चौबिसै घण्टा सीमा क्षेत्रमा नजर टिकाइरहेको बताए।

सीमा क्षेत्रमा प्रहरी र एसएसबीले संयुक्त गरिरहेको उनले बताए। ठाउँठाउँमा आकस्मिक रुपमा सवारीसाधनलाई रोकेर सघन चेकिङ अभियान प्रहरीले चलाइरहेको छ। 

दोधारा चाँदनीको सीमावर्ती मेलाघाट बजारमा पनि यस्तो चेकिङ गरिएको थियो। नेपाल भित्रिने यात्रुको परिचयपत्र पनि हेरिएको थियो। कञ्चनपुरसँग सीमा जोडिएको उत्तराखण्डको उद्यमसिंहनगरमा सिख धर्मावलम्बीहरुको बाक्लो बसोबास छ। गाउँगाउँमा गुरुद्धारा छन्। 

त्यसैले पञ्जाबबाट भागेर सिंह त्यहाँ आएको हुनसक्ने सम्भावनालाई मध्यनजर गरी प्रहरी उनीहरुको खोजीमा जुटेको हो। सिंहको समूहले केही समययता छुट्टै सिख राज्य खालिस्तानको माग गर्दै आन्दोलन गरिरहेको थियो। 

खालिस्तानी कमाण्डर सिंह सहित पाँच जना अन्य समर्थकको नाममा पञ्जाब प्रहरीले वारेन्ट जारी गरेको थियो। त्यसपछि उनीहरुको खोजीमा भारतको सुरक्षा संयन्त्र तीव्र रुपमा लागेको छ। तर उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .