भारतीय पक्षले बिनासूचना एकलौटी ढंगले महाकाली नदीमाथिको शारदा ब्यारेजको नेपालतर्फको ढोका खोलेको छ।
नेपाली प्रशासनलाई कुनै जानकारी नदिई भारतीय पक्षले ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव बढेको छ।
नेपालतर्फ स्थानीय प्रशासनसँग समन्वयबिना भारतीय पक्षले पानी छाड्दा सोमबार भीमदत्त नगरपालिका–११ भुजेलामा गिट्टी, बालुवा उत्खनन्मा प्रयोग भएका केही ट्रयाक्टर र मानिस महाकालीमा फसेका छन्।
महाकाली नदीबाट गिट्टी, बालुवा ढुवानीका लागि गएका ट्याक्टर नदीमा पानीको बहाव बढ्दा फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले जानकारी दिए।
‘केही ट्याक्टर महाकालीमा अड्किएका छन्, भारतीय पक्षसँग समन्वय गरेर पानी कम गर्न भनिएको छ,’ उनले भने, ‘ट्याक्टरमा केही मानिस पनि छन्।’
आफूहरुलाई भारतीय पक्षले महाकालीमा पानी छाड्ने भनेर कुनै पूर्वजानकारी वा समन्वय नगरेको उनले बताए।
‘बेलाबेलामा पानी छाडिरहेका हुन्छन्, हामीसँग अहिलेसम्म त्यस्तो कुनै पूर्वजानकारी आएको छैन,’ एसपी चौधरीले भने।
ट्रयाक्टरमा ९/१० मानिस महाकालीको भंगालोमा फसेका छन्। अहिले शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली भुजेला पुगेको छ।
भारतीय पक्षले बारम्बार पूर्व जानकारीबिनै अनावश्यक रुपमा पानी नेपालतर्फ छोड्ने गरेको छ।
प्रतिक्रिया