ह्विलचेयर खुद्रा सामानले भरिभराउ छ। अगाडिपट्टि पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन छन्।
ह्विलचेयर पछाडि फलाम छाडेर सामान राख्ने बनाइएको छ। भीमदत्त नगरपालिका–४ बसपार्कस्थित यो ह्विलचेयरमा सानो कालो झोला भिरेर बसेका भेटिन्छन्– ५० वर्षीय तेजबहादुर रावल।
शारीरिक रूपमा अशक्तहरू ह्विलचेयर, फलामे छडलगायत साधनलाई आफ्नो हिँडडुलको सारथिका रूपमा प्रयोग गर्छन्। रावलले भने ह्विलचेयरलाई हिँडडुलको साधन मात्रै होइन, परिवार पाल्ने सहारा पनि बनाएका छन्।
उनले एक दशकभन्दा बढी समयदेखि ह्विलचेयरमा खुद्रा सामान बेचेर घरखर्च जोहो गरिरहेका छन्।
‘वि.सं. २०६२/०६३ सालको जनआन्दोलनका क्रममा डडेल्धुरामा कम्मर भाँचियो, मेरुदण्डमा रड राखिएको छ, खुट्टाले काम नगर्दा उभिनै सक्दैन, हातमा पनि रड छ’, उनले भने, ‘छोराछोरीले ह्विलचेयरमा राख्ने/उतार्ने गर्छन्, त्यसमै थोरै सामान राखेर बसपार्कमा बेचेर घरखर्च चलेको छ।’
डडेल्धुराको अमरगढी नगरपालिका–६ का रावल महेन्द्रनगरमा परिवारसहित कोठा भाडामा लिएर बस्छन्। वि.सं. २०४२ सालमा तराई झरेका उनी जनआन्दोलनअघि महेन्द्रनगरबाट पहाडी जिल्लामा चल्ने बसमा चालकको काम गर्थे।
आन्दोलनमा घाइते भएका उनले उपचारका लागि खर्च कम भएर त्यस बेला बस बिक्री गरे।
‘०६५ सालमा अस्पतालबाट डिस्चार्ज भएपछि महेन्द्रनगर बसपार्कमा ठेलामा व्यापार सुरु गरेँ, सडक छेउ, बसपार्कभित्र ठेला राख्थेँ, त्यो बेला ठेलाबाटै राम्रै कमाइहुन्थ्यो’, तेजबहादुर भन्छन्, ‘केही वर्षपछि ह्विलचेयरमै सामान राखेर बेच्न थालेको हो।’
तेजबहादुर बिहानै डेराबाट सामान भरिएको ह्विलचेयर लिएर बसपार्क निस्किन्छन्। दिनभर बसपार्कमा ह्विलचेयर घुमाउँदै सामान बेच्ने उनको दिनचर्या नै हो।
दिनभरि ह्विचियरमा सामान बेचेर २ हजारदेखि ३ हजारसम्मको कारोबार हुने गरेको तेजबहादुरले बताए।
‘बसपार्कभित्रका यात्रु, गाडी चालक, साहुहरू ग्राहक हुन्, दैनिक २/३ हजारको सामान बिक्री हुन्छ’, उनले भने, ‘दैनिक पाँच सय रुपैयाँ सहकारीमा जम्मा गर्छु, खान-लाउन पुगेको छ।’
ह्विलचेयरमा सामान बिक्री गरेर कमाएको पैसाबाटै तीन छोरी र दुई छोरालाई बोर्डिङ स्कुलमा पढाउन सकिएको उनको भनाइ छ।
‘जेठी छोरीको बिहे गरेर अन्माइसकेँ, अर्का दुई छोरी र एक छोराले कक्षा १२ पास गरेका छन्, कान्छा छोरा अहिले कक्षा ११ मा पढ्छन्’, उनले भने, ‘सबै सन्तानलाई कक्षा १० सम्म बोर्डिङ स्कुल पढाएको थिएँ।’
छोराछोरीले रोजगारी पाएमा परिवारलाई सहारा पुग्ने तेजबहादुरको विश्वास छ।
‘पढेलेखेका भए पनि रोजगारी पाएका छैनन्, केही काम पाए आफ्नो खर्च चलाउन सक्थे, परिवारलाई सहारा पुग्थ्यो’, उनी भन्छन्, ‘घाइते भत्ता भनेर पाइने १२ हजार कोठा भाडा तिर्नमै ठिक्क हुन्छ, पसलबाट आएको पैसाले बिहान–बेलुकाको घरखर्च चल्छ।’
काम गर्न शारीरिक रूपमा सक्ने मात्र भएर नहुने, इच्छा–शक्ति पनि चाहिने उनी बताउँछन्।
‘काम गर्नका लागि इच्छा-शक्ति हुनुपर्छ, लगनशील भएर एउटा काममा लागेमा सफलता मिल्छ’, उनले भने।
प्रतिक्रिया