सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएका पीडित परिवारसँग भेट गरेर संवेदना प्रकट गरेका छन्।
जहाज दुर्घटनामा बुहारी र नाति गुमाएकी भीमदत्त नगरपालिका–४ की माया भट्टको परिवारलाई भेट्दै मुख्यमन्त्री रावलले सान्त्वना सहित संवेदना प्रकट गरेका हुन्।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा महेन्द्रनगरका व्यवसायी संञ्जीवचन्द्र भट्टका श्रीमती सुष्मा र कान्छा छोरा स्लकको ज्यान गएको थियो।
सोमबार उनीहरुको सनाखत भएको छ। शव अन्तिम संस्कारका लागि महेन्द्रनगर ल्याउने तयारी भइरहेको छ। जहाज दुर्घटनाको त्रासदीपूर्ण घटनाले देशनै शोकमा रहेको छ।
मुख्यमन्त्री रावलले महेन्द्रनगरस्थित पीडित परिवारलाई भेटेर दिवंगत हुनेलाई श्रद्धाञ्जली तथा शोकाकुल परिवारलाई संवेदना प्रकट गरेका थिए। त्रासदीपूर्ण घटनाको खबरले आफू निकै दुखित भएको उनले बताए।

पीडित व्यवसायी भट्टकी आमा ७४ वर्षीया माया, छोरी युक्ति र छोरा आर्शिवादलाई भेटेर मुख्यमन्त्री रावलले सान्त्वना दिँदै संवदेना दिए।
यस्तै, मुख्यमन्त्री रावलले त्यहीँबाट व्यवसायी भट्टकी जेठी छोरीलाई भिडिओ कलमार्फत संवेदना दिँदै सम्हालिन आग्रह गरे।
यसअघि घटनालगत्तै मुख्यमन्त्री रावलले फोनमार्फत पनि श्रद्धाञ्जली तथा संवेदना प्रकट गरेका थिए।
मुख्यमन्त्री रावलसँगै सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री खगराज भट्ट पनि जहाज दुर्घटनामा ज्यान गुमाउने भट्ट परिवारको घरमा पुगेका थिए।
उनीहरुले शव ल्याउनका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग गर्ने बचनवद्धता पनि जनाएका छन्।
Shares

प्रतिक्रिया