नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जग्गा नापजाँच गरेर एक वर्षभित्र लालपुर्जा जनताको हातहातमा पुर्याउने प्रतिवद्धता जनाएका छन्।
कञ्चनपुर क्षेत्र नं. २ मा वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट साझा उम्मेदवार समेत रहेका साउदले कृष्णपुर नगरपालिका–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन।
‘भूमि आयोग गठन भएर काम गरिरहेको छ, नापीको प्रक्रिया यही आर्थिक वर्षभित्र टुङग्याउँछौँ,’ उनले भने, ‘यो आर्थिक वर्षभित्रमा हात हातमा लालपुर्जा पुर्याउने हामीले अठोट गरेका छौं, यो काम जसरी भए पनि गर्ने छौं भन्ने बचनवद्धता गर्न चाहन्छु।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारका पाला लालपुर्जा पाउन तिर्नुपर्ने राजश्वको आधा मात्रै राजश्व तिरेर जग्गाधनी पुर्जा पाउने व्यवस्था मिलाएको उनले बताए। यसले जनतालाई ठूलो सहुलियत हुने उनले विश्वास व्यक्त गरे।
आफू निर्वाचित हुँदा बुडर–नायल–बंक सडकको काम अगाडि बढेको बताउँदै साउदले यसको कामले अहिले तीब्रता पाएकोे बताए। बुडर–नायल–बंक सडक आफ्नो ड्रिम योजना रहेको साउदले बताए। यसपटक आफू निर्वाचित भएमा सो सडक कालोपत्रे गर्ने उनले प्रतिवद्धता जनाए।
‘चुरेको फेदीसम्म पुल निर्माण भइसकेको छ, ट्रयाक पनि खुलेको छ, यो हाम्रो ड्रिम प्रोजेक्ट हो,’ कृष्णपुर नगरपालिका–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साउदले भने, ‘०५६ सालमा चुनाव लड्दै गर्दा बाटो बनाउँला भनेर प्रतिवद्धता गरेको थिएँ, बिचमा म हारेँ, यो पटक बुडरबाट मोटर चढेर सिधै कालोपत्रे सडकमा आउने गरेर बाटो बनाउने संकल्प लिएका छौँ।’
राष्ट्रिय सहमति जुटाउन सकेमा विकास निर्माणले पनि तिब्रता पाउने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको साउदको भनाइ थियो।
‘राष्ट्र निर्माणका लागि जति धेरै सहमति जुटाउन सकियो, त्यति राष्ट्रिय शान्ति र एकता भएर विकास निर्माणले पनि तिव्रता पाउँछ,’ उनले भने, ‘हामीले सबै राजनीतिक शक्ति एकै ठाउँमा ल्याउन खोजेका थियौँ, तर एमालेले संविधान मानेन।’
एउटै राजनीतिक शक्तिले राष्ट्र निर्माण गर्ने अभिभारा पुरा गर्न नसक्ने उनले उल्लेख गरे। गठबन्धन चुनाव जित्नका लागि मात्रै नभएर स्थिर सरकार निर्माणका लागि बनेको साउद भनाइ थियो।
Shares

प्रतिक्रिया