सुदूरपश्चिम


एमालेपछि सत्तागठबन्धनको नजर पनि दार्चुलामा

शीर्ष नेतालाई बोलाएर हुँदैछ आमसभा
एमालेपछि सत्तागठबन्धनको नजर पनि दार्चुलामा

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १६:३७, कञ्चनपुर

सत्तारुढ गठबन्धनले दार्चुलामा चुनावी आमसभा गर्ने भएको छ। 

कार्तिक २३ गते दार्चुलाको गोकुलेश्वरमा वाम लोकतान्त्रिक गठबन्धनले चुनावी आमसभा राखेको छ। आमसभालाई सत्तारुढ गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्नेछन्। 

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आमसभालाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएको छ।

नेपाली कांग्रेस दार्चुलाका अध्यक्ष ललित बोहराले बुधबार बिहान ११ बजे तय भएको आमसभाको तयारीमा जुटेको बताए। आमसभामा हजारौँको संख्यामा मानिसहरुको सहभागी रहने उनले दाबी गरे। 

‘दार्चुला र बैतडीलाई लक्षित गरेर आमसभा गरिरहेका छौं, आमसभाको तयारीमा जुटेका छौं,’ उनले भने।

यसअघि केहीदिन अगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट एमालेको चुनावी अभियान सुरु गरेका थिए। दार्चुला पुगेर ओलीले आफ्नो नेतृत्वमा लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेको बताउँदै एक इन्च भूमि पनि नछोड्ने उद्घोष गरे। 

नेकपा एमालेले चुच्चे नक्सालाई चुनावी एजेण्डा बनाएको छ। एमालेले आमसभा गरेपछि काउण्टरमा सत्तारुढ गठबन्धनले पनि दार्चुलामै आमसभा राखेको छ। जुन सभालाई सम्बोधन गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेता दार्चुला जाँदैछन्।

नेकपा एमाले र सत्तारुढ गठबन्धनको अहिलेसम्म सुदूरपश्चिमका ९ वटै जिल्लामा दोहोरो आमसभा परेको छैन। ओलीले केहीदिन अघि दार्चुला, बैतडी र कञ्चनपुरका आमसभालाई सम्बोधन गरेका थिए। 

प्रधानमन्त्री देउवाले डडेल्धुराका विभिन्न ७ ठाउँमा वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .