ad ad

सुदूरपश्चिम


प्रतिनिधि सभामा चुनाव लड्न तम्तयार सुदूरपश्चिमका चर्चित ४ महिला

प्रतिनिधि सभामा चुनाव लड्न तम्तयार सुदूरपश्चिमका चर्चित ४ महिला

गोकुल जोशी
भदौ ३१, २०७९ शुक्रबार १८:५३, कञ्चनपुर

मूल धारको राजनीतिमा प्रतिनिधित्व गर्ने महिला थोरै छन्। त्यसमा पनि सुदूरपश्चिमबाट मूल धारको राजनीतिमा महिला औंलामा गन्न सकिने मात्रै छन्। 

सुदूरपश्चिममा प्रतिनिधि सभा प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमध्ये हाल प्रतिनिधि सभा सदस्यमा महिला एक जना मात्रै छन्। उनी हुन्– कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित माओवादी केन्द्रकी नेत्री पूर्वमन्त्री बिना मगर। 

०७४ सालको संसदीय चुनावमा प्रमुख राजनीतिक दलले केही क्षेत्रमा मात्रै प्रत्यक्षतर्फ महिलालाई चुनावी मैदानमा उतारेका थिए। त्यस बेला एमालेको समर्थनमा माओवादी केन्द्रले कञ्चनपुर १ मा बिना मगरलाई चुनाव लडाएको थियो।

यस्तै नेपाली कांग्रेसले कैलाली ५ मा नेत्री आरजु राणा देउवा र कैलाली १ मा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका भए पनि सफल हुन सकेनन्। नेकपा एमालेले कैलाली १ मा मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाएको थियो। 

उनी तत्कालीन राष्ट्रिय जनता पार्टीका रेशम चौधरीसँग हारिन्। शाह अहिले नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी इन्चार्ज छिन्। 

आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले केन्द्रमा उम्मेदवार सिफारिस गरिरहेका छन्। यसपटकको प्रतिनिधि सभा निर्वाचनमा पनि प्रत्यक्षतर्फ थोरै महिला सिफारिस भएका छन्। त्यसका आधारमा यसपटकको चुनावमा पनि प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी मैदानमा महिला उम्मदेवार कम देखिने छन्।

नेपाली कांग्रेसबाट आरजु राणा देउवा, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, नेकपा एमालेकी निरुदेवी पाल र माओवादी केन्द्रकी बिना मगरलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका सम्भावित महिला उम्मेदवारका रूपमा हेरिएको छ। 

यसबाहेक बझाङबाट एमालेकी जुना जाग्री, कांग्रेसकी चन्दादेवी जोशी र कैलाली १ बाट एमालेकी सिलु स्वाँर (खतिवडा) लगायत केही महिला सिफारिसमा परेका छन्।

आरजु राणा देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल सिफारिसमा परेकी छन्। 

उनी यसअघि ०७४ को निर्वाचनमा पनि यहीँबाट उम्मेदवार बनेकी थिइन्। त्यसबेला राणा वाम गठबन्धनबाट उम्मेदवार एमालेका नारदमुनि रानासँग ४ हजार ८८० मतान्तरले हारिन्। रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन्।

यसपटकको चुनावमा पनि कैलालीमा ५ मा पुरानै प्रतिस्पर्धी आमनेसामने हुने सम्भावना छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले पूर्वमन्त्री नारदमुनि रानाको नाम एकल सिफारिस गरेको छ। राना नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज हुन्।

रञ्जिता श्रेष्ठ
स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा कैलालीका केही क्षेत्रमा सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

यीमध्ये एउटा ठाउँ हो– कैलाली निर्वाचन क्षेत्र नम्बर १। ०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरी भारी मतान्तरले विजयी भएका थिए।

यो क्षेत्रबाट यसपटक नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रेशम पत्नी रञ्जिताले संसदीय चुनाव लड्ने घोषणा गरिसकेकी छन्। 

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जितेका ४ पालिकाको भूभाग पर्छ। नागरिक उन्मुक्ति पार्टीको आधार इलाका मानिएको कैलाली १ लाई सत्तारुढ गठबन्धन र नेकपा एमालेको अंकगणित उथलपुथल पार्ने क्षेत्रका रूपमा हेरिएको छ।

टीकापुर हत्याकाण्डका अभियुक्त चौधरी ०७४ को निर्वाचनमा भूमिगत थिए। भूमिगत अवस्थामै निर्वाचन लडेका उनले वाम गठबन्धनबाट एमालेकी मदनकुमारी शाह (गरिमा) लाई २० हजार ९३५ मतान्तरले हराए। 

चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा शाहले १३ हजार ४०६ मत मात्रै पाएकी थिइन्। भारी मतान्तरले विजयी भए पनि हत्याकाण्डमा मुछिएका रेशम संसद छिर्न पाएनन्। 

सत्तारुढ गठबन्धनविरुद्ध कैलाली १ मा पहिलोपटक संसदीय चुनाव ‘फेस’ गर्न लागेकी रञ्जितालाई रेशमको विरासत जोगाउनुपर्ने चुनौती छ।

निरुदेवी पाल
नेकपा एमालेकी नेत्री निरु पाल कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिसमा परेकी छन्। 

उनीसँगै एमालेबाट कञ्चनपुर ३ मा हालका सांसद डा. दीपकप्रकाश भट्ट पनि सिफारिस भएका छन्। उनले ०७४ को चुनावमा कांग्रेस केन्द्रीय सदस्य पूर्वमन्त्री रमेश लेखकलाई हराएका थिए।

एमाले कञ्चनपुर इन्चार्जसमेत रहेकी पाल पनि यसै क्षेत्रकी समानुपातिक सांसद हुन्। एमालेका आन्तरिक धुव्रीकरणमा पाल ओली निकट र भट्ट १० बुँदे पक्षधर मानिन्छन्।

नेकपा एमालेले समानुपातिकतर्फ सांसद बनेकालाई नदोहोर्याउने निर्णय गरेको छ। त्यसैले पाललाई प्रतिनिधि सभा छिर्न यसपटक प्रत्यक्ष चुनाव लड्नुपर्ने बाध्यात्मक अवस्था छ।

‘उहाँ (निरु) को केन्द्रसम्म राम्रो पहुँच छ’, नेकपा एमालेका एक नेताले नेपालखबरसँग भने, ‘त्यसैले पार्टीमा व्यक्तिवादी सोच हावी भएर उहाँले टिकट पाउने सम्भावना बढी छ।’

सांगठनिक रूपमा भट्ट बलियो रहेकाले उनलाई फेरि चुनावमा उर्तानुपर्ने मत पनि एमालेमा छ। ‘०५१ सालपछि एमालेले जित्न सकेको थिएन, ०७४ मा उहाँ (भट्ट) ले कांग्रेसको किल्ला तोड्नुभयो,’ एमालेका अर्का नेताले भने, ‘त्यसैले फेरि एकपटक उहाँलाई टिकट दिनुपर्छ।’

बिना मगर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी समेत रहेकी पूर्वमन्त्री बिना मगर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लडिरहेकी छन्। 

उनी यसपटक पनि माओवादीबाट कञ्चनपुर १ बाट एकल सिफारिसमा परेकी छन्। सत्तारुढ गठबन्धनमा कञ्चनपुर १ माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बढिरहेको नेताहरू बताउँछन्। 

सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेर चुनाव जित्दै फेरि प्रतिनिधि सभा छिर्ने दाउमा छिन्, मगर। यसै क्षेत्रबाट कांग्रेस नेता संविधान सभा सदस्य दिवानसिंह विष्ट पनि एकल सिफारिसमा परेका छन्। कांग्रेसको क्षेत्रीय कार्य समितिले गठबन्धन नगर्ने निर्णय गर्दै मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय नै गरिसकेको छ।

२०७० को संविधान सभा चुनावमा मगर कांग्रेसका विष्टसँग हारेकी थिइन्। ०७४ मा भने एमालेको समर्थनमा मगरले उनै कांग्रेसका विष्टलाई हराएकी थिइन्।

विष्टलाई वाम गठबन्धनबाट माओवादीकी मगरले १९ हजार ५ सय ८४ मतान्तरले हराएकी थिइन्। मगरले ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने विष्ट १९ हजार ४३७ मतमा खुम्चिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .