ad ad

सुदूरपश्चिम


एमालेबाटै चेपुवामा परेका भीम रावलको ‘ह्याट्रिक’

एमालेबाटै चेपुवामा परेका भीम रावलको ‘ह्याट्रिक’

गोकुल जोशी
भदौ २, २०७९ बिहिबार ११:५०, काठमाडौँ

अछाम निर्वाचन क्षेत्र नम्बर १ गत ०७४ को संसदीय चुनावमा नेकपा एमालेका नेता डा. भीम रावलले जितेको क्षेत्र हो। यसपालि पनि एमाले नेता रावल यही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने सम्भावना छ । तर, यो चुनावमा उनले काँग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धनको सामना गर्नुपर्नेछ ।

एमाले नेता रावलले अछामबाट ५ चोटि संसदीय चुनाव लडिसकेका छन् । ०४८, ०५१, ०५६, ०७० र ०७४ सालमा रावल अछामबाट चुनाव लडिसकेका छन् । आगामी मंसिरमा टिकट पाए भने उनी छैठौंचोटि चुनाव लड्नेछन् । जितमा ह्याट्रिक गरिसकेका छन्, हारे पनि ह्याट्रिक नै हुनेवाला छ ।

तर, दुर्भाग्य के छ नेकपा एमालेभित्र केपी ओलीसँगै महाधिवेशनमा भिडेका रावललाई अछाममा ओली समूहका नेताहरुले टिकट पाउनबाटै रोक्ने प्रयास सुरु गरिसकेका छन् ।

अछाममा एमाले नेता रावलको पोजिसन के कस्तो छ भन्नेबारे चर्चा गर्नुपूर्व चुनावी इतिहासको चर्चा गरौं ।   

तीनचोटि जिते, दुईचोटि हारे

एमाले नेता रावलले यो क्षेत्रबाट २०४८ सालदेखि नै चुनाव लडिरहेका छन्। ०४८ सालमा अछाममा तीनवटा निर्वाचन क्षेत्र थिए । तीनवटै क्षेत्रमा कांग्रेसले जितेको थियो । क्षेत्र नम्बर १ मा कांग्रेसका बलबहादुर कुँवरले ११ हजार ८५५ मत ल्याएर जित्दा रावलले  ७ हजार ३९२ मत पाएका थिए । क्षेत्र नम्बर २ बाट कांग्रेसका गोविन्दबहादुर शाह र  क्षेत्र नं ३ बाट कांग्रेसकै रामबहादुर विष्टले जितेका थिए । क्षेत्र नम्बर २ मा एमाले दोस्रो स्थानमा थियो भने क्षेत्र नम्बर ३ मा राप्रपा दोस्रो र एमाले तेस्रो स्थानमा खुम्चिएको थियो ।

०५१ सालको मध्यावधि चुनावमा भने एमाले नेता भीम रावलले अछाम १ बाट जिते । यो चुनावमा अछाम २ वटा निर्वाचन क्षेत्रमा खुम्चियो ।  रावलले १८ हजार मत ल्याउँदा कांग्रेसका गोविन्दबहादुर शाह १३ हजारमा खुम्चिए । क्षेत्र नम्बर २ पनि एमालेले जित्यो र अछाम जिल्लामा कब्जा जमायो ।

०५६ सालको चुनावमा फेरि भीम रावल हारे। कांग्रेसका गोविन्दबहादुरले २७ हजार मत ल्याउँदा रावल २३ हजारमा खुम्चिए र हारे । क्षेत्र नं २ मा पनि कांग्रेसका रामबहादुर विष्टले एमालेलाई हराए । ०५६ को चुनावमा एमाले–माले फुटेको थियो, त्यसको असर पनि एमालेका भीम रावलमाथि पर्न गयो ।

रावल वि.सं. २०६४ को चुनावमा समानुपातिकतर्फ लागे । ०७० र ०७४ को चुनावमा क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बने। ०७४ मा वाम गठबन्धनका उम्मेदवार बनेका रावलले कांग्रेसका भरतबहादुर स्वाँरलाई ७ हजार २०४ मतान्तरले हराएका थिए।

रावलले त्यसबेला २४ हजार ८९३ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका स्वाँरले १७ हजार ६८९ मत पाएका थिए।

ओलीको चेपुवामा
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पनि रावल यसै क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। सत्ता गठबन्धनविरुद्ध एमालेबाट चुनावमा होमिने तयारी गरेका रावलको यसपटकको संसद यात्रा कस्तो रहला? चासोका साथ हेरिएको छ।

एक समय एमाले सुदूरपश्चिममा आफ्नो वर्चस्व कायम गरेका रावल अहिले पार्टीभित्रै केपी ओलीको चेपुवामा परेका छन्। एमालेको विभाजनले प्रदेशमा रावलको पुरानो शक्ति गुमेको छ।

एमाले हुँदै माओवादी केन्द्र र एमालेको एकीकरणपछि बनेको नेकपाको पनि सुदूरपश्चिम इन्चार्ज रहेका रावलको त्यो पद एमाले ब्युँतिँदा खोसियो। माओवादी केन्द्रबाट एमालेमा समाहित लेखराज भट्टलाई सुदूरपश्चिमको इन्जार्च बनाइयो।

पार्टी विभाजनले प्रदेशमा रावलका विश्वासपात्रहरूले नै साथ छाडेर उनी प्रदेशसँगै निर्वाचन क्षेत्रमै एक्लिएका छन्। तत्कालीन एमालेमा माधवकुमार नेपाल समूहका उनी पार्टी विभाजन हुँदा नेपालको साथ छोडर एमालेमै बसे।

राष्ट्रियताको सवालमा खरो रूपमा प्रस्तुत भएर बारम्बार चर्चामा आइरहने रावल आफ्नै पार्टी नेतृत्वको आलोचना गर्न पनि पछि पर्दैनन्। त्यसैले एमालेभित्र उनलाई अध्यक्ष केपी शर्मा ओलीको विरोधी खेमाका रूपमा हेरिन्छ।

एमालेको उपाध्यक्षसमेत रहिसकेका रावलले १०औं महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा  प्रतिस्पर्धा गरेका थिए। एक्लिएका रावलका विपक्षमा एमालेभित्र बाहुल्य रहेकोले उनी छायामा परेका छन्।

पार्टीभित्रै तगारो
अछाम निर्वाचन क्षेत्र १ मा रावलसँगै एमालेका अन्य तीनजना आकांक्षी देखिएका छन्। त्यसैले टिकटका लागि एमालेभित्र तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।

पूर्वमाओवादी पृष्ठभूमिका झपट बोहरा, जिल्ला विकास समितिका पूर्वसभापति कृष्णप्रसाद जैशी र एमाले सुदूरपश्चिम उपाध्यक्ष कमल तिमल्सेनाले पनि अछाम–१ बाट चुनाव लड्ने इच्छा देखाएका छन्। यी तीनै नेता संस्थापननिकट मानिन्छन्। उनीहरूले दाबी प्रस्तुत गरेर रावललाई चुनौती दिएका छन्।

‘जनताको चाहना भीम रावल हुन्, राष्ट्रिय छवि बनाएकाले उहाँलाई नै पार्टीले उम्मेदवार बनाउनुपर्छ’, क्षेत्र नम्बर १ का एक जना एमाले नेताले नेपालखबरसँग भने, ‘उहाँको विकल्प कोही छैन, गुट हेरेर आफू निकटलाई टिकट दिए विद्रोह हुन्छ।’

स्थानीय चुनावको परिणाम
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको परिणामअनुसार सत्ता गठबन्धनसामु एमाले अछाम–१ मा कमजोर  देखिएको छ।

जिल्लाका १० स्थानीय तहमध्ये साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्निगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिका समेत ४२ वटा वडाहरु निर्वाचन क्षेत्र नम्बर १ मा पर्छन्।

यी पाँच स्थानीय तहमध्ये गत स्थानीय चुनावमा नेपाली कांग्रेसले ४ पालिकामा प्रमुख पद जितेको छ भने माओवादी केन्द्रले १ पालिकामा जितेको छ। एमालेले एउटा पनि प्रमुख जित्न सकेन।

एमालेले दुई पालिकामा उपप्रमुख जितेको छ। ४२ वडामध्ये नेपाली कांग्रेसले १९ वडा जितेको छ।

माओवादी केन्द्रले मेल्लेख गाउँपालिकको प्रमुखसहित त्यहाँको १ वडा, रामारोशनको ३ र बान्निगढी जयगढको १ वडासहित कूल ५ वडा जितेको छ।

एकीकृत समाजवादीले साँफेबगर र मेल्लेखको उपप्रमुख तथा २ वडा जितेको छ। अछाम–१ का ३ वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

४२ मध्ये गटबन्धनले जितेका वडाहरुको संख्या २६ हुन जान्छ । यो भनेको एमालेको भन्दा दोब्बर हो ।

एमालेले साँफेबगर नगरपालिका, चौरपाटी, मेल्लेखमा ३्\३ तथा बान्निगढी जयगढ र रामारोशनमा २/२ वडा गरेर कूल १३ वडा जितेको छ।

एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको कांग्रेसले साँफेबगर नगरपालिकाको प्रमुखसँगै १४ वडामध्ये ८ वडामा बाजी मारेको छ। यस्तै चौरपाटी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ४ वडा, मेल्लेखमा २ वडा, रामारोशनमा अध्यक्षसहित २ वडा र बान्निगढी जयगढ गाउँपालिका अध्यक्षसहित ३ वडामा कांग्रेसले जितेको हो।

कांग्रेसले रामारोशनमा समाजवादी र बान्निगढी जयगढमा माओवादीसँग तालमेल गरेको थियो।

रामारोशन र बान्निगढी जयगढ गाउँपालिकाको उपप्रमुखमा पनि एमालेले जितेको हो। मेल्लेखमा एमाले र एकीकृत समाजवादी तथा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो।

स्थानीय चुनावको मतलाई हेर्ने हो भने सत्तारुढ गठबन्धनविरुद्ध चुनाव लड्नु परे एमाले नेता रावल असुरक्षित देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .