ad ad

खेल


विश्वकप फुटबलका चर्चित पाँच पेनाल्टी सुटआउट

विश्वकप फुटबलका चर्चित पाँच पेनाल्टी सुटआउट

नेपालखबर
मंसिर १८, २०७९ आइतबार ११:७, काठमाडौँ

कतारमा जारी फिफा विश्वकपमा शनिबारदेखि नकआउट चरणका खेल सुरु भएको छ। यससँगै अब यो चरणमा जित र हारको फैसला निर्धारित र अतिरिक्त समयमा हुन नसके खेल पेनाल्टी सुटआउटमा जानेछ।

सन् १९७१ मा पहिलोपटक विश्वकपमा पेनाल्टी सुटआउटको नियम बनाइएको थियो। तर, सन् १९८२ मा मात्र यसको प्रयोग भएको थियो। जतिबेला पश्चिम जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै सेमिफाइनलबाटै घर फर्काएको थियो। 

अहिलेसम्म विश्वकपमा ३० खेलमा पेनाल्टी सुटआउटबाट माथिल्लो चरणमा जाने टोलीको निधो गरिएको छ। अहिलेसम्म दुईपटक विश्वकपको फाइनल विजेताको टुंगो पनि पेनाल्टी सुटआउटबाट लगाइएको छ। सन् १९९४ र २००६ को विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट लगाइएको थियो। 

यहाँ विश्वकप इतिहासका सबैभन्दा चर्चित पाँच पेनाल्टी सुटआउटको चर्चा गरिएको छ। 

ब्राजिल ३–४ फ्रान्स सन् १९८६ 


मेक्सिकोमा भएको सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा ब्राजिलको भेट फ्रान्ससँग भएको थियो। उक्त विश्वकपमा ब्राजिललाई उपाधिको दाबेदारको रुपमा हेरिएको थियो भने फ्रान्सलाई ब्राजिलले सजिलै पाखा लगाउने अपेक्षा गरिएको थियो। उक्त खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो। निर्धारित समयमा जित र हारको नतिजा निस्किन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा फ्रान्सले बाजी मार्‍यो र ब्राजिल क्वार्टरफाइनलबाटै घर फर्कियो। 

दक्षिण कोरिया ५–३ स्पेन सन् २००२ 


सन् २००२ मा जापान र दक्षिण कोरियाले आयोजना गरेको विश्वकप विभिन्न विवादमा मुछिएको थियो। दक्षिण कोरियालाई फुटबलको पावरहाउस मानिँदैन थियो तर यो विश्वकपमा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो। समूह चरणमा उसले पोर्चुगललाई हराएको थियो। उक्त खेलमा पोर्चुगललाई दुई रातो कार्ड दिइएको थियो। त्यस्तै यो विश्वकपमा उसले इटालीलाई हराएको थियो। यो खेलमा गल्ती गरेका इटालीका खेलाडीलाई एक वर्षभन्दा कम समयमा म्याच फिक्सिङको आरोपमा प्रतिबन्ध लगाइएको थियो।

क्वार्टरफाइनलमा स्पेनले गरेको दुई गोललाई मान्यता दिइएको थिएन, जुन स्पष्टरुपमा गोल देखिएको थियो। केही आँखाले ठम्याउन निकै गाह्रो पर्ने अफसाइट पनि स्पेनविरुद्ध दिइएको थियो। त्यसपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा दक्षिण कोरिया ५–३ ले विजयी भयो। 

ब्राजिल ३–२ इटाली सन् १९९४ 


सन् १९९४ को विश्वकपको फाइनलमा ब्राजिलको भेट इटालीसँग भएको थियो। सन् १९७० को विश्वकपको फाइनलमा पनि ब्राजिलले इटालीलाई ४–१ गोल अन्तरले पराजित गरेको ब्राजिलले इटालीलाई सहजै पछि पार्ने अनुमान गरिएको थियो। तर, ब्राजिलको लागि खेल त्यति सहज भने भएन। यो खेलको निर्धारित ९० मिनेट इटाली ब्राजिललाई रोक्न सफल भयो। पेनाल्टी सुटआउटमा भने ब्राजिल ३–२ ले विजयी भयो र चौथोपटक विश्वकपको उपाधि उचाल्यो। 

पश्चिम जर्मनी ४–३ इंग्ल्याण्ड


सन् १९६६ को विश्वकपको फाइनल खेलेका दुई टोली पश्चिम जर्मनी र इंग्ल्याण्डको भेट पुनः सन् १९९० को विश्वकपमा भएको थियो। यो विश्वकपको सेमिफाइनमा भएको भेटमा पनि सन् १९६६ को नतिजा दोहोर्‍याउँदै इंग्ल्याण्ड फाइनलमा पुग्ने अपेक्षा गरिएको थियो। तर, जर्मनी र इंग्ल्याण्डबीचको खेल १–१ गोल अन्तरको बराबरीमा रोकियो। जित र हारको स्पष्ट नतिजा नआएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा भने इंग्ल्याण्ड स्तब्ध बन्यो। 

इटाली ५–३ फ्रान्स सन् २००६ 


सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाइनल खेलमा इटाली र फ्रान्सबीच प्रतिस्पर्धा भएको थियो। इटालीका मार्को माटेराजी र फ्रान्सका जिनेदिन जिदानले सुरुवाती २० मिनेटमा नै १/१ गोल गर्दै खेल १–१ को बराबरीमा चलिरहेको थियो। खेल निर्धारित समयमा बराबरीमा रोकिएपछि अतिरिक्त समयको खेल चलिरहेको समयमा जिदानले माटेराजीको छातीमा टाउकोले हिर्काए र रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। यद्यपि खेलमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा इटालीले ५–३ ले फ्रान्सलाई पछि पार्‍यो र चौथोपटक विश्वकपको उपाधि जित्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .