ad ad

खेल


कति बलिया छन् समूह ‘ए’का टोली?

कति बलिया छन् समूह ‘ए’का टोली?

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ६:३३, काठमाडौँ

कतार विश्वकपमा समूह ‘ए’लाई कम प्रतिस्पर्धात्मक समूहको रुपमा हेरिएको छ। यो समूहमा आयोजक कतार, इक्वेडर, नेदरल्याण्ड र सेनेगल छन्। यो समूहमा आयोजक टोलीले इक्वेडरसँग खेल्दै विश्वकपको सुरुवात गरेको छ। पहिलो खेलमा कतार २-० गोलले पराजित भयो। 

समूहको दोस्रो खेलमा सोमबार सेनेगलले नेदरल्याण्डसँग खेल्नेछ। उक्त खेल पौने ९ बजे सुरु हुनेछ। 

समूह चरणको अन्तिम खेलमा शुक्रबार २ खेल हुनेछ। पौने ९ बजे इक्वेडर र सेनेगल खेल्नेछन्। सोही दिन पौने १० बजे नेदरल्याण्ड र इक्वेडर खेल्नेछन्। 

नेदरल्याण्ड्स
डच टोली नेदरल्याण्डलाई समूह ए को बलियो टोलीको रुपमा हेरिएको छ। सन् २०१८ मा छनोट चरण पार गर्न नसकेपछि नेदरल्याण्डले विश्वकप गुमाएको थियो। सन् २०१० को विश्वकपको फाइनलमा स्पेनसँग १–० ले पराजित हुँदै नेदरल्याण्ड उपविजेतामा सीमित भएको थियो।

नेदरल्याण्डले सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको थियो। डच टोलीले विश्वकपमा सबैभन्दा धेरै फाइनल खेल्ने टोलीको कीर्तिमान आफ्नो नाममा गराएको छ। नेदरल्याण्ड सन् १९७४मा पश्चिम जर्मनी, १९७८ मा अर्जेन्टिना र २०१० स्पेनसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। 

नेदरल्याण्डले अहिलेसम्म १९३४, १९३८, १९७४, १९७८, १०९०, १०९४, १०९८, २००६, २०१० र २०१४ मा सहभागिता जनाएको थियो। 
१९३० को पहिलो संस्करण सहभागी नभएको नेदरल्याण्ड त्यसपछिका दुई संस्करण अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। १९५० देखि १९७० सम्म सहभागी नभएको नेदरल्याण्डले १९७४ र १९७८ को फाइनल खेल खेलेको थियो।

त्यसपछिका दुई संस्करण सहभागी नभएको डच टोली १९९० मा अन्तिम १६ सम्म पुगेको थियो। विश्वकपमा उतारचढावपूर्ण यात्रा तय गरेको नेदरल्याण्डले १९९४ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। त्यसपछिको एक संस्करण सहभागी नभएको नेदरल्याण्ड २००६ मा अन्तिम १६ सम्म पुगेको गियो।

२०१० को फाइनल खेलेको नेदरल्याण्डले २०१४ मा तेस्रो स्थानका लागि स्पर्धा गरेको थियो। २०१८ मा सहभागी नभएको यो टोलीलाई २०२२ मा यो समूहको विजेताको रुपमा हेरिएको छ। 

यो समूहबाट कोडी गाक्पो, जाभी सिमोन्स र स्टीफन बर्गविजन विश्वकपमा आफ्नो प्रभाव देखाउन उत्साहित छन्। डच टोलीलाई कप्तान भर्जिन भान डाइकसँगै डेन्जेल डम्फ्रिज, स्टेफन डे भ्रिज र म्याथिज्स डे लिग्ट जस्ता अनुभवी खेलाडीको साथ छ। 

नेदरल्याण्ड्सको टोली
गोलकिपर : जस्टिन बिज्लो, एन्ड्रिस नोपर्ट, रेम्को पासवीर

डिफेन्डर : भर्जिल भान डाइक, नाथन एके, डेली ब्लाइन्ड, जुरियन टिम्बर, डेनजेल डम्फ्रिज, स्टेफान डी भ्रिज, माथिज्स डे लिग्ट, टायरेल मलासिया, जेरेमी फ्रिमपोङ

मिडफिल्डर : फ्रेन्की डी जोंग, स्टीभन बर्घुइस, डेभी क्लासेन, ट्युन कूपमेनर्स, कोडी गाक्पो, मार्टेन डे रुन, केनेथ टेलर, जाभी सिमोन्स।

फरवार्ड : मेम्फिस डिपे, स्टिभन बर्गविजन, भिन्सेन्ट जान्सेन, लुउक डे जोङ, नोआ लाङ, वाउट वेघोर्स्ट

प्रशिक्षक :  लुइस भ्यान गाल

सेनेगल
अफ्रिका कप नेसन्स कप विजेता सेनेगल उच्च मनोबलका साथ विश्वकपमा स्पर्धा गर्दै छ। अफ्रिकन च्याम्पियन टोलीले नै विश्वकपको यात्रा तय गरेको हुँदा सेनेगललाई बलियो टोलीको रुपमा हेरिएको छ। सेनेगलका शीर्ष खेलाडीसँग युरोपियन्स लिग खेलेको अनुभव छ। 

शल्यक्रिया गरेर टोली बाहिर रहेका बोउना सर र साडियो माने टोली बाहिर हुँदा सेनेगललाई धक्का लागे पनि अन्य टोलीलाई चुनौती दिन आफ्नो टोली  तयार रहेको प्रशिक्षक ओलिउ किसेले बताएका छन्। तर साडियो मानेको अभावका कारण त्यसको असर अग्रपंक्तिमा देखिन सक्नेछ। 

सेनेगलले अहिलेसम्म सन् २००२ र २०१८ गरी २ पटक मात्र विश्वकप खेलेको छ। विश्वकपमा ८ खेल खेल्दा ११ गोल गरेको छ। विश्वकपमा सेनेगलको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको सन् २००२ मा क्वार्टरफाइनलमा पुग्नु हो। त्यसपछिका ३ विश्वकपमा सहभागी नभएको सेनेगलले सन् २०१८ मा पहिलो चरणसम्मको यात्रा तय गरेको थियो। 

सेनेगलसँग चेल्सीका कालिडो कौलिबाली र गोलरक्षक एडवार्ड मुन्डी छन्। बलियो डिफेन्सिभ लाइन भएको सेनेगल यसलाई नै मुख्य हतियारको रुपमा प्रयोग गर्ने दाउमा छ। 

सेनेगलको टोली 
गोलकिपर : एडुआर्ड मेन्डी, अल्फ्रेड गोमिस, सेनी डियाङ

डिफेन्डर : बोउना सर, सालिउ सिस, कालिडो कौलिबाली, पापे अबाउ सिस्से, अब्दु डियालो, इब्राहिमा एम्बे, अब्दुलाये सेक, फोडे बल्लो टोरे, चेखाउ कौयाते

मिडफिल्डर : पापे माटर सर, पापे गुए, नामपालिस मेन्डी, इड्रिसा गाना गुएए, मुस्ताफा नेम, एम। लुम एनडिया, जोसेफ लोपी

फरवार्ड : इस्माइला सर, बाम्बा डिएङ, केइटा बाल्डे, हबिब डायलो, बोउले दिया, फामाराडिडियो, मामे बेबे थियाम 

प्रशिक्षक : ओलिउ किसे

इक्वेडर
दक्षिण अमेरिकी टोली इक्वेडरले चौथो पटक विश्वकपमा स्पर्धा गर्न लागेको हो। 

युवा टोलीको साथमा रहेको इक्वेडरले पहिलो खेलमा आयोजक कतारलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ। 

इक्वेडरले सन् २००२ मा आएर पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो। त्यो समयमा पहिलो चरणसम्म पुगेको इक्वेडर २००६ मा अन्तिम १६ सम्म पुगेको थियो। यो नै अलिहेसम्मको सम्झनलायक प्रर्दशन हो। 

सन् २०१० मा विश्वकपमा सहभागी नभएको इक्वेडर २०१४ मा पहिलो चरणसम्मको यात्रा तय गरेको थियो। सन् २०१८ मा सहभागी नभएको इक्वेडर यो पटक राम्रो सुरुवात गर्न चाहन्छ। यसअघिका ३ संस्करणमा इक्वेडरले १० खेल खेलेको थियो। 

इक्वेडरको टोली 
गोलकिपर : अलेक्ज्याण्डर डोमिन्गुएज, हर्नान गालिन्डेज, मोइसेस रामिरेज

डिफेन्डर : पर्भिस एस्टुपिनान, एन्जेलो प्रेसियाडो, पिएरो हिनकापी, जेभियर एरियागा, डिएगो पलासिओस, ज्याक्सन पोरोजो, रोबर्ट अर्बोलेडा, फेलिक्स टोरेस, विलियम पाचो

मिडफिल्डर : मोइसेस काइसेडो, जोसे सिफुएन्टेस, एलन फ्रान्को, जेगसन मेन्डेज, कार्लोस ग्रुजो, गोन्जालो प्लाटा, एन्जल मेना, एर्टन प्रेसियाडो, रोमारियो इबारा, जेरेमी सार्मिएन्टो

फरवार्ड : एनर भ्यालेन्सिया, माइकल एस्ट्राडा, जोर्केफ रेस्को, केभिन रोड्रिग्वेज

प्रशिक्षक : गुस्ताभो अल्फारो 

कतार
कतार विश्वकप खेल्ने कतार पहिलो अरबी मुलुक हो। कतारले आयोजकको रुपमा विश्वकपमा पाइला राख्दै अविस्मरणीय छाप छाड्न चाहन्छ। स्पेनिज प्रशिक्षक फेलिक्स सान्चेजको नेतृत्वमा मैदान उत्रिँदै छ। कतार विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्नेमा आशावादी छ। 

कतारी लिग अल स्टार्स लिगमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीको साथमा रहेको कतार घरेलु लिगका खेलाडीको साथमा विश्वकपमा डेब्यु गर्दै छ। 

कतारले उद्घाटन खेलमा नै इक्वेडरको सामना गर्नेछ। पहिलो खेल खेल्न लागेको कतारलाई इक्वेडरसँगको खेल जित्नै पर्ने दबाब छ।

विश्वकपमा आयोजक टोली पहिलो खेलमा नै हारेको अहिलेसम्मको इतिहास छैन। त्यसैले त्यही लयलाई दोहोराउन पनि कतार जित्नै पर्ने दबाबमा घरेलु मैदानमा उत्रिँदैछ। 

कतारको टोली
गोलकिपर : साद अल शीब, मिशाल बार्सिम, युसेफ हसन

डिफेन्डर : पेड्रो मिगुएल, अब्दुल करीम हसन, तारिक सलमान, मुसाब खादर, हम्माम अल(अमिन, बसम अल(रावी, बोउलेम खाउखी, जस्सम जबेर

मिडफिल्डर : अब्दुलअजीज हातम, मोहम्मद वाद, अली असद, सलेम अल हजरी, करिम बौदियाफ, असिम मादबो, मुस्तफा तारिक मिशाल

फरवार्ड : अक्रम अफिफ, अहमद अला, मुहम्मद मुन्तारी, हसन अल हैदोस, अल इस्माइल मुहम्मद, खालेद मुनिर, अल–मोजली, नायफ अल–हद्रामी (अल–रायान)

प्रशिक्षक : फेलिक्स सान्चेज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .