फिफा विश्वकपको सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेसँगै राजधानी सहर ब्युनस आयर्सका सडकमा हजारौं मानिसहरुले उत्सव मनाएका छन्।
मंगलबार मध्यराति भएको खेलमा अर्जेन्टिना विजयी भएसँगै घरेलु समर्थकहरुले सडकमा निस्किएर उत्सव मनाएका हुन्।
ब्युनस आयर्सको मध्यभागमा रहेको ओबेलिस्को वरपर मानिसहरुले ठूलो भिड देखिएको थियो।
मंगलबारको खेलमा जित हात पारेसँगै अर्जेन्टिना विश्वकपको उपाधिबाट केवल एक खेल टाढा छ। यसपटकको विश्वकपमा जित हात पार्न सकेको अवस्थामा अर्जेन्टिनाले डिएगो म्याराडोनाको युगपछि पहिलोपटक विश्वकपको उपाधि जित्नेछ।
‘म निकै उत्साहित छु किनकी फाइनलमा पुग्नु निकै राम्रो कुरा हो। हामी योभन्दा धेरै आशा गर्न सक्दैनौं’, उक्त भिडमा सहभागी फ्यान माउरिसिओ गासान्द्रेयाले भने, ‘अर्जेन्टिनी हुनुमा गर्व महसुस भइरहेको छ। यहाँ उपस्थित मानिसहरुलाई हेर्नुहोस्।’
विजय उत्सव मनाउन निस्किएका फ्यानहरुले सडक, बस स्टेसनलगायतका सबै क्षेत्रहरु ढाकेका थिए। क्लब स्तरका सबैजसो उपाधि जिताइसकेका मेस्सीको लागि यसपटकको विश्वकप जिताउने राम्रो अवसर छ।
मेस्सीले राष्ट्रिय टोलीलाई अहिलेसम्म कोपा अमेरिकाको उपाधि मात्र दिलाउन सकेका छन्।
मेस्सी सन् २०१४ मा टोलीलाई विश्वकपको उपाधि जिताउने संघारमा थिए। यद्यपि फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भयो।
‘हामीले यसका लागि लामो समयको प्रतीक्षा गरेका छौं’, अर्का समर्थक मार्टिन डुआर्टेले भने, ‘हामीले धेरै वर्ष फाइनलमा हारेको शोक मनायौं। तर, अहिले हामी पुनः नयाँ विश्वकपको फाइनलमा आइपुगेका छौं। म खुसी पनि छु र उत्साहित पनि छु।’
Shares
प्रतिक्रिया