ad ad

खेल


ब्राजिलपछि अर्जेन्टिनालाई बिदा गर्न चाहन्छ क्रोएसिया

ब्राजिलपछि अर्जेन्टिनालाई बिदा गर्न चाहन्छ क्रोएसिया

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १०:३४, काठमाडौँ

फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार मध्यरातिदेखि सेमिफाइनलका खेल सुरु हुँदै छन्। सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै छ। क्वार्टरफाइनलमा ब्राजिलको चुनौती पन्छाएको क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनाको विश्वकप जित्ने सपना पनि टुङ्ग्याउन चाहन्छ। 

यसअघि नै नेयमारको विश्वकपको सपना टुङ्ग्याइसकेको क्रोएसियाको टोली अर्जेन्टिनासँगको खेलमा कुनै एक खेलाडीलाई घेराबन्दी गर्नेभन्दा पनि समग्र टोलीलाई नै दबाबमा राखेर रोक्ने योजनामा रहेको क्रोएसियाली टोलीका एक सदस्यले बताए। 

‘हामीसँग अहिलेसम्म मेस्सी (लियोनेल मेस्सी)लाई रोक्ने कुनै विशेष योजना बनाएका छैनौं र हामी कहिले पनि कुनै खेलाडीलाई रोक्नेभन्दा पनि समग्र टोलीलाई नै रोक्ने रणनीतिअनुसार खेल्दै आएका छौं’, क्रोएसियाका स्ट्राइकर ब्रुनो पेट्कोभिकले भने। 

आइतबार भएको न्युज कन्फ्रेन्समा बोल्दै उनले थपे, ‘हामी उनीहरुलाई कुनै खेलाडीलाई रोकेर नभई समग्र टोलीलाई नै रोक्न चाहन्छौं।

अर्जेन्टिनाको टोली मेस्सी मात्र होइनन्, उनीहरुसँग धेरै उत्कृष्ट खेलाडी छन्। हामीले समग्र अर्जेन्टिनाको टोलीलाई रोक्नुपर्छ।’ 

क्रोएसिया अर्जेन्टिनालाई हराउँदै लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने संघारमा छ। सन् २०१८ को फाइनलसम्म पुगेको क्रोएसिया फ्रानससँग पराजित हुँदै उपाधिबाट भने वञ्चित भएको थियो। अहिले पनि यो लयमा देखिएको क्रोएसियाको टोली सेमिफाइनलमा उच्च मनोबलमा हुनेछ। उसका कुनै पनि खेलाडी घाइते वा खेल्न नपाउने अवस्थामा छैनन्। 

क्वार्टरफाइनलमा ब्राजिललाई पन्छाएको कारण पनि क्रोएसियाको मनोबल उच्च छ। खेलको अतिरिक्त समयमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै उसले अन्तिम समयमा बराबरी गोल फर्काएको थियो। त्यससँगै पेनाल्टी सुटआउटमा पुगेको खेलमा क्रोएसियाले बाजी मार्‍यो। 

यो खेलमा हारेसँगै ब्राजिलका स्टार नेयमार भावुक भएका थिए। ब्राजिल यसपटकको विश्वकप जित्ने सपनाका साथ कतार पुगेको थियो। सोही कहानी अर्जेन्टिनाको खेलमा दोहोर्‍याउने क्रोएसियाको लक्ष्य छ। क्रोएसिया मेस्सीको टोलीलाई विश्व फुटबलको महत्वपूर्ण उपाधि हात पार्ने सपनामा बाधक बन्ने लक्ष्यमा छ।  

क्रोएसियाको मिडफिल्डमा कप्तान लुका मोड्रिच, माटेओ कोभासिक र मार्सेलो ब्रोजोभिकजस्ता खेलाडी छन्। उनीहरुले खेललाई राम्रो गति दिन सक्छन्। जसको उदाहरण उनीहरुले ब्राजिलसँगको खेलमा प्रस्तुत गरेका थिए। क्रोएसियाका डिफेन्डर जोसिप जुरानोभिक पनि सेमिफाइनलको खेलमा उनीहरुको प्रदर्शन निकै महत्वपूर्ण हुने बताउँछन्।

‘माटेओ, लुका र मार्सेलो क्रोएसियाको इतिहासकै उत्कृष्ट खेलाडी हुन्। उनीहरुजस्ता खेलाडी पुनः दोहोरिन्छन् भन्ने लाग्दैन। उनीहरुलाई पास दिनु भनेको बैंकमा पैसा राख्नुभन्दा पनि सुरक्षित हो।’ 

‘हामीलाई कसैसँग पनि डराउनुपर्छ जस्तो मलाई लाग्दैन। हामीले कसरी आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ’, उनले भने। 

‘हाम्रो सफलताको साथ एकता हो। वास्तविकता भनेको के हो भने हाम्रो गतिविधि र खेल एउटा परिवारजस्तो छ’, उनले थपे। 

सातपटकको बालोन डे’ओरको उपाधि विजेतासमेत रहेका अर्जेन्टिनाका लियोनेल मेस्सीले अहिलेसम्म अर्जेन्टिनाको लागि महत्वपूर्ण प्रदर्शन गर्दै आएका छन्। अर्जेन्टिनाले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई पाखा लगाएको थियो। 

अर्जेन्टिना सेमिफाइनलसम्म आइपुग्दा कप्तानसमेत रहेका मेस्सीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। पाँच खेलमा उनले चार गोल गरेका छन् र उनले आफ्नो मुलुकको टोलीबाट विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान पनि बराबरी गरिसकेका छन्। 

अर्जेन्टिना सन् २०१४ को विश्वकपको फाइनलसम्म पुगेको थियो। ब्राजिलमा भएको उक्त विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० गोलले पराजित भएको थियो। त्यतिबेला एक खेलले विश्वकपको उपाधिबाट चुकेको अर्जेन्टिना यसपटक पनि उपाधिबाट दुई खेल मात्र टाढा छ। यसपटक विश्वकप जित्ने सपना बोकेरै आएको अर्जेन्टिनाले मंगलबार मध्यराति क्रोएसियाको अवरोध पन्छाउनुपर्नेछ।

यद्यपि क्रोएसियालाई पन्छाउनु उसको लागि त्यति सजिलो भने छैन। क्रोएसिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। यस्तो अवस्थामा क्रोएसियालाई कमजोर आँक्नु अर्जेन्टिनाको लागि गल्ती साबित हुन सक्छ। 

अर्जेन्टिना सन् १९८६ यता पहिलोपटक विश्वकपको उपाधि हात पार्ने लक्ष्यमा छ। उसलाई मार्कोस अकुना र गोन्जालो मोन्टियलजस्ता डिफेन्डर यसअघिका खेलमा पाएको पहेँलो कार्डको कारण क्रोएसियासँगको खेलमा उत्रिनेछैनन्। यस्तोमा प्रशिक्षक लियोनेल स्कालोनीका लागि रक्षापंक्तिमा धेरै विकल्प हुनेछैन। यस्तोमा निकोलास टाग्लियाफिकोले एउटा स्थान लिन सक्छन्। अकुनाको अभावले अर्जेन्टिनाको आक्रमण भने केही कमजोर बन्न सक्छ। विङब्याक  अकुनाले टोलीको बल अघि बढाउने मामिलामा राम्रो प्रदर्शन गर्दै आएका छन्। 
त्यस्तै अर्का भेटरान खेलाडी एन्जेल डि मारियाको उपस्थिति रहने वा नरहने भन्नेबारे पनि अन्योल कायमै छ। चोटबाट पूरै ठिक नभएका उनलाई  यसअघिका खेलमा सब्स्टिच्युटको रुपमा राखिएको थियो। 

सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आफ्नो टोलीको ठूलो जिम्मेवारी आफ्नो काँधमा बोकेका छन्। मेस्सीलाई अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनासँग तुलना गर्ने गरिन्छ। तर, म्याराडोनासँग बराबरी गर्नका लागि मेस्सीले आफ्नो टोलीलाई विश्वकपको उपाधि जिताउनुपर्नेछ। 

क्रोएसियासँगको खेलमा अर्जेन्टिनालाई काउन्टर आक्रमणमा गोल खाने समस्याबाट बच्नु निकै ठूलो चुनौती हुनेछ। क्वार्टरफाइनलको खेलमा नेदरल्याण्ड्सविरुद्ध सुरुवाती २–० को अग्रता लिए पनि उसले काउन्टर आक्रमणमा २ गोल खाँदै खेल निर्धारित समयमा बराबरीमा सकिएको थियो। त्यससँगै अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। यद्यपि क्रोएसियासँगको खेलमा भने अर्जेन्टिनाले निर्धारित समयमा स्पष्ट जित निकाल्न नसके पेनाल्टी सुटआउटमा भने क्रोएसिया अर्जेन्टिनाको लागि टाउको दुखाइ बन्न सक्छ। पेनाल्टी सुटआउटमा क्रोएसियाले राम्रो नतिजा निकाल्दै आएको छ। 

क्रोएसियाले सन् २०१८ को विश्वकपमा पनि नकआउट चरणका दुई खेल पेनाल्टी सुटआउटबाटै जितेको थियो। यसपटक पनि जपान र ब्राजिललाई उसले पेनाल्टी सुटआउटबाटै पराजित गरेको छ। त्यसो त अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले पनि नेदरल्याण्ड्सविरुद्धको खेलमा दुई पेनाल्टी पेनाल्टी रोकेका थिए। त्यसैले पनि पेनाल्टी सुटआउटमा क्रोएसियालाई समस्या त बढाउन सक्छन्। तर, पेनाल्टी सुटआउटको हिसाबमा क्रोएसिया उच्च मनोबलमा छ। अलजाजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .