ad ad

खेल


श्रीलंकालाई विश्वकप जिताएका ह्वाटमोर नेपालबारे भन्छन्– त्यहाँ पुग्न पहिले सपना देख्नैपर्छ

श्रीलंकालाई विश्वकप जिताएका ह्वाटमोर नेपालबारे भन्छन्– त्यहाँ पुग्न पहिले सपना देख्नैपर्छ

यज्ञराज जोशी
माघ ८, २०७७ बिहिबार १०:४२,

नेपाली क्रिकेटले पाएको अहिलेसम्मकै हाइप्रोफाइल कोच हुन डेभ ह्वाटमोर।

श्रीलंकालाई विश्वकप जिताएका यी ६६ वर्षीय प्रशिक्षकलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पहिलोपल्ट मिडियासँग साक्षात्कार गरायो।

के नेपालले ह्वाटमोरको प्रशिक्षकत्वमा विश्वकपसम्म पुग्ने सपना देख्नसक्छ?

१९९६ मा श्रीलंका त्यति ठूलो र अनुभवी टोली थिएन। तर पनि उनले श्रीलंकालाई अप्रत्यासित रुपमै विश्वकप विजेता बनाइछाडे।

त्यही सन्दर्भ कोट्याउँदै सोधिएको प्रश्नमा ह्वाटमोरले सपना नै नदेखे त्यहाँसम्म पुग्न नसकिने जवाफ दिए।

‘कुन दिन विश्वकप पुग्छौं भन्ने वाचा म गर्दिनँ। त्यहाँ पुग्न नेपालजस्तै धेरै देशले प्रयास गरिरहेका छन,’ उनले भने, ‘एसोसियट राष्ट्रका लागि त्यहाँ पुग्नु ठूलो चुनौती छ। तर सपना नदेखेसम्म, उच्च ठाउँमा पुग्ने उत्साह नबोकेसम्म हामी त्यहाँ पुग्दैनौं। त्यसका लागि हरेक दिन, हरेक समय हामीले त्यो प्राप्त गर्ने प्रयत्नमा लागिरहनुपर्छ।’

Whatmore pressmeet 2

श्रीलंकालाई विश्वकप जिताएपछि ह्वाटमोर २००३–०७ सम्म बंगलादेश राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए। २००७ मा उनले बंगलादेशलाई विश्वकपको सुपर आठसम्म पुर्‍याए। त्यतिबेला बंगलादेशले भारत र दक्षिण अफ्रिकाजस्ता शक्तिशाली क्रिकेट टोलीलाई पराजित गरेको थियो।

लगत्तै ह्वाटमोरले इंग्ल्याण्ड, भारत र पाकिस्तानी टोलीको मुख्य प्रशिक्षकका लागि पनि आवेदन दिएका थिए। तर यी तीनवटा देशको राष्ट्रिय टोली हेर्ने अवसर भने उनले पाएनन।

भारतले अन्तरिम प्रशिक्षकका रुपमा रवी शास्त्रीलाई नियुक्त गरेपछि ह्वाटमोरलाई नेसनल क्रिकेट एकेडेमीको निर्देशकमा नियुक्त गरेको थियो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पछि व्हाटमोरलाई २००७ मा भारतको यू–१९ टोलीको जिम्मा दियो। जुन टोलीको कप्तान विराट कोहली थिए। त्यही टोलीले २००८ को यू–१९ क्रिकेट विश्वकप समेत जितेको थियो।

नेपाली क्रिकेट सम्हाल्न आइपुगेका ह्वाटमोरको अर्जुनदृष्टि २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप र २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपमा हुनेछ।

टी–२० विश्वकपको नेपालले २०२२ फेब्रुअरीमा सिधै ग्लोबल छनोट खेल्दैछ। जसमा सहभागी हुने १६ टोलीमध्ये ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। सोही चार टोलीमा पर्नसके नेपाल २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ।

Whatmore BinodDas

यता २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको सपनासहित नेपाल अहिले आइसीसी क्रिकेट विश्वकप लिग–२ खेलिरहेको छ।

उक्त विश्वकपमा १० टोलीले सहभागिता जनाउनेछन। जसमा आयोजक भारतसहित अहिले चलिरहेको क्रिकेट  वर्ल्डकप सुपर लिगबाट ७ वटा टोली र नेपाल खेलिरहेको क्रिकेट विश्वकप लिग–२ बाट दुई टोलीले स्थान बनाउनेछन।

विश्वकप लिग–२ मा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन। यस प्रतियोगिताको शीर्ष तीनमा रहनसके नेपालले १० टोली सहभागी विश्वकप छनोटमा भाग लिन पाउनेछ। २०२३ को फेब्रुअरीमा हुने उक्त छनोटको शीर्ष दुईमा रहनसके विश्वकपमा स्थान बनाउनेछ।

तर त्यहाँ पुग्न सोचेजति सजिलो भने छैन। विश्वकप लिग–२ मा शीर्ष तीनभित्र रहनुपर्ने नेपाल अहिले छैटौं स्थानमा रहनुले आगामी चुनौती स्पष्ट पार्छ।

क्यानले तत्काल ह्वाटमोरलाई यही स्थान सुधार्ने चुनौतीका साथ एकवर्षका लागि नियुक्ति दिएको हो। क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले लिग–२ मा प्रदर्शन सुधार गर्नु ह्वाटमोरको पहिलो जिम्मेवारी रहेको बताए।

‘नेपालको क्रिकेटले अब छलाङ मार्ने बेला हो। उहाँको पहिलो जिम्मेवारी लिग–२ मा नेपालको प्रदर्शन सुधार्नु नै हुनेछ,’ प्याकुर्‍यालले भने, ‘उहाँको कार्यकालमा नेपालले फड्को मार्ने आशा गरेका छौं। उहाँसँग नेपाली क्रिकेटलाई माथि उठाउने अपेक्षा हुनेछ।’

केहीअघि मात्रै आईसीसीको निर्देशनमा क्यानले नेपाली क्रिकेटको व्यवस्थापकमा पूर्वकप्तान विनोद दासलाई नियुक्त गरेको थियो।

उनीबाहेक ह्वाटमोरको सहायक स्टाफका रुपमा आवश्यकता अनुसार मानिसहरु नियुक्त गरिने उनले बताए।

व्हाटमोरले नयाँ चुनौतीबारे आफू जानकार गरेको प्रतिक्रिया दिए। उनी आफूले सजिलो काम नरोजेको बताउँछन।

‘कुनैपनि काम लिदा चुनौतीहरु प्रशस्तै आउँछन। यहाँ पनि थुप्रै चुनौतीहरु छन। यो सजिलो ठाउँ होइन,’ व्हाटमोरले भने, ‘मैले नेपाली क्रिकेट फलो गरिरहेको छु। मसँग भएको सबै अनुभव यहाँ प्रयोग गर्नेछु र अहिलेको भन्दा अर्को चरणमा प्रवेश गराउने प्रयास गर्नेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .