खेल


विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

नेपालखबर
बैशाख १, २०८३ मंगलबार ८:४८, काठमाडौँ

विराटनगरमा जारी ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

सहिद मैदानमा सोमबार राति भएको रोमाञ्चक तेस्रो क्वाटर फाइनलमा मच्छिन्द्रलाई ‘सडन डेथ’मा पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो सडन डेथबाट गरिएको थियो।

टाइब्रेकरमा दुवै टोलीबाट ५–५ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो। सडन डेथमा पुलिसका सुजन मगरले गोल गर्दा मछिन्द्रका श्याम मुर्मुको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाएका थिए।

पुलिसलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका गोलरक्षक शत्रुधन ‘प्लेयर अफ द म्याच’ बन्दै ११ हजार रुपैयाँ पुरस्कार पाउन सफल भए।

टाइब्रेकरमा पुलिसका तर्फबाट राम वाजी, सञ्जीव लामा, भरत शाह, जोन विष्ट र गोलकिपर शत्रुधन चौधरीले गोल गरे। मछिन्द्रका तर्फबाट रोहित चन्द, दिवाकर चौधरी, रोमन भुजेल, विशाल भण्डारी र देवेन्द्र तामाङले गोल गरेका थिए।

यसअघि प्रतिस्पर्धात्मक खेलको २९औँ मिनेटमा धिरेन्द्र शाहको गोलबाट पुलिसले अग्रता लिएको थियो। ओसेन्द्र कटुवालको पासलाई सदुपयोग गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए।

तर, पुलिसको त्यो खुसी धेरै समय टिक्न सकेन। खेलको ३४औँ मिनेटमा मछिन्द्रका सौरभ लिम्बूले डिबक्स भित्रबाट हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

खेलको ६५औँ मिनेटमा मछिन्द्रका जुसर विश्वकर्माको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। ७०औँ मिनेटमा पुलिसका विजय उरावले गोलरक्षकसँगको वान-भर्सेस-वानको अवस्थामा गोल गर्न चुके भने ७५औँ मिनेटमा सञ्जीव लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल तुल्याएका थिए।

नेपाल पुलिस क्लब विराट गोल्ड कपको २०७२ सालको विजेता हो।

यता २०८२ सालको विजेता मच्छिन्द्र भने यसपटक पहिलो खेलबाटै बाहिरिन पुगेको छ।

प्रतियोगिता अन्तर्गत मङ्गलवार अन्तिम क्वाटर फाइनल खेल घरेलु टोली सम्राट् स्पोर्टिङ क्लब र भारतको झारखण्डस्थित बिर्सामुण्डा स्पोर्ट्स एकेडेमीबिच हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad