कोसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरले जितेको छ। शनिबार सम्पन्न फाइनलमा भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै इटहरी नमुना कलेजको टिम नमुना ब्लास्टरले उपाधि जितेको हो।
सुनसरीको भोक्राहा स्थित डा. खलिल आजाद खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको आक्रामक अर्धशतकिय इनिङमा ८ विकेट गुमाउँदै प्रतियोगिताकै २ सय ७ रनको उच्च स्कोर खडा गरेको थियो।
आक्रामक सुरुवात गरेका ऐरीले ७८ रनको सानदार खेले। ३४ बलको सामना गरेका उनले ८ छक्का र ५ चौका प्रहार गरे। ३४ बलको सामना गरेका भुर्तेलले ३ छक्का र ५ चौकाको मदतमा ५३ रन बनाएर विपिन कुमार महतोको बलमा आउट भए। कुशल मल्लले २२ बलमा अविजित ४३ रनको उत्कृष्ट इनिङ खेले। भोक्राहाका सन्दीप ढुङ्गानाले ३ र भुवन कार्कीले २ विकेट हात पारे।
जवाफमा २ सय ८ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भोक्राहाले ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो। उसका लागि सुजन थपलियाले ३३, रोहण शाहले १२ बलमा ४ छक्काको मदतमा नट आउट ३० रन बनाए। सुमित महर्जनले २९, कप्तान अङ्कित सुबेदीले २२, शिबम यादवले १६, दीपक बोहराले ११ र आयुष्यमान बमले १० रन बनाए पनि टिमलाई जिताउन सकेनन्। नमुनाका इशान पाण्डेले ३ र कुशल मल्लले २ विकेट लिए।
प्रतियोगिताको विजेता नमुना ब्लास्टरले ५ लाख ५ हजार र उपविजेता भोक्रहाले ३ लाख ३ हजार पुरस्कार प्राप्त गरेको छ। नमुनाका दीपेन्द्रसिंह ऐरी म्यानअफद फाइनल घोषित हुँदै नगद ५ हजार प्राप्त गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भोक्राहाका सन्दीप ढुङ्गानाले २५ हजार रुपैयाँ पाए।
उत्कृष्ट ब्याटर इटहरी आदर्श जाइन्ट्सका भीम सार्की भए। उत्कृष्ट बलर पूर्वेली सुपरकिंग विराटनगरका दिनेश अधिकारी भए। उनीहरू दुवै जनाले जनही १५ हजार पुरस्कार पाए। नमुनाका प्रकाश कार्की र भोक्राहाका भुवन थापा उदयमान खेलाडी घोषित भए। फागुन ५ गतेदेखि भएको प्रतियोगितामा सात टिम सहभागी थिए।
Shares

प्रतिक्रिया