खेल


पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

नेपालखबर
असोज ११, २०७६ शनिबार १४:३३,

कप्तान पारस खड्काको आक्रामक कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरमा जारी त्रिदेशीय टि-२० शृंखलामा घरेलु टोली सिंगापुरविरुद्ध सानदार ९ विकेटको जित हात पारेको छ।  

सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पारसको शतकसँगै नेपालले २४ बल बाँकी छँदै १ विकेट गुमाएर भेट्टाएको थियो।

पारसले ५२ बलमा १ सय ६ रनको पारी खेले। उनले ७ चौका र ९ छक्का प्रहार गरे। यो नेपालको टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो।

नेपाली क्रिकेटको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियको पनि शतक पनि पारसकै नाममा छ। गत जनवरीमा यूएईविरुद्धको एकदिवसीय शृंखलामा पारसले ओडिआईमा नेपालका लागि पहिलो शतक प्रहार गरेका थिए। 

पारसका शतकहरु:-

  • २०१६ अप्रिल १८ मा  विश्वक्रिकेट लिग च्याम्पियनसिपमा  नामिबियाविरुद्ध - १०३ रन  
  • २०१८ फेब्रुअरी ८ मा विश्वक्रिकेट लिग डिभिजन २ मा  युएईविरुद्ध    - ११२ रन
  • २०१९ जनवरी २८ यएईविरुद्धको एकदिवसीय शृंखला, यूएई- ११५ (१०९ बल, १५ चौका, १ छक्का)
  • २०१९ सेप्टेम्बर २८, टि-२० त्रिदेशीय शृंखलामा सिंगापुरविरुद्ध, सिंगापुर- १०६* (५२ बल, ७ चौका र ९ छक्का)  

पारससँगै आरिफ शेखले ३९ रनको पारी खेलेपछि नेपालले सिंगापुरविरुद्ध सहज जित हात पारेको हो।

पारसले छक्का प्रहार गर्दै ४९ बलमा शतक १०० रन पूरा गरेका थिए। त्यसअघि उनले २९ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए।

टस जितेर ब्याटिङ गरिरहेको सिंगापुरले निधारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो। 

उसका टिम डेविडले ४४ बलमा ६४ रनको इनिङ खेलेका थिए। उनले ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै सिंगापुरका चन्द्र मोहनले ३५ तथा जनक प्रकाशले २५ रन जोडे। 

नेपालका कारण केसीले २ तथा सुसान भारीले १ विकेट लिए। करणले ४ ओभरमा ३४ रन खर्चिए। ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेपनि कुनै विकेट लिएनन्।

सिंगापुर क्रिकेटले आयोजना गरेको जारी त्रिकोणात्मक शृंखलामा नेपाल, जिम्बाबे र सिंगापुर खेल्दैछन्। सबै टोलीले एक अर्काबीच दुई दुई वटा टि-२० खेल खेल्नेछन्।

पारस खड्काबारे जान्नुहोस्

सुरुवाती क्रिकेट


पारसको क्रिकेट टुँडिखेलबाट सुरु भयो। तर, १५ वर्षसम्म पनि पारसको दिमागमा क्रिकेटर बन्छु भन्ने थिएन्। उनी राम्रा बास्केटबल खेलाडी पनि थिए। काठमाडौंका युवाहरुको कल्चर विदेश जाने थियो। सायद काठमाडौंका रैथाने पारसको पनि त्यस्तै विदेश भासिने सपना थियो कि।

तर, १५ वर्षमुनिको टोलीमा छनौट भएपछि पारसमा क्रिकेटको भुत चढ्दै गयो। सुरुवाती दिनहरु सम्झदै पारस भन्छन्, ‘किशोराअवस्थामा देशका लागि खेल्ने मेरो सपना त थियो तर दिमागमा गन्तव्य भने अर्कै थियो। जब म १५ वर्षमुनिको टोलीमा छनौट भए तब मेरो दिमागपनि क्रिकेट तिरै ढल्यो।’

पारसले २००२ मा यूएईमा भएको यु–१५ एसिया कपमा पहिलोपटक नेपालको जर्सी लगाउनु नेपालले स्टार खेलाडी पाउनुको कारण बन्यो। अर्कोवर्ष पारसले १९ वर्षमुनीको नेपाली टोलीबाट खेले। त्यसबेला कराचीमा भएको यूथ एसियाकपमा पारसले भारतविरुद्ध खेल्ने मौका पाएका थिए।

सन् २००४ मा पहिलोपटक बंगलादेशमा भएको एसीसी यू–१९ विश्वकप खेलेको पारस सहितको टोलीले दक्षिण अफ्रिकालाई हराएको थियो।

सिनियर डेब्यूबाट उकालिदो ग्राफ


सन् २००४ मा नै उनले एसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत काठमाडौंमा भएको मलेसियाविरुद्धको खेलबाट सिनियर टिममा डेब्यू गरेका थिए। त्यसपछि सिनियर टोलीमा उनको ग्राफ उकालो लाग्दै गयो। जुन हालसम्म पनि रोकिएको छैन।

सन् २००५ उनी यू–१९ टिमको उपकप्तान भएको टोलीले २००६ मा श्रीलंकामा खेलेको आइसीसी यू–१९ वल्र्डकप प्लेट च्याम्पियनसिपमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा र न्युजिल्याण्डलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो।

पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यु–१९ च्याम्पियनसिपबाट सो उमेर समूहको टोलीको कप्तानी सम्हाले। सोही प्रतियोगिताको उनी उत्कृष्ट खेलाडी पनि घोषित भए भने त्यसै वर्ष एसीसी इमर्जिङ प्लेयर अफ द इअरको अवार्ड हात पारे।

उमेर समूहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएपछि उनले सन् २००७ मा कुवेतमा भएको एसीसी टि–२० कपमा सिनियर टिममा उपकप्तानीको जिम्मेवारी पाए।

सफल नेतृत्व


सन् २००९ यता पारस राष्ट्रिय टोलीका कप्तान हुन्। युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट उनलाई राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिइएको थियो।

लगत्तै सन् २०१० मा उनको कप्तानीमा काठमाडौंमा भएको डिभिजन ५ मा नेपाल च्याम्पियन बन्यो। जुन आइसीसीको ठूलो प्रतियोगिता जितेको नेपालले पहिलो पटक थियो। घरेलु दर्शकमाझ राष्ट्रिय टोलीलाई डिभिजन ५ को उपाधि दिलाएपछि उनी नेपाली समर्थक माझ लोकप्रिय बन्दै गए।

डिभिजन ५ देखि हाल ओडिआई खेलिरहँदा पारसको प्रदर्शन अझै सुदृढ बन्दै गयो। २०१२ मा मलेसियामा भएको डिभिजन चारमा नेपाललाई च्याम्पियन बनाएका पारसले त्यसैवर्षको एसिसी ट्रफी इलाइटको उपाधि नेपाललाई जिताउनुका साथै आफू प्लेयर अफ द सिरिज पनि बनेका थिए।

सो प्रतियोगितामा उनको रन औषत ७२.७५ को हुनुका साथै ९ विकेट पनि लिएका थिए। सोही प्रतियोगितामा कुवेत विरुद्ध उनले पहिलो शतक प्रहार गरेका हुन्।

सन् २०१३ मा भएको एसीसी टी–२० कपमा पनि उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने। भने सोहीवर्ष बर्मुडामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा नेपाललाई च्याम्पियन बनाउँदै टी–२० विश्वकप छनोटमा पुर्याए र छनोटमा तेस्रो बन्दै नेपालले सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा छनोट भयो।

टी–२० विश्वकपमा नेपालका लागि हङकङ र बंगलादेशविरुद्धको खेलमा उनले समान ४१–४१ रन प्रहार गरेका थिए। हङकङविरुद्ध उक्त विश्वकपको पहिलो बलमै इर्फान अहमदको विकेट लिदैँ उनी विश्वकपको पहिलो बलमै विकेट लिए विश्वकै आठौं खेलाडी बनेका थिए। 

विश्वकप छनोट ट्रफीका साथमा कप्तान पारस खड्का

विश्वकप छनोट ट्रफीका साथमा कप्तान पारस खड्का

अफगानिस्तानविरुद्ध सो विश्वकपमा ९ रनको सनसनीपूर्ण जित निकाल्ने क्रममा पारसले दुईवटा उत्कृष्ट क्याच लिएका थिए। त्यसक्रममा उनलाई धेरै मिडियाहरुले नेपालको कपील देव भन्दै उल्लेख गरे। सोहीप्रतियोगिता पछि नेपालले पहिलो पटक टी–२० अन्तराष्ट्रियको मान्यता पाएको थियो।

टी–२० अन्तराष्ट्रियको मान्यता पाएकै बेला नेपालले नेदरल्याण्ड्ससँग चार खेलको श्रृखंला खेलेको थियो। उक्त श्रृखंला नेदरल्याण्ड्सले ३–१ ले जितेपछि पारस नेदरल्याण्ड्सका अहसान मलिकसँगै म्यान अफ द सिरिज चुनिएका थिए।

मार्च २०१५ मा भएको इमिरेट्स टी–२० प्रीतयोगिताका लागि उनी मेरिलोबेन क्रिकेट क्लबको टोलीमा पनि समेटिएका थिए।

त्यसयता नेपाललाई २०१५–१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियन्ससिपको नेतृत्व गरेका पारसले यसैवर्षको फ्रेब्रुअरीमा भएको डिभिजन दुईको उपविजेता बनाउँदै मार्चमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुर्याए भने उक्त छनोटमा आठौं बन्दै नेपालले एकदिवसीय अन्तराष्ट्रियको मान्यता हासिल गर्यो।

सफलताको रहस्य र सन्न्यासको सोच

पारस खड्का

पारस खड्का

नेपाली सफलताको कारण टिमस्प्रिट भएको उनी बताउँछन्। पारस भन्छन्, ‘हाम्रो टिम स्प्रिट गज्जबको छ। त्यो हाम्रा लागि सबैभन्दा ठूलो प्लसप्वाइन्ट हो। हामी प्रत्येक रन र प्रत्येक विकेटका लागि मरिमेट्छौं।’

आफ्नो कप्तानीमा सबैको उत्तिकै मेहनतले गज्जब यात्रा तय भएको बताउँदै पारस यसले निरन्तरता पाउनेमा विश्वस्त छन्। उनी भन्छन्, ‘कप्तानका रुपमा यो गज्जबको यात्रा रह्यो र मलाई आशा छ यसले निरन्तरता पाउनेछ। सबैभन्दा महत्वपूर्ण कुरा प्रदर्शन दिदैँ जानु र टोलीलाई अघि बढ्न सघाउनु हो।’

राष्ट्रिय टोलीबाट अद्भुत १५ वर्ष यात्रा गरिसकेका पारसले आफ्नो सन्यासबारे सोचिसकेका छैनन्। उनी भन्छन्, ‘म १५ वर्षदेखि खेलिरहेको छु। मैले कहिले सोचेको थिइन् कि म यति लामो समयसम्म खेल्छु। एकदिन मैले टोलीबाट विदा हुनुपर्ने बेला आउनेछ। सायद, त्यो ६ महिना या ६ वर्षपनि हुनसक्छ। तर, अहिले मजति सक्दो योगदान दिन चाहान्छु र नेपाललाई अझै अघि बढाउन चाहान्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .