‘मेहनत गर्न डराए भने केही कुरा नगरेपनि हुन्छ’
यो वाक्यांश राष्ट्रिय क्रिकेट टोलीका नयाँ अनुहार इसान पाण्डेको हो। २१ वर्षिय माथिल्लो क्रमका बायाँ हाते ब्याट्सम्यान इसानको आफ्नै जीवनमा पनि यही भनाई लागुहुन्छ। एकातिर एमबीबीएस अध्ययन, अर्कातिर राष्ट्रिय टिमका लागि संघर्ष। दुवैमा मेहनत गर्न डराए सफलता हात लाग्दैन्।
असोज १० देखि असोज २३ को बीचमा नेपालले सिंगापुर र ओमानमा दुईवटा ट्वान्टी–२० क्रिकेट शृंखला खेल्दैछ। त्यसकै लागि घरेलु मैदानमा तीन साताको अभ्यास पश्चात बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भयो।
त्यही टोलीका नयाँ अनुहार हुन्, इसान। उनी जोड मेहनत चाहिने दुई क्षेत्रमा आफूलाई स्थापित गर्न खोजिरहेका छन्। धुलिखेलस्थित स्कुल अफ मेडिकल साइन्समा हुँदा उनको हातमा चिकित्सा क्षेत्रका कापी, किताब हुन्छन्। कलेजबाट बाहिर निस्केपछि उनको हातमा ब्याट र बल हुन्छ।
दुवैलाई कसरी सँगसँगै अघि लगिरहेका छन् त? एमबीबीएस पहिलो वर्षको परिक्षा दिने तयारीमा रहेका उनले भने, ‘जहाँ पढिरहेको छु। त्यहाँ सरहरु र सिनियरहरुबाट निकै नै सहयोग छ। एक्लै भए हुन्थेन। पढाई छुटेका बेला सिनियरहरुको सहयोगबाट कभर गर्छु। मैले पढाई कभर गरेपछि कलेजले पनि अब्जेक्सन देखाएको छैन।’
बिहान ९ देखि दिउँसो ४ बजे सम्म उनको कक्षा हुन्छ। त्यस बाहेकको समयमा क्रिकेटमा बित्छ। सार्वजनिक विदाको दिन काठमाडौं झरेर ग्रेट हिमालय क्रिकेट एकेडेमीमा विताउँछन्। बाँकी समय धुलिखेलमै अभ्यास गर्छन्।
‘गाह्रो मान्ने हो भने गाह्रो छ। डिस्टर्ब हुन्छ, फस्र्टे्सन हुन्छ। दिक्क लाग्छ,’ उनले गाह्रोसाह्रो सुनाए, ‘तर, दुवै मन लगाएर गर्ने हो भने गाह्रो लाग्दैन। खुशी–खुशी गर्यो भने सबैकुरा आफै मिल्दै पनि जान्छ,’
परीक्षा परेको बेला राष्ट्रिय टिमबाट खेल्नुपर्यो भने उनी परिक्षा रोज्छन् होला कि क्रिकेट? विगत पाँच वर्षदेखि नेपाली क्रिकेटमा भविष्य खोजिरहेका इसानले एकै सासमा भने, क्रिकेट।
डाक्टर बनेपछि सुरक्षित भविष्य हुने जान्दाजान्दै पनि किन उनलाई परीक्षा भन्दा क्रिकेट प्यारो लाग्यो होला? त्यो जान्न उनको कथातर्फ लागौं।
बुबाको योगदान
स्याङ्जाका पुष्पराज पाण्डे रोजगारीका सिलसिलामा भारतको हरिद्वार बस्छन्। त्यहाँ उनी एक आश्रमको म्यानेजर छन्। छोरा इसानलाई पनि उनले सानैदेखि हरिद्वार नै पढाए।
पुष्पराज आफ्नो जमानामा भलिबल र कबड्डी खुब खेल्थे। खेल मन पथ्र्यो। भारतमा क्रिकेटको माहौल पनि गज्जबै थियो। त्यही माहौलबीच इसानलाई सानै उमेरमा नै पुष्पराजले एकेडेमीमा पुर्याइदिए। सुरुमा इसान सिनियरहरुले हानेको बल लिएर आउँथे। बलहरुसँग खेल्दै समय कटाउँथे। विस्तारै उमेर बढेपछि बल र ब्याट समात्न सिक्दै गए।
६ कक्षामा पढ्दासम्म उनमा क्रिकेटको रस बसिसकेको थियो। राम्रै ब्याटिङ गर्ने भइसकेका थिए। अब प्रतियोगिताहरु खेल्नु थियो। त्यसैले बढीभन्दा बढी प्रतियोगिता खेलाउने एकेडेमीमा उनी सरे। ‘७ वर्षको उमेरमा मैले पहिलो यू–१२ प्रतियोगिता खेलेको थिए,’ उनी सम्झन्छन्, ‘त्यो उमेरमा ब्याट उचाल्न पनि गाह्रो हुन्थ्यो। प्रशिक्षकहरुले जति लामो खेलेपनि आउट नहुनु पूरै खेलेर आउनु भनेर अह्राउँथे। पछि त्यही बानी लाग्यो।’
विस्तारै स्कुले प्रतियोगिता, जिल्ला लिगहरु खेल्दै गए। यू–१६ सम्म उनले उत्तराखण्डबाट खेले। तर, उत्तराखण्डलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीबीसीआई)को मान्यता थिएन। त्यसैले उनले खेलेका प्रतियोगिताले पनि आधिकारिकता पाउँदैनथ्यो।
आधिकारिक प्रतियोगिताहरु खेल्न बुबाले उनलाई उत्तर प्रदेश पठाए। तर, त्यहाँ जिल्ला, प्रदेशस्तरीय खेल्न पनि छनोट हुनुपर्थ्याे। छनोट खेल्न व्यक्तिगत कागजातहरु बुझाउनुपर्थ्याे। तर, नेपाली नागरिकता भएका इसानलाई उत्तरप्रदेशले छनोटनै खेल्न दिएन। भारतीय भएको प्रमाण न उनीसँग थियो, न जुटाउन चाहे।
‘भारतमा माथिल्लोस्तरको क्रिकेट खेलेर नेपाल फर्कने योजना थियो,’ इसानले भने, ‘तर नेपाली भएकाले त्यहाँ माथिल्लो प्रतियोगिता खेल्न नपाईने भयो। त्यसपछि बुबाको सल्लाहमा नै पढाईसँगै क्रिकेट अघि बढाउने उद्देश्यले म काठमाडौं आएँ।’
सन् २०१५ मा १२ कक्षा सकेर इसान काठमाडौं आएका थिए। अन्जान काठमाडौंमा ठूलबुबा तर्फका दाई हरि पाण्डेले निकै सहयोग गरे। हरि नै हुन्, जसले हरिद्वारमा छँदा इसानको हातमा पहिलोपटक ब्याट थमाइदिएका थिए। नेपाली क्रिकेटमा रमाउन पनि दोस्रो पटक हरिले नै सहयोग गरे।
‘हरिदाईले नै पहिलो पटक मेरो हातमा ब्याट राखिदिएपछि अहिलेसम्म छुटेको छैन,’ उनले भने, ‘उहाँले काठमाडौंमा पनि हरेक कुरामा सहयोग गर्नुभयाे। बुबाबाट पहिलोपटक टाढा आएको थिएँ। तर, टाढाको महसुस नै हुन दिनु भएन।’
बुढानीलकण्ठ बस्ने उनलाई बालुवाटार क्रिकेट एकेडेमी नजिक पर्थ्यो। उनले त्यही एकेडेमी ज्वाइन गरे। सोहीवर्ष एकेडेमीको टोली थाइल्याण्डमा हुने सुपर सिक्सेस प्रतियोगिता खेल्न जाने भयो। इसान पनि एकेडेमीको टोलीमा अटाए। जहाँ आफ्नो प्रदर्शनले उनले सवैलाई प्रभावित पारे।
प्रवेश परीक्षा पास भएपनि क्रिकेटकै लागि छाडे
सन् २०१६ मा यू–१९ विश्वकप थियो। त्यहीबेला नेपाल क्रिकेट संघ (क्यान) निलम्वनमा परेकाले छनोट प्रतियोगिता भएन। देशभरिबाट ५२ खेलाडीहरु बोलाउँदै ४ टोलीमा विभाजन गरियो। त्यही चार टोलीबीच सुपर लिग खेलाउँदै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु टोलीमा छनोट गर्ने प्रावधान थियो।
हङकङको टिमबाट खेलिसकेका सुनिल लामा बालुवाटार क्रिकेट एकेडेमीका प्रशिक्षक थिए। उनले इसानको क्षमता बुझेर तत्कालिन छनोटकर्तालाई कम्तीमा एउटा म्याचमा भएपनि इसानलाई मौका दिन आग्रह गरे।
छनोटकर्ताले पनि उनको आग्रह टार्न सकेनन्। सुपर लिगको पहिलो खेलमा तत्कालिन यू–१९ टोलीका कप्तान राजु रिजाल तथा सन्दीप लामिछानेसहितको टोलीविरुद्ध उनले खेल्नुपर्ने भयो। त्यही टिमविरुद्ध नटआउट ८७ रनको पारी खेलेपछि उनलाई टोलीमा पर्न कसैले रोक्न सकेन।
यो पनि: भारतलाई हराउँदै स्वर्ण जितेको त्यो गर्विलो क्षण
इसानले त्यहीबेला पहिलो पटक एमबीबीएसको प्रवेश परिक्षा पनि दिएका थिए। उनी पहिलो प्रयासमै नाम निकाल्न समेत सफल भए। तर, साेही बेला उनी यू–१९ विश्वकपको टोलीमा परे। उनलाई क्रिकेट र एमबीबीएसमध्ये एक रोज्नु पर्यो, त्यसबेला बुबाको सल्लाहमा उनले क्रिकेट रोजे।
विश्वकपमा अघि भएका अभ्यास खेलहरुमा रन बनाउन नसकेपछि उनले विश्वकपको टोलीमा मौका पाएनन्। त्यसपछि थप तीनवर्ष उनले पढाईसँगै क्रिकेटमा संघर्ष गर्नुपर्यो। त्यसबीच उनी दुई पटक एमबीबीएसको प्रवेश परीक्षामा असफल पनि हुनुपर्यो। गतवर्ष भने चौथो प्रयासमा उनले प्रवेश परिक्षा उत्तिर्ण गरेपछि उनको डाक्टरी पढाई सुरु भयो। यता, गत जेठमा भएको प्रधानमन्त्री कप(पीएम कप)को प्रदर्शन पछि उनको क्रिकेटले पनि टर्निङ प्वाइन्ट लियो।
राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको टोली प्रदेश ३ बाट उनले पीएम कप खेलेका थिए। सोही प्रतियोगितामा दुई अर्धशतकसहित चौथो सर्वाधिक उच्च स्कोरर गर्ने खेलाडी बनेपछि उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परे।
तीनहप्ताको बन्द प्रशिक्षणमा विताएपछि उनी राष्ट्रिय टोलीमा परेका हुन्। जुन दिन देशलाई आफ्नो प्रदर्शनले जिताउन सके, त्यही दिनलाई जीवनको टर्निङ प्वाइन्ट मान्ने उनी बताउँछन्।
‘राष्ट्रिय टिमकै कप्तान र उपकप्तानसँग एउटै ड्रेसिङ रुम सेयर गर्दा एकवर्ष नेट प्राक्टिस गरेको भन्दा धेरै कुरा सिकिन्छ,’ उनले भने, ‘तर, मेरो जीवनमा अहिले टर्निङ प्वाइन्ट आएको म मान्दिन। यदि आफ्नो प्रदर्शनले नेपाललाई कुनै खेल जिताउन सकेँ भने त्यसलाई टर्निङ प्वाइन्ट मान्नेछु।’
ओपनिङका विकल्प
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा लामो समयदेखि ओपनिङमा समस्या देखिदैँ आएको छ। ओपनिङमा कोही जम्न नसकेकै कारण नेपालले थुप्रै खेलाडीहरुलाई त्यस स्थानमा अदलबदल गरिरहेको छ।
इसान अहिलेको टोलीका एक ओपनिङ विकल्पका रुपमा देखिएका छन्। बन्द प्रशिक्षणका दौरानपनि प्रशिक्षकले उनलाई ओपनिङ र टप अर्डरकै जिम्मेवारी सुम्पेका थिए। ओपनिङको चुनौतीका लागि इसान पनि तयार छन्।
‘सिधै राष्ट्रिय टोलीमा ओपनिङ गरेको भए गाह्रो हुन्थ्यो होला। तर मैले जुनदिनदेखि क्रिकेट सुरु गरे त्यहीबेला देखि ओपनिङ गर्दै आएको छु,’ उनले भने, ‘पूरै करिअरभरि ओपनिङ गरिरहेकाले मैले यसलाई चुनौती भन्दा पनि अवसरका रुपमा लिएको छु।’
पहिलोपटक टिममा पर्नु नै उनले सफलता मानेका छैनन्। टिममा परेर मात्रै आफ्नो मेहनतले सार्थकता नपाउने उनी बताउँछन्। ‘मेरो प्रदर्शनमा एउटा म्याच पनि नेपाललाई जिताउन सके भने त्यो दिन मैले गरेको मेहनतले सार्थकता पाएको महसुस गर्नेछु,’ उनले भने।
सिनियर टोलीमा आफ्नो भविष्यलाई लिएर पनि उनी सचेत छन्। त्यसैले धेरै टाढाको सोच्नुभन्दा एक एक खेलमा राम्रो गर्दै अघि बढ्ने उनको योजना छ।
‘मैले टाढाको सोचेर अहिले बिगारे भने मेरो विकल्पमा अरु थुप्रै तयार छन्,’ उनी भन्छन्, ‘म एक–एक म्याचमा राम्रो गर्दै अघि बढ्ने सोचमा छु। उमेर समूहको टोली जस्तो यहाँ गल्तीको गुञ्जायस हुँदैन। सिनियर टिममा पर्दा धेरै कुरा सिकिसकिएको हुन्छ। अब यहाँ आफूलाई विकास मात्रै गर्ने हो। नेपाली क्रिकेट नयाँ चरणमा प्रवेश गर्दैछ। अब टोलीलाई जिततर्फ डोर्याउने पात्रको खाँचो छ। त्यस्तै पात्रका रुपमा म आफूलाई विकास गर्दै लानेछु।’
प्रतिक्रिया