ad ad

खेल


विश्वकप छनोट: यस्तो छ कुवेतविरुद्ध नेपालको सुरुवाती-११

विश्वकप छनोट: यस्तो छ कुवेतविरुद्ध नेपालको सुरुवाती-११

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १५:४४,

फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ अन्तर्गतको पहिलो छनोट खेल नेपालले केहीबेरमा कुवेतविरुद्ध उसैको मैदानमा खेल्दैछ।

खेलका लागि नेपालको सुरुवाति-११ यस्तो छ: विमल घर्तीमगर, सुजल श्रेष्ठ, रोहित चन्द, रवि पासवान, विशाल राई, सुमन अर्याल, देवेन्द्र तामाङ, अनन्त तामाङ, अजित भण्डारी र किरण चेञ्जोङ।

तथ्यहरु: पहिलो भिडेको टोली कुवेत

  • अन्तर्राष्ट्रिय फुटबलमा नेपालको पहिलो प्रतिद्वन्द्वी हो, कुवेत। नेपालले सन् १९८२ नोभेम्बर २१ मा एसियाली खेलकुदमा पहिलो पटक कुवेतको सामना गरेको थियो। नयाँ दिल्लीमा भएको खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित रह्यो।
  • वाईवी घलेले कुवेतविरुद्धको पहिलो खेलमा ऐतिहासिक गोल गरेका थिए। त्यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो। यो गोल ८५ औं मिनेटमा सम्भव भएको थियो। कुवेतविरुद्ध नेपालले हालसम्म गरेको एकमात्रै गोल पनि त्यही हो। उनको पूरा नाम हो, यामबहादुर घले। उनी भिक्टोरियाक्रम विजेता गजे घलेका छोरा हुन्।
  • नेपालले अहिलेसम्म सात संस्करणका विश्वकप छनोट खेलेको छ, सन् १९८६ यता। यसबीचम नेपालले विश्वकप छनोटमा कुल ३० खेल खेलेको छ।
  • पहिलो विश्वकप छनोट खेलेको नेपाली टिमका प्रशिक्षक थिए, प्रसिद्ध जोए किनर। नेपाली फुटबलले पाएका उनी सम्भवतः सबैभन्दा चर्चित प्रशिक्षक हुन्। उनी सन् २००८ देखि २००९ सम्म इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेडको व्यवस्थापक थिए।
  • विश्वकप छनोटको इतिहासमा नेपालको पहिलो खेल थियो, दक्षिण कोरियाविरुद्ध सन् १९८५ को मार्च २ मा। काठमाडौंको दशरथ रंगशालामा भएको त्यस खेलमा नेपाल २–० ले पराजित रह्यो। नेपाली टिमका कप्तान थिए, रूपकराज शर्मा।
  • विश्वकप फुटबल छनोटमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्, निराजन रायमाझी। उनले ७ गोल गरेका छन्। त्यसमा एक ह्याट्रिक पनि पर्छ। उनी विश्वकप छनोटमा ह्याट्रिक गर्ने एक मात्र नेपाली खेलाडी हुन्।
  • विश्वकप छनोटमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी हुन्, हरि खड्का। उनले सन् १९९७ मार्च २३ मा मकाओविरुद्ध गोल गरेका थिए। त्यो खेल १–१ को बराबरीमा समाप्त भएको थियो। 

हेड टू हेड
नेपालले कुवेतलाई सिनियर लेभलमा कहिलै हराउन सकेको छैन्। नेपाल र कुवेत अहिलेसम्म ६ पटक आमने सामने हुँदा ५ पटक कुवेतले जितेको छ भने १ खेल बराबरीमा सकिएको छ।

१९८२ को एसियन गेम्समा नेपाल र कुवेत पहिलोपटक भिडेका थिए। नयाँ दिल्लीमा भएको उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो। त्यसबेला वाइबी घलेले नेपालका तर्फबाट गरेको उक्त गोल नै कुवेती पोस्टमा नेपालले गर्न सकेको एकमात्रै गोल हो। त्यसबाहेक ६ खेलमा नेपालले २२ गोल खाएको छ।

कुवेतसँग नेपालक १९९४ मा भएको एसियन गेम्समा सबैभन्दा ठूलो ८–० को हार ब्यहोरेको थियो। गत मार्चमा मैत्रीपूर्ण खेलमा गोलरहित बराबीमा रोक्नु नै उसविरुद्ध नेपालको सबैभन्दा ठूलो सफलता हो।

पछिल्ला ५ महिनामा कुवेतले ५ वटा अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा उसले २ मा जित, २ मा बराबरी र एकमा हारको नतिजा ब्यहोरेको छ।

नेपाली खेलाडी ले भने पछिल्लो पछिल्लो एकवर्षमा मात्रै ५ खेल खेल्न पाएका छन्। ती ५ वटै खेलमा नेपालले जित हात पार्न सकेको छैन्। तीन खेल हारेको नेपालले दुई खेल बराबरी गरेको छ।

कुवेतविरुद्धको एक खेलमा हार र एक खेलमा बराबरी, मलेसियासँग २–० को हार, चाइनिज ताइपेलाई १–१ को बराबरी तथा गत भदौ ९ गते मलेसियन क्लब दारुलसँग १–० ले पराजित हुनु नेपाली पछिल्ला ५ खेलका नतिजा हुन्।

विश्वकप छनोटमा नेपालको तालिका

फिफा वरियताका आधारमा नेपाल सोझै फिफा विश्वकप २०२२ अन्तर्गतको एसिया छनोट दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणमा विभिन्न ८ समूहमा बाडिएका ४० राष्ट्रले प्रतिस्पर्धा गर्देछन्। समूहका शीर्ष टोली र उत्कृष्ट चार उपविजेता टोली अन्तिम चरणमा पुग्नेछन्।

नेपाल समूह बीमा छ। नेपालको समूहमा कुवेत, अष्ट्रेलिया र जोर्डन छन्। सबै टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछ। नेपालले भदौ १९ गते कुवेतविरुद्ध उसैको मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।

यस्तै नेपालले भदौ २४ गते चाइनिज चाइपेइविरुद्ध उसैको मैदानमा खेल्नेछ। नेपालले असोज २३ मा अष्ट्रेलियाविरुद्ध र असोज २८ गते जोर्डनविरुद्ध उनीहरुकै मैदानमा अवे खेलहरु खेल्नेछ।

नेपालले होम खेलहरुमा मंसिर ३ गते कुवेत, चैत्र १३ गते चाइनिज ताइपेइ, चैत्र २८ गते अष्ट्रेलिया र २०७७ जेठ २२ गते जोर्डनविरुद्ध दशरथ रंगशालामा खेल्दैछ।

कसरी पुगिन्छ विश्वकप?

आगामी विश्वकप २०२२ मा एसियाली राष्ट्र कतारमा हुने यसअघि नै टुंग्गो लागिसकेको छ। सोही विश्वकपका लागि अहिले छनोट प्रतियोगिता भइरहेका छन्। 

नेपालले बिहीबार देखि सोही विश्वकप अन्तर्गतको एसिया छनोटका दोस्रो चरणका खेलहरु खेल्न लागेको हो। जसअन्तर्गत पहिलो खेल नेपालले बिहीबार कुवेतसँग खेल्दैछ। चार महिनाअघि एसियाको शीर्ष ३४ भित्र रहेपछि नेपालले पहिलो चरण नखेली दोस्रो चरणमा प्रवेश पाएको हो।

दोस्रो चरणमा एसियाका ४० राष्ट्रले सहभागिता जनाउँदैछन्। उनीहरुलाई विभिन्न ८ समूहमा बाडिएको छ। नेपाल समूह बीमा छ। नेपाली समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे छन्। सबै राष्ट्रले होम र अवेका आधारमा एकअर्कासँग खेलेपछि समूहको शीर्षमा रहने टोली तेस्रो चरणमा पुग्नेछ। साथै सबै समूहका खेल सकिएपछि उत्कृष्ट ४ समूह उपविजेता टोलीलाई पनि तेस्रो चरणमा प्रवेश दिइन्छ।

तेस्रो चरणमा दोस्रो चरणबाट आएका १२ टोलीलाई दुई समूहमा बाँडिनेछ। एउटा समूहमा हुने ६ टिमले पुन: होम एण्ड अवेका आधारमा खेल्नेछन्। दुवै समूहका शीर्ष २ टोली विश्वकपमा छानिनेछन्। यस्तै तेस्रो हुने २ टोलीले चौथो चरणको छनोट खेल्नेछन्।

चौथो चरणमा तेस्रो चरणबाट आएका २ टोलीहरुले होम एण्ड अवेका आधारमा २ लेग(होममा २, अवेमा २)को खेल खेल्नेछन्। त्यसको विजेता टोली इन्टर कन्फिडेरेशन प्लेअफ खेल्नेछ। जहाँ एएफसी, कोन्काकेफ, कोनमेबोल र ओएफसीबाट आएका चार टोलीहरुबीच प्रतिस्पर्धा हुनेछ।

उनीहरुले पनि होम एण्ड अबेका आधारमा २ लेगको खेल खेल्नेछन्। अन्तिममा शीर्ष २ स्थानमा रहने टोली विश्वकपमा छानिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .