ad ad

राजनीति


बेइजिङमा प्रस्तावः साइबर अपराध रोक्न अन्तरदेशीय गुणात्मक सहकार्य

बेइजिङमा प्रस्तावः साइबर अपराध रोक्न अन्तरदेशीय गुणात्मक सहकार्य

कृष्ण ढुंगाना
भदौ १९, २०७६ बिहिबार १६:१२,

नेपाल सम्वाद साझेदार रहेको बहुराष्ट्रिय मञ्च सांघाई कोपरेशन अर्गनाइजेशन (एससीओ) साइबर अपराध विरुद्ध देशहरुबीच गुणात्मक सहकार्य हुनुपर्ने पक्षमा देखिएको छ।

नेपालसहित दक्षिण एशिया क्षेत्रकै साईबर स्पेस असुरक्षित भएकोमा चिन्ता व्यक्त भइरहँदा चीन, रसीया, भारतसहितका देशहरु सदस्य रहेको बहुराष्ट्रिय संगठन एससीओले साईबर अपराधविरुद्धको साझेदारी नयाँ तहमा पुगेको उल्लेख गरेको हो।

बेइजिङस्थित सचिवालयमा नेपाल, भारत, पाकिस्तान, रसीयासहितका सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै बिहिबार एससीओका महासचिव भ्लादिमिर नुपुरले भने, ‘साइबर स्पेसमा आतंकवादी क्रियाकलाप र दर्शन फैलाउने कामसमेत भएको देखिएको छ। त्यस किसिमका साइबर अपराध निस्तेज पार्न सदस्य राष्ट्रहरुबीच गुणात्मक सहकार्य हुनुपर्दछ।’

संयुक्त राष्ट्रसंघले सन् २०१९ अगस्ट १३ मा एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै भारत, नेपालसहित विश्वका १७ मुलुक उत्तरकोरियाली ह्याकरबाट पीडित रहेको जनाएको थियो। सो प्रतिवेदनले नेपाल, भारसहितका मुलुकले पछिल्ला तीन वर्षमा दुई बिलियन अमेरिकी डलर गुमाएको खुलासा गरेको थियो।

‘यस्तो अवस्थामा एसिया क्षेत्रको साईबर स्पेसमा कसरी शान्ति बनाइराख्न सकिन्छ, साईबर अपराध विरुद्ध एससीओको अडान के रहेको छ’ भन्ने नेपालखबरको प्रश्नको जवाफ दिँदै महासचिव नुपुरले भने, ‘एससीओको अवधारणाले आतंकवादसहित तीन विषयलाई शत्रु शक्तिका रुपमा लिएको छ। साईबर अपराधविरुद्ध एससीओले महत्वपूर्ण सहकार्यको वातावरण निर्माण गर्नेछ।’

सन् २००१ मा स्थापना भएको एससीओमा चीन, भारत, रसीया, पाकिस्तान, ताजकिस्तान तथा उज्वेकिस्तान सदस्य राष्ट्र छन्। नेपाल, श्रीलंका, टर्की, अर्मानिया, अजरवैजान तथा कम्बोडिया यसका सम्वाद साझेदार हुन्।

महासचिव नुपुरले संस्थामा नयाँ सदस्यताका लागि धेरै देशहरुले रुचि देखाइरहेको जानकारी दिए।

‘करिब एक दर्जन मुलुकहरुले एससीओ सदस्य बन्न इच्छा देखाइरहेका छन्। ती मध्ये इजरायल, साउदी अरब, बहराइन, इजिप्ट, कतार, माल्दिभ्स र सिरियाको आवेदनमाथि विचार विमर्श भइरहेको छ’, उनले भने।

स्थापनाको सुरु वर्षहरुमा धेरै काम गरेको यो बहुराष्ट्रिय मञ्च पछिल्लो समय आर्थिक विषयहरुमा समेत केन्द्रित हुँदै गएको छ। एससीओ मुलुकहरुबीच ३०५ बिलियन अमेरिकी डलरको व्यापार रहेको छ।

सन् २०१८ मा यो क्षेत्रको कुल ग्राहस्थ उत्पादन ४.७६ प्रतिशतले वृद्धि हुँदा एससीओ आवद्ध मुलुकहरुको अर्थतन्त्र कुल १८.४ ट्रिलियन डलर भएको थियो। यो भनेको विश्व अर्थतन्त्रको २२.५ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .