युरोपियन च्याम्पियनसिपअन्तर्गत राउण्ड अफ १६ मा सोमबार दुई खेल हुँदै छन्।
युरोकपमा आज क्रोएसिया र स्पेन तथा फ्रान्स र स्विट्जरल्याण्ड भिड्नेछन्।
यसअघि भएको खेलमा बेल्जियम र इटाली तथा चेक रिपब्लिक र डेनमार्कले क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेका छन्।
क्रोएसियाविरुद्ध स्पेन
कोपनहेगनमा आज राति पौने १० बजे हुने खेलमा क्रोएसिया र स्पेन भिड्नेछन्।
समूह चरणको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेका दुवै टोली आजको खेलमा जित निकाल्दै क्वार्टरफाइनलमा पुग्न चाहन्छन्।
समूह ‘डी’मा रहेको क्रोएसिया १ खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी गर्दै ४ अंकमा दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको थियो। क्रोएसियाले स्क्टल्यान्डलाई ३–१ को फराकिलो अन्तरले हराएको थियो।
उता समूह ‘ई’को दोस्रो स्थानमा रहेको स्पेन एक खेलमा जित र दुई खेलमा बराबरी गर्दै ५ अंकमा दोस्रो स्थानमा रहेर अन्तिम १६ मा आएको थियो।
स्पेनले स्लोभाकियालाई ५–० को फराकिलो अन्तरले हराउँदै समूह उपविजेता बनेको थियो।
आजको खेलको विजेताले क्वार्टरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ।
‘हेड टु हेड’लाई हेर्ने हो भने क्रोएसियाभन्दा स्पेन बलियो टोली हो।
स्पेन र क्रोएसियाबीच हालसम्म ८ पटक भेट भएको छ। यी ८ भेटमा चार खेलमा स्पेनले बाजी मारेको छ। ३ खेलमा क्रोएसिया विजय भएको छ। एक खेल बराबरीमा सकिएको थियो।
युरोपियन च्याम्पियनसिपमा यी दुई टोली तेस्रो पटक भेट्नलागेका हुन्। यसअघिको भेटमा एक खेलमा स्पेनले जितेको छ भने एक खेल क्रोएसियाले जितेको छ।
स्पेन र क्रोएसिया सन् २०१८ मा भएको यूईएफए नेसन्स लिगपछि पहिलोपटक भेट्नलागेका हुन्। त्यो खेलमा क्रोएसियाले स्पेनलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो।
फ्रान्सविरुद्ध स्विट्जरल्यान्ड
बुढापेष्टमा मध्यराति पौने १ बजे हुने खेलमा फ्रान्स र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन्।
समूह ‘एफ’को विजेताको रुपमा अन्तिम १६ मा पुगेको फ्रान्स आजको खेलमा जित निकाल्दै क्वार्टरफाइलनमा पुग्ने योजनामा छ।
समूह चरणमा जर्मनीको आत्मघाती गोलको सहयोगमा फ्रान्स विजयी भएको थियो।
उता समूह ‘ए’को तेस्रो स्थानमा रहेर पनि उत्कृष्ट टोली बन्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा पुगेको थियो।
यो खेलको विजेताले अघिल्लो खेलको विजेता अर्थात् क्रोएसिया र स्पेनबीचको खेलको विजेता टोलीसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
अन्तर्राष्ट्रिय फुटबलमा चिरप्रतिद्वन्द्वी टोली सन् २०१६ को युरोपियन च्याम्पियनसिपपछि पहिलोपटक भेट्नलागेका हुन्। त्यो खेल गोलरहित बराबरीमा सकिएको छ।
स्विट्जरल्यान्ड र फ्रान्स सन् १९०५ देखि अहिलेसम्म ३८ पटक भेट भएका छन्। त्यो भेटमा १६ पटक फ्रान्स विजयी भएको छ।
१२ खेल स्विट्जरल्यान्डले आफ्नो पक्षमा पारेको छ। १० खेलको नतिजा भने बराबरीमा टुंगिएको छ।
युरोकपमा यी टोली दुईपटक भेट भएका हुन्। एक खेलमा फ्रान्स विजय भएको छ भने अर्को खेलमा बराबरी नतिजा आएको छ।

प्रतिक्रिया