खेल


युरोकपमा आज समूह ‘ए’का अन्तिम खेल हुँदै, पाैने १० मा भिड्दै छन् यी ४ टाेली

युरोकपमा आज समूह ‘ए’का अन्तिम खेल हुँदै, पाैने १० मा भिड्दै छन् यी ४ टाेली

नेपालखबर
असार ६, २०७८ आइतबार ७:३९,

यूईएफए युरो कपअन्तर्गत समूह चरणका तेस्रो खेलहरु आइतबारदेखि सुरु हुँदै छन्।

युरोकपमा आज आइतबार समूह ‘ए’का दुई खेल मात्र हुनेछ।

एकै समयमा हुने खेलमा इटाली र वेल्स तथा स्विट्जरल्याण्ड र टर्की आमनेसामने हुँदै छन्।

युरोकपमा रहेका ६ टोलीका शीर्ष २ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन्। यस्तै हरेक समूहमा शीर्ष ३ मा रहेकामध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन्।

इटालीविरुद्ध वेल्स
अन्तिम १६ मा स्थान बनाइसकेको इटालीले आज दोस्रो स्थानमा रहेको वेल्ससँग प्रतिस्पर्धा गर्दै छ। खेल रोममा राति पौने १० बजे हुनेछ।

आजको खेलमा इटालीले बराबरी गरे पनि शीर्ष स्थानमा रहनेछ। अन्तिम १६ मा स्थान बनाउनका लागि वेल्सलाई पनि बराबरी नै पर्याप्त हुनेछ।

४ अंकमा दोस्रो स्थानमा रहेको वेल्स इटालीलाई हराउँदै शीर्ष स्थानमा रहेर अघिल्लो चरण पुग्न चाहन्छ।

इटाली र वेल्स अहिलेसम्म ९ पटक भेट भएको छ। यो ९ भेटमा इटालीले ७ पटक वेल्सलाई पराजित गरेको छ।

वेल्सले २ पटक मात्र जित निकालेको छ। युरोपियन च्याम्पियनसिपमा यी टोली पाँचौँ पटक आमनेसामने हुँदै छन्।

युरोकपमा भएको पछिल्लो ४ भेटमा ३ खेलमा इटालीले जितेको छ भने एक मात्र खेल वेल्सले जितेको छ। सन् २००३ पछि पहिलो पटक यी टोली भेट्दै छन्। सन् २००३ मा भएको भेटमा इटालीले वेल्सलाई ४–० ले हराएको थियो।

स्विट्जरल्यान्डविरुद्ध टर्की
समूह ‘ए’को अन्तिम खेलमा आज स्विट्जरल्यान्ड र टर्की खेल्नेछन्। खेल बाकु ओलम्पिक स्टेडियममा राति पौने १० बजे हुनेछ।

स्विट्जरल्याण्डलाई अन्तिम १६ मा स्थान बनाउनका लागि टर्कीलाई पराजित गर्नुपर्नेछ भने त्यसअघि हुने खेलमा वेल्स पराजित हुनुपर्नेछ।

यद्यपि वेल्स पराजित भएर मात्रै पनि स्विट्जरल्याण्डले अघिल्लो चरणमा स्थान बनाउनेछैन।

त्यसको लागि गोल अन्तर पनि आवश्यक छ। आजको खेलमा पराजित भए स्विट्जरल्यान्डको अघिल्लो चरण प्रवेशको सम्भावना सकिनेछ।

टर्की भने पहिलो जितको खोजीमा मैदान उत्रिनेछ।

टर्की र स्विट्जरल्यान्ड सन् २००८ पछि पहिलो पटक भेट हुँदै छ। यी दुई टोलीबीच पहिलो पटक सन् १९५२ मा भेट भएको थियो।

अहिलेसम्मको भेटमा टर्कीले ८ खेल जितेको छ भने ४ खेल गुमाएको छ। ३ खेल भने बराबरीमा सकिएको छ।

युरोपियन च्याम्पियनसिपमा यी टोली छैटौँ पटक भिड्नलागेका हुन्। ५ भेटमा ३ पटक टर्कीले जितेको छ भने एक खेल बराबरी र एक खेल गुमाएको छ।

टर्की र स्विट्जरल्याण्ड सन् २००८ मा भएको युरोकपमा नै अन्तिम पटक भेटेका थिए। सो खेल टर्कीले स्विट्जरल्याण्डलाई २–१ ले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad