ad ad

खेल


विश्वकप छनोटमा भारतभन्दा राम्रो प्रदर्शन गर्दै नेपाल

विश्वकप छनोटमा भारतभन्दा राम्रो प्रदर्शन गर्दै नेपाल

लक्ष्मी जि.सी
जेठ २१, २०७८ शुक्रबार १२:४२,

विश्व क्रिकेटमा १० मध्ये ४ वटा टेस्ट राष्ट्र दक्षिण एसियाकै छन्। तर, विश्व फुटबलमा भने दक्षिण एसियाली राष्ट्रको खासै चर्चा हुँदैन।

विश्व फुटबलमा मात्र होइन, एसियास्तरमा पनि दक्षिण एसियाली टोली निकै कमजोर छन्।

अर्को वर्ष कतारमा हुने विश्वकप छनोट र सन् २०२३ मा आयोजना हुने एसिया कपको छनोट खेलहरु अहिले जारी छ।

त्यहाँ दक्षिण एसियाली राष्ट्रको प्रदर्शन कमजोर छ। फिफा वरीयताका आधारमा भारत दक्षिण एसियाको शीर्ष टोली हो। भारत १ सय ५औँ स्थानमा छ।

त्यस्तै, १ सय ७१औँ स्थानमा रहेको नेपालभन्दा माल्दिभ्स माथि छ। माल्दिभ्स १ सय ५५औँ स्थानमा छ। वरीयतामा अन्य दक्षिण एसियाली राष्ट्र नेपालभन्दा पछाडि छन्।

दक्षिण एसियाली राष्ट्रले विश्वकप छनोटमा गरिरहेको अहिलेसम्मको प्रदर्शनलाई हेर्दा भारतभन्दा नेपाल र माल्दिभ्सले राम्रो प्रदर्शन गरिरहेका छन्।

यद्यपि छनोट चरणका केही खेल अझै बाँकी छन्। दक्षिण एसियाली राष्ट्र विश्वकप छनोट चरणको अर्को चरणमा प्रवेश गर्ने सम्भावना भनेको गणितीय हिसाबले मात्र बाँकी छ।

समूह चरणकै अघिल्ला प्रदर्शनलाई हेर्दा विश्वकप छनोटको अर्को चरणमा पुग्न दक्षिण एसियाली मुलुकको सम्भावना लगभग समाप्त भइसकेको छ।

विश्वकपमा मात्र होइन एसिया कप छनोटको सिधै तेस्रो चरणमा पुग्ने सम्भावना पनि कम देखिएको छ।

समूहको चौथो स्थानमा रहने टोलीले अर्थात् अन्य समूहमा चौथो टोलीको तुलना गर्दा शीर्ष ४ मा पर्ने टोलीले मात्र सिधै एसिया कपको तेस्रो चरणमा प्रवेश पाउनेछ।

अन्यथा तेस्रो चरण पुग्नका लागि पनि दक्षिण एसियाली देशले प्ले अफ खेल्नुपर्ने हुन्छ।

यसपटक विश्वकप छनोटमा ‘ई’ समूहमा रहेको भारतले ६ खेल खेलिसक्दा ३ अंक मात्र जोड्नसकेको छ। टोली आफ्नो समूहको चौथो स्थानमा छ।

सिधै समूह चरणमा प्रवेश पाएको भारतभन्दा नेपाल र माल्दिभ्सले बढी अंक जोडेका छन्।

समूह ‘बी’मा रहेको नेपाल र समूह ‘ए’मा रहेको माल्दिभ्स दुवैले समान २ खेल जित्दै ६ अंक जोडेका छन्।

नेपालले ६ खेल खेलिसकेको छ भने माल्दिभ्सले एक खल कम खेलेको छ। नेपाल र माल्दिभ्स दुवै आफ्नो समूहको चौथो स्थानमा छन्।

नेपालले चाइनिज ताइपेईलाई र माल्दिभ्सले ग्वामलाई दुवै खेलमा हराएका थिए भने अन्य खेल गुमाएका थिए।

भारतले बलियो कतारसँग गोलरहित बराबरी तथा अफगानिस्तान र कतारसँग समान १–१ को बराबरी खेलेको थियो।

नेपालले दुवै खेलमा चाइनिज ताइपेईलाई समान २–० ले हराएको थियो। माल्दिभ्सले ग्वामलाई ३–१ र १–० ले हराएको थियो।

दक्षिण एसियाका अन्य राष्ट्रको अवस्था त्योभन्दा पनि कमजोर छ। श्रीलंका र बंगलादेश प्लेअफबाट अघि बढ्दै समूह चरणमा पुग्दा पाकिस्तान र भुटानले भने प्लेअफ नै पार गर्न सकेनन्।

छनोटमा भारतसँगै समूह ‘ई’मा रहेको बंगलादेशले २ अंक जोडेको छ र टोली समूहको पुछारमा रहेको छ।

बंगलादेशले भारत र अफगानिस्तान दुवैसँग समान १–१ को बराबरी खेलेको थियो। समूह ‘एच’मा रहेको श्रीलंकाले भने खेलका सबै खेल गुमाएको छ।

चाइनिज ताइपेईविरुद्ध फेरि अन्जन चम्किए
इराकसँग गत साता मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली विश्वकप र एसिया कप छनोटका लागि कुवेत पुगेको थियो।

जोर्डन र अष्ट्रेलियाको सामना गर्न बाँकी रहेको नेपाली टोलीले चाइनिज ताइपेईलाई भने फेरि पनि हराएको छ।

बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेलाई २–० ले हराएको थियो।

यसअघि पनि सोही अन्तरमा नेपाल विजयी भएको थियो। नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे।

अन्जनले तेस्रो मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। यसअघिको जितमा पनि दुवै गोल अन्जनले नै गरेका थिए। टोलीका लागि दोस्रो गोल नवयुगले दोस्रो हाफमा गरेका थिए।

समूहमा ६ खेल खेलिसकेको नेपाल ६ अंकसहित चौथो स्थानमा छ। अंक विहिन चाइनिज ताइपे पुछारमा छ। शीर्षस्थानको अष्ट्रेलियाको १५ अंक छ भने कुवेत र जोर्डनको समान १० अंक छ। कुवेतसँग पहिलो खेलमा ७–० को हार व्यहोरेको नेपालले दोस्रो खेल पनि १–० ले गुमाएको थियो।

नेपाल अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो। नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रा सक्नेछ।

जित स्वाथ्यकर्मीलाई समर्पण
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेईविरुद्धको जित कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अब्दुल्लाहले भने, ‘यो जित नेपाली समर्थकका लागि हो। विशेष गरेर अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि हो। उहाँहरुको मिहिनेतका कारण नै हाम्रो खेलाडी यहाँसम्म आउन सके।’

कुवेती प्रशिक्षकले जित नेपाल मात्र नभई कुवेतको लागि पनि उत्तिकै खुसीको कुरा भएको बताए।

उनले थपे, ‘मैले नेपाल र कुवेत दुवैको प्रतिनिधित्व गरिरहेको छु।’

अन्जनले भने व्यक्तिगत रुपमा आफूले गोल गर्नुभन्दा पनि टोलीको जित महत्वपूर्ण रहेको बताए।

‘प्रशिक्षकको रणनीतिअनुसार खेलेका थियौँ, त्यसमा सफल भयौँ’, २ खेलमा चाइनिज ताइपेईविरुद्ध ३ गोल गरेका अन्जनले भने, ‘जोर्डन र अष्ट्रेलिया अझै बलियो छन्, त्यसको लागि हामीले राम्रो गर्नु छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .