खेल


विश्वकप छनोटको लागि नेपाली टोली कुवेतमा, पहिलो खेल चाइनिज ताइपेईसँग

विश्वकप छनोटको लागि नेपाली टोली कुवेतमा, पहिलो खेल चाइनिज ताइपेईसँग

नेपालखबर
जेठ १९, २०७८ बुधबार ८:५०,

कोरोना महामारीका कारण पटक–पटक स्थगित हुँदै आएको विश्वकप छनोटको दोस्रो चरणको समूह बीका खेलहरु बिहीबारबाट सुरु हुँदै छन्।

समूह चरणका ८ मध्ये ५ खेल खेलिसकेको नेपाल बाँकी ३ खल खेल्न कुवेत पुगिसकेको छ।

न्यूट्रल भेन्युका रुपमा कुवेतमा हुने छनोट खेलमा नेपालले पहिलो खेलमा चाइनिज ताइपेईसँग खेल्दै छ।

गत साता इराकसँग एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोली आइतबार कुवेत पुगेको हो।

नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रा सक्नेछ।

विश्वकप छनोटमा अघिल्लो चरण पुग्ने नेपालको गणितीय सम्भावना मात्र जीवित छ। बाँकी छनोट खेलबाट नेपालले एसिया कप छनोटको सम्भावना बाँकी छ।

त्यसका लागि बाँकी तीन खेलमा आउने नतिजामा भर पर्दछ।

समूह चरणमा नेपाल ३ अंकसहित चौथो स्थानमा छ। अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ।

नेपालभन्दा पछि रहेको चाइनिज ताइपेई अंकविहीन छ।

विश्वकप छनोटका ५ खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराउनुबाहेक बाँकी सबै टोलीसँग पराजित भएको थियो।

कुवेतसँग पहिलो खेलमा ७–० को हार व्यहोरेको नेपालले दोस्रो खेल पनि १–० ले गुमाएको थियो। नेपाल अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो।

एसियाको पावर हाउसका रुपमा रहेको अष्ट्रेलिया फिफा वरीयताको ४१औँ स्थानमा छ भने जोर्डन ९५औँ स्थानमा छ। त्यस्तै चाइनिज ताइपेई १ सय ४१औँ र नेपाल १ सय ७१औँ स्थानमा छ।

नेपालले अष्ट्रेलिया र जोर्डनलाई अहिलेसम्म हराउनसकेको छैन। सन् २०११ मा काठमाडौंको दशरथ रंगशालामा भएको विश्वकप छनोटमा जोर्डनसँग एक–एकको बराबरी गर्नु नै नेपाल उच्च प्रदर्शन हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad