नेपाल सुपर लिगका लागि फ्रेन्चाइज टोली धनगढी एफसीले नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई प्रशिक्षकमा अनुबन्ध गरेको छ।
गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले २०७५ सालमा शहिद स्मारक ए डिभिजन लिगको उपाधि जिताएका फुजालाई प्रशिक्षकमा अनुबन्ध गरेको प्रेस विज्ञप्ती मार्फत जनाएको हो।
सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए।
त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए। गत वर्ष मनाङ तेस्रो स्थानमा रहँदा फुजा नै प्रशिक्षकमा थिए।
पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगितामा धनगढी एफसीको प्रशिक्ष्ँकमा तोपे फुजालाई आबद्ध गर्न पाउँदा खुसी लागेको गो ड्रिमर्सका प्रमुख सुवास शाहीले बताए। उनले भने, जीवन नै फुटबलमा बिताइरहेका उनले नेपालसहित दक्षिण एसियाली फुटबललाई नजिकबाट हेरिरहेका छन्, नेपाली खेलाडीहरूको स्तर र क्षमताबारे जानकार छन्। उनको अगामनले धनगढी एफसीेले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ।
प्रशिक्षक फुजाले नेपाल सुपर लिगको पहिलो संस्करणमा नै महत्वपूर्ण जिम्मेवारी पाउँदा उत्साहित रहेको सुनाए।
उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका बिदेशी खेलाडीहरूले गर्दा मलाई धनगढी एफसीमा सामेल हुने आग्रह स्वीकार्न समय लागेन। क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु। र, हाम्रो लक्ष्य उपाधि जित्ने नै हो।

प्रतिक्रिया