खेल


रोनाल्डोको ह्याट्रिकमा क्याग्लिएरीविरुद्ध युभेन्टसको सहज जित

रोनाल्डोको ह्याट्रिकमा क्याग्लिएरीविरुद्ध युभेन्टसको सहज जित

नेपालखबर
चैत २, २०७७ सोमबार २:२०,

फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा क्याग्लिएरीविरुद्ध ३–१ को सहज जित हासिल गरेको छ।

आइतबार राति भएको खेलमा रोनाल्डोले ३३ मिनेटमै ह्याट्रिक पूरा गरेपछि युभेन्टसले सजिलै जितेको हो। घरेलु टोलीका लागि जियोभानी सिमिओनले सान्त्वना गोल फर्काए।

रोनाल्डोले खेलको १०औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। २४औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै २–० को अग्रता कायम गरे।

गोलरक्षक एलेसिओ क्राग्नोले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। ३३औं मिनेटमा पुनः अर्को गोल थप्दै रोनाल्डोले ह्याट्रिक गरे। युभेन्टसका लागि लिगमा यो उनको दोस्रो ह्याट्रिक हो। 

६१औं मिनेटमा जियोभानी सिमिओनले सान्त्वना गोल फर्काए।

रोनाल्डोले इटालियन लिगको जारी सिजनमा २३ गोल गरिसकेका छन्। उनी लिगको सर्वाधिक गोलकर्ता सूचीको शीर्ष स्थानमा छन्।

जितसँगै युभेन्टस २६ खेलबाट ५५ अंक जोडेर तेस्रो स्थानमै छ। युभेन्टस शीर्ष स्थानको इन्टर मिलानसँग १० अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग १ अंकले पछाडि छ। पराजित क्याग्लिएरी २२ अंक जोडेर १७औं स्थानमा छ।

गएराति भएका अन्य खेलमा इन्टर मिलानले टोरिनोलाई २–१, बोलोग्नाले साप्डोरियालाई ३–१, पर्माले रोमालाई २–० तथा नेपोलीले एसीमिलानलाई १–० ले पराजित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad