चैत २ अर्थात् भोलिदेखि सुरु हुने देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताको सह–प्रायोजन गंगादेवी बस्त्रालयले गर्ने भएको छ।
स्पिन इभेन्टरस प्रा ली. र गंगादेवी बस्त्रालयबीच आइतबार काठमाडौंमा प्रतियोगिताको लागि सहप्रायोजन गर्ने सम्झौता भएको हो।
सम्झौतपत्रमा स्पिन इभेन्टरस प्रालिका तर्फबाट सुमन शाक्य र गंगादेवीका तर्फबाट प्रकाश बर्तौलाले हस्ताक्षर गरेका छन्।
सह प्रायोजनकको रुपमा जोडिन लागेको गंगादेवी बस्त्रालयले प्रतियोगिताको कुल ३० प्रतिशत बजेट बराबर ५ लाख ५० हजार रुपैयाँ आयोजकलाई प्रदान गर्नेछ। मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रा.लि रहेको प्रतियोगितामा नेपालभरका वडाहरुबाट पुरुषमा २६ टिम सहित ४ सय ३३ र महिलामा ८ टिम सहित ९० जना खेलाडीहरुले सहभागीता जनाउने छन्।
प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला र पुरष एकल, भेट्रान सिंगल्स (४० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) गरेर ६ विधामा प्रतिस्पर्धा हुन छ। वर्तमान वरियताका शीर्ष १६ मा रहेका नेपाली टेबल टेनिस खेलाडी भने सहभागी हुनेछैनन्।
प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ छ। पुरुष र महिला सिंगल्समा प्रथम हुनेले ३० हजार नगद पुरस्कार पाउने छन्। दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन्।
त्यस्तै भेट्रान्स एकलतर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रोले २५ सय नगद पुरुस्कार पाउने छन्। पदकतालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडाले नगद पँचास हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछन्।
चैत ७ सम्म आयोजना हुने प्रतियोगिता काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

प्रतिक्रिया