नेपाल भलिबल संघले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा आगामी चैत १९ देखि २६ गतेसम्म पाँचौँ आरबीबी–एनभीस महिला तथा पुरुष भलिबल लिग सञ्चालन गर्ने भएको छ।
लिगमा पुरुषतर्फ आठ र महिलातर्फ छवटा टोलीले सहभागिता जनाउने संघले जनाएको छ।
पुरुषतर्फ एचएनएससी क्लब, एपीएफ क्लब, नेपाल प्रहरी, नेपाली सेनाको त्रिभुवन क्लब, नयाँबजार सामाजिक युवा क्लब, वृद्धटोल भलिबल क्लब, मणिमुकुन्द क्लब (बुटवल) र बुलबुले रारा क्लब सहभागी हुनेछन्। त्यस्तै महिलातर्फ एपीएफ, नेपाली सेना, नेपाल प्रहरी, न्यु डाइमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद् गरी छ टोली सहभागी हुने संघले जनाएको छ।
लिगकाे शीर्षस्थानमा रहने दुइ टाेलीले फाइनल खेल्नेछन्।
भलिबल खेललाई व्यवसायीकरण गर्ने उद्देश्यले गरिनलागेको प्रतियोगितामा पहिलो हुने टोलीलाई ३ लाख, दोस्रोलाई १ लाख ५० हजार, तेस्रो हुने टोलीलाई ७५ हजार र चौथो हुनेलाई ३७ हजार ५ सय रुपैयाँ दुवै विधातर्फ पुरस्कृत गरिनेछ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई पुरुष/महिला दुवैतर्फ २५/२५ हजार प्रदान गरिनेछ भने उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकलाई जनही १०/१० हजार प्रदान गरिने संघले जनाएको छ।
प्रतियोगिताबाट उत्कृष्ट प्रतिभावान् खेलाडी देखिए त्यो खेलाडीलाई संघको छनोट समितिले राष्ट्रिय टिम प्रशिक्षणको लागि छनोट समेत गर्नसक्नेछ।
प्रतियोगितामा योपटक पुरस्कार रकम कुल १२ लाख ९५ हजार पुगेको संघले जनाएको छ। पहिला विजेताले २ लाख ५० पाउँथ्यो भने अहिले ३ लाख रुपैयाँ पुर्याइएको हो।
संघले उपत्यकाबाहिरबाट आउने टोलीलाई तयारी र यातायात खर्चस्वरुप ५० हजार रुपैयाँ दिनेछ।

प्रतिक्रिया