फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४–१ को शानदार जित हासिल गरेको छ।
यूईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनालाई पराजित गरेकोहो।
खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गरेको थियो तर एमबाप्पेले शानदार ह्याट्रिक गरेपछि बार्सिलोना घरेलु मैदानमै लज्जास्पद हार हार बेहोर्न बाध्य भएको हो।
पहिलो हाफमा बराबरी गोल फर्काएका एमबाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका हुन्। मोइस किनले अर्को गोल थपे।
खेलको २७औं मिनेटमा मिडफिल्डर फ्रेन्की डे जोङ पेनाल्टी क्षेत्रभित्र डिफेन्डर लेभिन कुर्जावाको खुट्टामा अल्झेर लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
त्यसपछि मेस्सीले गोल गर्दै घरेलु टोलीलाई अघि त बढाए तर तर त्यो ५ मिनेट पनि टिक्न सकेन।
खेलको ८५औं मिनेटमा ह्याट्रिक पूरा गरेका एमबाप्पेले जर्मन मिडफिल्डर जुलियन ड्राक्स्लरले दिएको अन्तिम पासलाई पहिलो टचमै पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै आफ्नो टोलीलाई ४–१ को जित दिलाएका हुन्।
अब पीएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल मार्च १० तारिख पेरिसमा हुनेछ।

प्रतिक्रिया