चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ।
हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेस भए पनि निर्माण भने रोकिएको छैन। रंगशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो।
रंगशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेसनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म रु ४१ करोड ८८ लाख चार हजार ९३६ खर्च भइसकेको छ। सोमध्ये सोमबारसम्म प्राप्त बिलअनुसार रु नौ करोड २५ लाख भुक्तान गर्न बाँकी छ। हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उनको भनाइ छ। उनका अनुसार माघ मसान्तसम्म रु १० करोडभन्दा बढी उधारो हुनेछ।
हालसम्म रंगशाला निर्माणका लागि रु ३१ करोड ८३ लाख ८३ हजार आम्दानी भएको छ। सबैभन्दा बढी भरतपुर महानगरपालिकाले रु आठ करोड, बागमती प्रदेश सरकारले रु तीन करोड सहयोग गरेका छन्।
महायज्ञमा बोलकबोल रु ६९ करोड ४५ लाख ५६ हजार भएकामा जम्मा रु नौ करोड ११ लाख ६५ हजारमात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिए। महायज्ञमा रु एक करोडभन्दा बढी आठवटा संस्थाले कबोल गरेका थिए। बागमती प्रदेश सरकारले रु ३० करोड, भरतपुर महानगरपालिकाले रु १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख, वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले रु एक करोड, गैँडाकोट नगरपालिकाले रु एक करोड बराबरको काठ, नेपाल पोल्ट्री महासंघले रु एक करोड र ग्लोबल आइएमई बैंकले रु एक करोड बोलकबोल गरेका थिए।
ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासघले रु ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिए।
महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड–१९ का कारण रकम उठ्न ढिलाइ भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउछन्। रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउण्डेशनलाई बुझाइएको उनले जानकारी दिए।
बागती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७/७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले जानकारी दिए। जिल्लाका अन्य केही पालिकाले कबोलको रकम पठाएको भए पनि केहीको बाँकी छ। महायज्ञमा सहयोग रकम बोल्ने सांसददेखि व्यापारीसम्मले रकम भुक्तानी गरेका छैनन्।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले बजेट अभाव हुँदा सोचे जसरी कामलाई अघि बढाउन नसकेको बताए। उनले भने, ‘रकमको जोहो हुने निश्चित स्रोत छैन, बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौँ।’ उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको उनको भनाइ छ। कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ।
निर्माण सामग्री खरिद गर्ने एउटै फार्मसँग ठूलो रकम हुँदा आफूहरुलाई पनि थप सामान ल्याउन समस्या हुने गरेको कट्टेलले बताए। महायज्ञको रकम सबै उठेमा पनि तत्काललाई समस्या समाधान हुने उनको भनाइ छ। उधारोमै सामान ल्याएर भए पनि काम नरोकेको कट्टेल बताउछन्।
रकम अभावकै कारण रंगशाला निर्माणमा खटिने कामदारको संख्या समेत घटाइएको छ। पहिले ३१३ जनासम्म कामदारले काम गर्दै आएकामा पछिल्लो समय घटाएर १३५ जना मात्रैले काम गरिरहेका छन्। रकम अभाव भए पनि चाडपर्वदेखि कोभिडको समयमा समेत कामलाई भने निरन्तरता दिइएको छ।
रंगशाला निर्माण सम्पन्न गर्न करिब रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ। हाल रंगशालाको मैदान र प्यारापिटको काम भइरहेको छ। गत साउन १ गतेदेखि संरचनाको काम शुरु गरिएको रंगशाला एक वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उनले भने, ‘महायज्ञको बोलकबोल र घोषित रकम प्राप्त भएमा लक्ष्यअनुसार काम हुने थियो।’ महायज्ञबाहेक रंगशाला निर्माणका क्रममा विभिन्न व्यक्ति र संस्थाले सहयोग घोषणा गरेको रकम रु चार करोड हाराहारी उठ्न बाँकी छ।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा रंगशाला निर्माणका लागि उपलब्ध गराइएको हो। भरतपुर महानगरपालिका–१५ मा रंगशाला निर्माण भइरहेको छ। जग्गा दिलाउन र यहाँ रंगशाला निर्माणका लागि महानगरपालिकाले अगुवाइ गरेको थियो। महानगरपालिकाकै आग्रहमा फाउन्डेसनले रंगशाला निर्माण थालेको हो। रासस
Shares

प्रतिक्रिया