पाँच नयाँ अनुहारलाई समेट्दै ओमानमा हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजको लागि ३२ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
नेपाल क्रिकेट संघ क्यानले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सिरिजका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
बन्द प्रशिक्षणमा १५ वर्षीय युवा ब्याट्सम्यान अर्जुन कुमालसहित तीव्र गतिका बलर अनुज चुनारा, युवा अलराउन्डर विवेक यादव, ओपनर हरि शंकर शाह र खडक बहादुर बोहरा पहिलो पटक टोलीमा परेका छन्।
सिरिजका लागि नयाँ अनुहारसँगै पृथु बास्कोटा, सुनिल धमला, कृष्ण कार्की र सौरभ खनालले टोलीमा पुनरागमन गरेका छन्।
क्यानले यसै साता सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रर्दशनलाई आधार मानेर खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। टोलीमा युवा खेलाडीले स्थान बनाउँदा अनुभवी ब्याट्सम्यान ओपनर सुबास खकुरेल र स्पिनर वसन्त रेग्मी भने सुरुवाती टोलीमै अटाएका छैनन्।
बन्द प्रशिक्षणमा बोलाईएका पाँच नयाँ अनुहारमा गण्डकी प्रदेशबाट प्रतियोगिता खेलेका ओपनर १५ वर्षिय अर्जुन, प्रदेश २ का ओपनर हरि शंकर शाह र प्रदेश २ का अलराउन्डर विवेक यादव छन्।
विवेक प्रतियोगिता उदियमान खेलाडी घोषित भएका थिए। यस्तै सुदूरपश्चिमका खडक बोहरा, कर्णाली प्रदेशका तीव्र गतिका बलर अनुज चुनारा छन्।
नेपालले मार्च १९ देखि २८ सम्म (चैत्र ६ देखि १५) ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ। आइसिसी वल्र्ड कप सुपर लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच एकदिवसीय त्रिकोणात्मक सिरिज हुने छ।
सिरिजका लागि पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित नारायण राजवंशी, हरि शंकर शाह, विवेक यादव, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खडक बहादुर बोहरा, अनुज चुनारा र पवन सरार्फ माघ २४ गतेदेखि सुरु हुने पहिलो चरणको प्रशिक्षण क्याम्पमा सहभागी हुनेछन्।
शरद भेषावकर, अभिनास बोहरा, आरिफ शेख, दीपेन्द्र ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल केह समयपछि प्रशिक्षणमा सहभागी हुने क्यानले जनाएको छ।
Shares

प्रतिक्रिया