ad ad

खेल


सम्झौता अन्त्य गरेसँगै दिल्ली क्यापिटल्स र आईपीएलबारे सन्दीप लामिछानेले दिए यस्तो प्रतिक्रिया

सम्झौता अन्त्य गरेसँगै दिल्ली क्यापिटल्स र आईपीएलबारे सन्दीप लामिछानेले दिए यस्तो प्रतिक्रिया

नेपालखबर
माघ ८, २०७७ बिहिबार १३:४,

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) र दिल्ली क्यापिटल्सबाट आफूले ठूलो सहयोग पाएको बताएका छन्।

दिल्ली क्यापिटल्सले आईपीएलका लागि सन्दीपसँगको अनुबन्ध अन्त्यको घोषणा गरेको भोलिपल्ट उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘आईपीएल र खासगरी दिल्ली क्यापिटल्सले मलाई निकै योगदान दिएको छ जसले ममाथि विश्वास गर्‍यो र एउटा मौका दियो,’ सन्दीपले बिहीबार ट्विटरमा लेखेका छन्, ‘यी स्मरणीय तीन वर्षका लागि डीसी परिवारका सबैजनाप्रति म धन्य छु।’

आफूलाई पहिलोपटक छनोट गर्ने हेमन्त दुआलाई विशेष स्मरण गर्न चाहेको उनले बताएका छन्। उनले यो क्रममा आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। 

दिल्ली क्यापिटल्सले सन्दीपलाई सन् २०१८ मा तीन वर्षका लागि ३२ लाख नेपाली रुपैयाँमा सम्झौता गरेको थियो।

सो सम्झौता उसले अब यो वर्षदेखि नवीकरण नगर्ने घोषणा गरेको छ।

दिल्लीले सन्दीपलाई फुकुवा गरेसँगै अन्य टोलीमा जानका लागि उनलाई अब बाटो खुलेको छ।

यो पनि: सन्दीप लामिछानेसँग सम्झौता नवीकरण नगर्ने दिल्ली क्यापिटल्सको घोषणा

सन्दीपले यो सिजनको आईपीएल खेलहरु हुँदा पुरै समय बेन्चमा बसेर बिताएका थिए।

दिल्लीले सन्दीपसँगै इंग्ल्यान्डका ओपनर जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फुकुवा गर्ने निर्णय गरेको छ। यस्तै अष्ट्रेलियाका विकेट किपर ब्याट्सम्यान एलेक्स केरी, गुयानाका अलराउण्डर खेलाडी किमो पउल र भारतीय बलर तुसार देशपाण्डेलाई पनि रिलिज गरेको छ।

दिल्लीले यो सिजनमा तिब्र गतिका बलर डानियल साम्सलाई रोयल च्यालेञ्जर्स बैंगलोरमा बिक्रि गर्ने भएको छ। यस्तै विस्फोटक ब्याट्सम्यान मार्कुस स्टोनिसलाई भने टिममा राख्ने निर्णय गरेको छ।

सन् २०१८ मा तीन खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिएका थिए। २०१९ को आईपीएलमा उनले ६ खेलमा ८ विकेट झारेका थिए।

आईपीएलमा सहभागी सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार औपचारिक रुपमा सार्वजनिक गरेका हुन्।

आईपीएलका लागि नयाँ अक्सन (खेलाडी किन्ने घोषणा) फेब्रुअरी दोस्रो साता हुने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .