आयोजक संस्कार क्रिकेट एकेडेमीले लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करण यस वर्ष कार्तिक १६ देखि ३० गतेसम्म सञ्चालन हुने जनाएको छ । संघीय प्रहरी इकाईको मैदानमा हुने प्रतियोगिताको विजेता टिमले नगद दुई लाख र उपविजेता टिमले नगद एक लाख रुपैयाँ सहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रतियोगितामा कैलाली, कञ्चनपुर, बाँके काठमाण्डौं, भक्तपुर लगायतका जिल्लाका गरी १३ विद्यालयको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
विद्यालय स्तरीय सो प्रतियोगितामा विद्यालयले कक्षा १० सम्म पढ्ने १० जना खेलाडी र चार जना नेपालका १९ वर्षमुनिका खेलाडी अनिवार्य रुपमा समावेश गराउनु पर्ने जनाइएको छ । प्रतियोगिता लिग कम नक आउट फरम्याटमा खेलाइने आयोजकाले जानकारी दिएको छ ।
तल्लो स्तरबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । ‘धनगढीलाई साँच्चिकै क्रिकेटको सहर बनाउन यस्ता थुप्रै प्रतियोगिता सञ्चालन गर्न आवश्यक छ’, उनले भने ‘धनगढीलाई क्रिकेटको नर्सरीको रुपमा चिनाउन थुप्रै प्रतियोगिता सञ्चालनमा सबैको ध्यान जानुपर्दछ ।’
उनले धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग जस्ता फ्रेन्चाइजी प्रतियोगिता खेल्न नपाएका खेलाडीहरुले एलपीएल खेल्न पाउने ठूलो आश गर्ने गरेको बताए।
निस्ट कलेल लिटल फ्लावर लिग–४ समापनपछि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका १० कक्षासम्ममा अध्ययनरत विद्यार्थी खेलाडी छनोट गरी एक दिवसीय निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रतिक्रिया