प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देहीले लगातार दोस्रो जित निकालेको छ।
शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा रुपन्देहीले कपिलवस्तुलाई ७९ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ३८ ओभरको खेलमा ८ विकेट गुमाई १६७ रनको योगफल बनायो।
उसका लागि संदीप रजालीले ३९, देव खनालले ३३, संदीप सुनारले २७, विक्रम भुसालले नटआउट १७ र कृष्ण कार्कीले १६ रन बनाए।
बलिङमा कपिलवस्तुका दुर्गेश कुर्मीले ४, गंगेशकुमार हरिजनले २, राज अग्रहरी र रमेश पाठकले १/१ विकेट लिए। जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २७.३ ओभरमा सबै विकेट गुमाई जम्मा ९८ रन मात्र बनाउन सक्यो। उसका लागि रमेश पाठकले २०, राज अग्रहरीले १४ र सुमन थापाले १३ रन बनाए।
उसलाई सस्तैमा समेट्न बलिङमा रुपन्देहीका अनिल खरेल र विक्रम भुसालले ३÷३ तथा कृष्ण कार्की, दुर्गेश गुप्ता, नितेष थापा र संदीप सुनारले समान १/१ विकेट लिए। रुपन्देहीका विक्रम भुसाल म्यान अफ द म्याचबाट पुरस्कृत भए । भोलि नवलपरासी र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ।
गु्रप ए अन्तरगत रुपन्देही, पाल्पा, कपिलबस्तु, नवलपरासीका खेलहरु भैरहवामा सुरु भएको हो। ग्रुप बि अन्तरगत बाँके, दाङ र बर्दिया जिल्लाका खेलहरु दाङको देउखुरीमा भोलिबाट हुँदैछ।
नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाण्डौमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ।
Shares

प्रतिक्रिया