कारोबार


महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा निर्वाचित

महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा निर्वाचित

प्रकाश न्यौपाने
पुस २५, २०७७ शनिबार १६:३७,

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका उद्योगी कृष्णप्रसाद शर्मा बिजयी भएका छन्।

शनिबार भैरहवामा सम्पन्न तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष पदका प्रत्यासी बुटवलका उद्योगी शुरेन्द्रप्रसाद श्रेष्ठलाई अत्याधिक मतान्तरले पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन्।

शर्माले एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मत मध्ये २२ मत प्राप्त गरि अध्यक्ष निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता बाबुराम पाण्डेले जानकारी दिए।

महासंघको प्रदेशको अन्य पदाधिकारी र सदस्य भने यसअघि नै निर्विरोध रुपमा निर्वाचित भइसकेका थिए। महासंघको दुई उपाध्यक्षमा जिल्ला नगरतर्फ बालकृष्ण सुवेदी, एशोसिएटतर्फ दीपककुमार पौडेल र कोषाध्यक्षमा रत्नप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्।

यस्तै, जिल्ला नगर सदस्यहरुमा भीमबहादुर श्रेष्ठ, भोजेन्द्र ढकाल, ज्ञामुराम न्यौपाने, तर्कबहादुर शाह र रामसिंह थारु निर्विरोध निर्वाचित भए। एशोसिएट सदस्यमा अमित गोयन्का र गोपाल भट्टराई निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष शर्माले निर्वाचित भएलगत्तै पुरुषतर्फ बाँकेका उद्योगी नरेन्द्र शर्मा र महिलातर्फ नवलपरासीकी उद्योगी तारा आचार्यलाई सदस्यमा मनोनीत समेत गरेका छन्।

२०५१ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघमा आबद्ध भएका शर्मा संघको २०६२–२०६४ सम्म अध्यक्ष भएर काम गरेका थिए। यस्तै, २०६४–२०६६ सम्म तत्कालीन लुम्बिनी अञ्चलको महासंघमा रहेर प्रतिनिधिका रुपमा काम गरेका थिए। २०६७–२०७७ सम्म उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य भएर काम गरेका थिए।

महासंघको प्रदेश सचिवालयको संस्थागत सुधार, सबै जिल्ला, नगर उद्योग वाणिज्य संघलाई संघीय संरचनाअनुसार स्थानीयदेखि केन्द्रसम्मको संजाल स्थापना गर्ने र संस्थागत विकास गर्ने, उद्योगी व्यवसायीको समस्या समाधानमा पहल गर्ने, समुन्नत प्रदेशको कृषि, पर्यटन क्षेत्रको विकासमा लाग्ने, कर, राजश्व, भन्सार, विद्युत लगायतका व्यवसायिक समस्या समाधानमा लागि पर्ने लगायतका एजेन्डा तय गरेर शर्मा चुनावमा होमिएका थिए।

अध्यक्ष निर्वाचित भएपछि शर्माले उद्योगी व्यवसायीको हकहीतमा र संस्थागत विकासमा सबैको सहकार्यमा अघि बढ्ने बताए।

‘म प्रदेशको सबै उद्योगी व्यवसायीको प्रतिनिधि हुँ, तपाईंहरुका हरेक समस्यासँग परिचित छु, समस्या समाधान पहल गर्छु’, उनले भने।

शर्माले निर्वाचिनमा हारजित स्वभाविक भएको बताउँदै अध्यक्षका प्रत्यासी श्रेष्ठलाई साथमा लिएर सल्लाहसुझाव सहित अघि बढ्ने प्रतिबद्धता जनाए। राज्य र व्यवसायी एकअर्काको परिपूरक भएको बताउँदै उनले व्यसायी सफल भए राज्यलाई पनि सहज हुने र आर्थिक समृद्धि हासिल हुने जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad