खेल


कहिले बन्ला भैरहवा अन्तर्राष्ट्रिय क्रिकेट मैदान?

कहिले बन्ला भैरहवा अन्तर्राष्ट्रिय क्रिकेट मैदान?

प्रकाश न्यौपाने
असोज ६, २०७७ मंगलबार १०:५७,

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानलाई स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरेको ९ वर्ष वितिसकेको छ। तर, पर्याप्त बजेट नहुँदा काम भने सुस्त गतिमा छ। प्रत्येक वर्षजसो राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बजेट छुट्याउने गरे पनि त्यो पर्याप्त छैन। थोरै बजेट छुट्याउँदा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्न कति वर्ष लाग्ने हो भन्ने टुंगो छैन।

स्थानीयस्तरमै बनेको अन्तर्राष्ट्रिय मैदानमा क्रिकेट खेल्ने सपना बोकेका यहाँका कयौं खेलाडीहरु, खेल पर्यटनको विकास हुन्छ भन्ने आशामा बसेका पर्यटन व्यवसायी र स्थानीय भने निर्माणमा भएको ढिलाइले निरास छन्।

प्रत्यके वर्ष आवश्यकताभन्दा निकै कम बजेट मैदान स्तरोन्नतीका लागि आउने गरेको छ। जसले गर्दा मैदान निर्माणको प्रगति खासै देखिएको छैन।

‘काठमाडौं बाहिर धेरै बजेट पाउने र राम्रो प्रगति हासिल गरेको सिद्धार्थ रंगशाला हो, तर रंगशालालाई छिटो सम्पन्न गर्न आवश्यक बजेट भने उपलब्ध छैन। यसैले अब एकैपल्ट टेन्डर गरी बहुवर्षीय योजनामा लगेर यसको निर्माण सक्नुपर्छ’, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले भने।

क्रिकेट मैदानमा अहिलेसम्म ९ करोड ५९ लाख रुपैयाँ खर्च भइसकेको छ। २०६८ सालदेखि सुरु गरिएको मैदान स्तरोन्नतीकोे काम भने कछुवा गतिमा छ। मैदानमा ११ हजार दर्शक अट्ने गरी प्याराफिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डीपीआर बनाइ काम गरिरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को न्यूनतम मापदण्डअनुरुपको मैदान बनाउन कम्तिमा ५० करोड रुपैयाँ लाग्ने जनाइएको छ। तर बजेट भने निकै कम उपलब्ध गराइँदै आएको छ।

नौं वर्षसम्म पनि १० प्रतिशत काम हुन नसकेको मैदानमा वर्सेनि आउने एक/दुई करोड रुपैयाँले कहिलेसम्म डीपीआरअनुसार अन्तर्राष्ट्रिय स्तरको मैदान बन्ने हाे भन्ने अत्तोपत्तो छैन। यही गतिमा काम हुने हो भने अझै २५ वर्ष मैदान अन्तर्राष्ट्रियस्तरको नहुने खेल क्षेत्रका अगुवा बताउँछन्।

‘थोरै बजेट आउँदा प्रत्येक वर्ष टेन्डर गरी फरकफरक ठेकेदारलाई ठेक्का दिइएको छ। बारम्बार ठेकेदार परिवर्तन हुँदा पनि कामले चाहेजति गति लिन सकेन। बहुवर्षीयमा गई एउटै ठेकेदारबाट काम गर्नुपर्छ’, मल्लले भने।

मैदानको स्तरोन्नतीका लागि चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट छुट्याइएको छ। तर, त्यो रकमबाट के काम गर्ने भन्ने अझैसम्म टुंगो लागेको छैन।

‘बजेट आएको छ तर के गर्ने भन्नेबारे अझै थाहा छैन। छलफल भइरहेको छ के काम गर्ने भन्ने छिट्टै टुंगो लाग्छ’, मल्लले भने।

सात बिगाहा क्षेत्रफलभित्र बनाउन लागिएको क्रिकेट मैदानमा २०६८ मा एक करोड १९ लाख रकम खर्च गरेर प्याभेलियन भवन बनाइएको थियो। त्यसपछि मैदान सम्माउन मात्रै तीन वर्ष लगाइयो।

यहाँ अहिलेसम्म प्याभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, १ करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर र भवन मर्मत गरिएको छ।

bhairahawa-cricket-maidan1.jpg

आब ०७६।०७७ मा आएको ४ करोड रुपैयाँबाट काठमाडौंको कुमार गिरी कन्ट्रक्सनले ३ करोडमा ठेक्का सम्झौता गरी हल, खेलाडी बस्ने ठाउँ शौचालयसहितको तीन तल्ले भीआईपी प्याराफिट निर्माण गरिरहेको छ। यही असोज मसान्तसम्म निर्माण सक्ने भनिए पनि कोरोना महामारीका कारण उक्त प्याराफिट निर्माण अझै ४/५ महिना लम्बिने साइड इन्जिनियर योगानन्द चौधरीले बताए।

वर्सेनि कनिका छरेझैँ बजेट छर्दा र ठेकेदार फेरिरहँदा सुस्त गतिमा बनिरहेको क्रिकेट मैदानको काममा ०७५।०७६ मा उपलब्ध साढे ३ करोड रुपैयाँको त कामै नभई फिर्ता गएको थियो। राखेपले समयमै टेन्डर आह्वान नगर्दा बजेट फ्रिज भएको हो। मैदानको रुपन्देही क्रिकेट संघले संरक्षण र सम्बद्र्धन गर्दै आए पनि सरकारी तबर र जिल्ला खेलकुद विकास समितिबाट संरक्षणमा समेत खासै ध्यान दिइएको छैन।

रुपन्देही राष्ट्रियस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्ने हवका रुपमा परिचित जिल्ला हो। अन्डर नाइन्टिन र राष्ट्रियस्तरमा यो क्षेत्रबाट धेरै खेलाडी टिममा छन्। जिल्लामा अहिले विभिन्न उमेर समूहका गरी ९० बढी अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन भइसकेका छन्।

तर, विडम्बना स्तरीय क्रिकेट खेलमैदान नहुँदा खेलाडीहरु अभ्यास गर्न भने पाउँदैनन्। जिल्लामा आवश्यक पूर्वधारसहितको खेल मैदान तयार भए नेपालकै उत्कृष्ट खेलाडीहरु उत्पादन हुनसक्ने खेलाडीहरुको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad