फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेल खेलिरहेको राष्ट्रिय फुटबल टोलीको कोरोनाको पीसीआर परीक्षण आगामी मंगलबार गरिने भएको छ।
भदौ १ गतेबाट प्रशिक्षण सुरु गराउने तयारीमा रहेको राष्ट्रिय टोलीका खेलाडीहरु अहिले क्वारेन्टिनमा बसिरहेका छन्। काठमाडौंबाहिरका खेलाडीहरु होटलमा बसिरहेका छन् भने उपत्यकाका खेलाडीहरु घरमा नै बसिरहेका छन्।
पहिलो चरणमा मंगलबार होटलमा बसेका खेलाडी र केही स्टाफको कोरोनाको पीसीआर परीक्षण गरिने अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए। उनले भने, ‘दुई चरणमा गरेर पीसीआर परीक्षण गराउने तयारीमा छौँ। दोस्रो चरणमा होम क्वारेन्टिनमा बसेका खेलाडीको परीक्षण गरिनेछ।’
खेलाडीको कोरोनाको पीसीआर परीक्षण पाटन अस्पतालमा गरिनेछ। अहिले ११ खेलाडी होटलमा बसेका छन्। २२ जना खेलाडी घरमा नै होम क्वारेन्टिनमा छन्।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले ए डिभिजन लिग खेलेका खेलाडीबाट ३३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।
विश्वकप छनोटअन्तर्गत नेपालले ३ वटा होम म्याच खेल्न बाँकी छ। नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दै छ। त्यसको ५ दिनपछि अर्थात् असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ। कात्तिक २७ गते जोर्डनसँगको खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछ।
विश्व कप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित निकालेको थियो। नेपालले एक मात्र खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो। त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए। ५ राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ।

प्रतिक्रिया