खेल


भक्तपुर फुटबल संघको गैरकानुनी कार्यमा एन्फा मुकदर्शक

भक्तपुर फुटबल संघको गैरकानुनी कार्यमा एन्फा मुकदर्शक

नेपालखबर
साउन २, २०७६ बिहिबार १२:२४,

भक्तपुर जिल्ला फुटबल संघले जिल्ला लिग सञ्चालनका लागि नियम विपरित क्लबहरुलाई समावेश गरेको थाहा पाएरपनि कारवाहीको सट्टा एन्फा मुकदर्शकमात्रै बनेको हो।

भक्तपुर जिल्ला फुटबल संघले जिल्ला लिगमा सहभागिता जनाउन चाहने क्लब तथा संघसंस्थालाई असार १ देखि १० गतेसम्म आवश्यक कागजातसहित दर्ता आउन सुचना प्रकाशित गरेको थियो।

67184123 860024481063676 8208611083175329792 nभक्तपुर जिल्ला फुटबल संघले लिग खेल्नका लागि आवश्यक पर्ने मापदण्डसहित निकालेको सुचना

आवश्यक कागजातहरुको बुदाँ नम्बर एकमा ‘जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि’ माग गरिएको छ।

तर, गैरकानुनी रुपमा जिल्ला फुटबल संघले भने जिल्लाका दुबै कार्यालयहरु(खेलकुद विकास समिति र जिल्ला प्रशासन कार्यालय)मा दर्ता नभएका क्लबहरुलाई जिल्ला लिगमा समावेश गरिएको भेटिएको छ।

असार २६ गतेदेखि सञ्चालन गर्ने भनि भक्तपुर जिल्ला फुटबल संघले असार २० गते खेलतालिका ड्र गरेको थियो। उक्त खेलतालिकाका अनुसार सिद्धि गणेश, बासुटी युवा क्लब, नेपालय, ख्वप यूनाइटेड, भक्तपुर डिलाइट क्लब, भक्तपुर नगरपालिका क्लब, भक्तपुर युवा टिम, रिले फुटबल क्लब, भक्तपुर युथ क्लब र स्विट सर्कल क्लबलाई जिल्ला लिगमा समावेश गरिएको छ।

2जिल्ला खेलकुद विकास समिति भक्तपुरले माथिका क्लबहरु दर्ता नभएको भनि पठाएको पत्र

तर, जिल्ला लिगमा खेलाइन लागेका यी दश क्लबमध्ये ६ क्लबहरुलाई गैरकानुनी रुपमा नियम विपरित लिगमा समावेश गर्न लागिएको हो। सिद्धि गणेश, स्विट सर्कल, भक्तपुर नगरपालिका क्लब, ख्वप यूनाइटेड, भक्तपुर युवा टिम र भक्तपुर यूथ क्लबहरु टाइसिट ड्र गर्दासम्म न प्रशासन, न खेलकुद विकास समितिमा दर्ता छन्।

जिल्ला प्रशासन कार्यालयमा यी दर्ता भए–नभएको बारे बुझ्दा प्रशासनले असार २५ गते पत्रको जवाफ पठाउँदै यी क्लबको दर्ता तथा नविकरण भएको रेकर्डमा नदेखिएको उल्लेख गरेको छ।

4जिल्ला प्रशासन कार्यालयले ती क्लबहरु दर्ता नभएको भनि दिएको जानकारी

यस्तै सोही दिन नै जिल्ला खेलकुद विकास समिति भक्तपुरले पनि जिल्लामा दर्ता भएका क्लबहरुबारे जानकारी दिदँै ती क्लबहरु दर्ता नै नभएको स्पष्ट पारेको छ।

जिल्ला फुटबल संघ भक्तपुरका अध्यक्ष गौतम सुजाखुले एकदुईवटा क्लबहरुको मात्रै दर्ता नभएको भन्दै उनीहरुले एकदुई दिनमै दर्ताप्रक्रियामा जाने बताएको गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिए।

‘एउटा दुईवटा टिम दर्ता भएका छैनन्,’ उनले भने, ‘एकदुई दिनमा हुन्छन्। केन्द्रबाट खटिएका प्रतिनिधिको सल्लाहमा नै उनीहरुलाई लिगमा समावेश गरिएको हो। हामीले गलत काम गरेको छैनौं। केन्द्रको सल्लाह अनुसार नै गरेका हौं।’

भक्तपुरले गरेको गैरकानुनी कार्यबारे बुझ्न एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई फोन गर्दा उनले त्यहाँ(भक्तपुर)को लिगबारे बुझ्न केन्द्रीय प्रतिनिधिका रुपमा सञ्जीव मिश्रलाई तोकेको उनैबाट जानकारी लिन भने। मिश्र भने यस प्रकरणबारे महासचिव इन्द्रमान तुलाधरलाई सोध्दा उत्तम होला भन्दै पन्छिए। महासचिव तुलाधर भने विश्वकप छनौटको ड्रका लागि मलेसियामा छन्।

प्रक्रिया पूरा भएका क्लबहरु वञ्चित
जिल्लामा सक्रिय अन्य क्लबहरुले भने संघले आफूहरुलाई जिल्ला लिगमा सहभागिताबाट वञ्चित पारिएको बताएका छन्।

जिल्लाका विभिन्न ८ वटा क्लबहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेपनि खेल्न नदिइएको तर गैर कानुनी रुपमा प्रक्रिया पूरा नभएका क्लबहरुलाई खेलाइन लागिएकोमा आपत्ती जनाए।

पत्रकार सम्मेलनमा भक्तपुर फुटबल क्लब, सत्यनारायण फुटबल क्लब, दिव्यश्वरी युवा समाज, ख्वप फुटबल क्लब, नेवालय फुटबल क्लब, थिमी युथ क्लब, ख्विप्रि फुटबल क्लब र द बेष्ट टिमले जिल्ला संघले गैरकानुनी क्लबहरुलाई लिगमा सहभागिता गराउन लगिएको आरोप लगाए।

5क्लबहरु दर्ताबारेमा अन्य क्लबले प्रशासनलाई मागेको जानकारी। जानकारी मागिएका यी क्लबहरु प्रशासनमा दर्ता नभएको पत्र माथि छ

भक्तपुर फुटबल क्लबका अध्यक्ष राज प्रजापतिले आफूहरुले सबै प्रक्रिया पूरा गरेपनि आफूहरुको क्लबलाई पटक पटक संघले गैर कानुनी रुपमा लिगमा समावेश नगराइएको भन्दै आफूहरु अदालत जान बाध्य हुनुपर्ने अवस्था आएको बताए।

‘नियमानुसार दर्ता नै नभएका क्लबलाई लिगमा सहभागिता गराइन लागिएको छ,’ उनले भने, ‘हामीले भने सम्पूर्ण प्रक्रिया पूरा गर्दापनि लिगमा समावेश गरिएको छैन्। तत्काल यो निर्णय नसच्चाए आफूहरु अदालतको ढोका ढक्काउँन बाध्य हुनेछौं।’

जिल्ला संघलाई आफूहरुले दर्ता मिति(असार १०)भित्र नै पटक पटक दर्ताका लागि पहल गरेपनि उनीहरु टार्दै गएको राजले बताए। यस विषयमा एन्फालाई जानकारी गराएको र एन्फाबाट खटिएका सञ्जीव मिश्र र एन्फ सह महासचिवले आज क्लब दर्ता भयो अर्को दिन पैसा बुझाउँनु भन्दै फर्किएको उनले बताए।

पछि जिल्ला उपाध्यक्ष सुनिल प्रजापतिले फोनमार्फत आफूहरुलाई बिनाकारण कारवाही गरेको भन्दै गाली गलौज समेत गरेको उनले बताए।

लिग चाँडै सुरु हुन्छः
भक्तपुर जिल्ला फुटबल संघले यसअघि असार २६ गतेबाट जिल्ला लिग सुरु गर्ने बताएपनि लिग भने सुरु हुन सकेको छैन्। संघका अध्यक्ष सुजाखुले वर्षाका कारण मैदान हिलाम्मे भएकाले लिग रोकिएको र चाँडै सुरु हुने बताए।

‘लगातार वर्षाका कारण मैदान हिलाम्मे भएकाले लिग रोकिएको छ,’ सुजाखुले भने, ‘जिल्लाको बैठक बसेर छिटै लिग सञ्चालनको नयाँ मिति सार्वजनिक गर्छौ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .