खेल


राखेपमा सिलवालको पुनरागमन चर्चा : यी हुन् उनी फर्किनसक्ने चार आधार

राखेपमा सिलवालको पुनरागमन चर्चा : यी हुन् उनी फर्किनसक्ने चार आधार

लक्ष्मी जि.सी
असार २५, २०७७ बिहिबार ११:११,

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा केही दिनअघि मात्रै पदमुक्त भएका निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल नै फर्किने चर्चा सुरु भएको छ।

यही असार १८ गते सिलवालसहित परिषदका उपाध्यक्ष र अन्य सदस्यहरु खेलकुद विकास ऐन २०७७ लागू भएसँगै पदमुक्त भएका थिए।

सिलवालले १ वर्ष राखेपको नेतृत्व गरेर विदा भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्धलगायत अन्य कारणले पुनः जिम्मेवारी पाउने सम्भावना प्रबल देखिएको हो।

सिलवालको कार्यकालमा नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजना मात्र गरेन, ५१ स्वर्णपदकसहित अहिलेसम्मकै सर्वाधिक सफलता प्राप्त गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले असार १० गते नयाँ ऐन प्रमाणीकरण गरेपछि एक सातासम्म पनि राखेपका तत्कालीन पदाधिकारी पदमुक्त हुने/नहुने बहस चलेको थियो।

युवा तथा खेलकुद मन्त्रालयले पुराना पदाधिकारी सदस्यका विषयमा मौन बसी यही असार २२ मा मन्त्रालयका सहसचिव भक्तबहादुर ढकाललाई परिषदको कार्यवाहक सदस्यसचिवको जिम्मेवारी दिएको छ।

अब नयाँ प्रक्रियाबाट सदस्यसचिव नियुक्त हुने भएकाले सिलवालले नै नियुक्ति पाउने चर्चा बढेको छ। यसअघि पनि प्रधानमन्त्री केपी ओलीकै चाहनामा सिलवाल राखेप सदस्यसचिवमा नियुक्त भएका थिए।

चार वर्षका लागि नियुक्त भए पनि नयाँ ऐनका कारण पदमुक्त भएपछि प्रधानमन्त्रीसँगको निकटताका कारण उनलाई नै फेरि नियुक्त गर्नसक्ने सम्भावना बलियो छ। त्यसबाहेक सदस्यसचिवका लागि तोकिएको मापदण्डका लागि पनि सिलवाल योग्य देखिएका छन्।

खेलकुद मन्त्रालयका सचिवको संयोजकत्व रहने सिफारिस समितिले एक महिलासहित मापदण्ड पूरा गरेका ३ जनाको नाम मन्त्रालयलाई सिफारिस गर्नेछ।

सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिव नियुक्त गर्नेछ।

तर सिफारिस समितिले भने पूर्णता पाइसकेको छैन। खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले विज्ञबाट एक महिलासहित २ जनाको मनोनयन गरेपछि मात्र सिफारिस समितिले पूर्णता पाउनेछ।

मन्त्री विश्वकर्माले छिट्टै सदस्यसचिव नियुक्तिको प्रक्रिया सुरु हुने बताएका छन्।

सदस्यसचिवका लागि खुला आह्वान गर्दा थुप्रैको आवेदन पर्नेछ। यदि सिफारिस समितिले ३ जनालाई मात्र सिफारिस गरे सिलवाल त्यसभित्र पर्ने अनुमान गरिएको छ।

सिलवालको बलियो सम्भावनाका चार आधार
१. मापदण्डमा योग्य
नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ। जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभनेको हुनुपर्ने उल्लेख छ।

यो सबै मापदण्डमा सिलवाल योग्य छ्रन्। खेलकुदमन्त्री विश्वकर्माले पनि सिलवाल पुनः आउने विषयलाई नकारेका छैनन्। सिलवालको योग्यता पुग्ने हुँदा उनी नै आउनसक्ने स्वयं मन्त्रीले संकेत गरे।

उनले नेपालखबरसँग भने, ‘ऐनले सदस्यसचिवका लागि मापदण्ड तोकेको छ, त्यसमा उहाँको सबै योग्यता पुग्ने भएकाले पनि उहाँ पनि पर्न सक्नुहुन्छ।’

२. प्रधानमन्त्रीसँगको निकटता
प्रधानमन्त्रीको रुचि नभएको व्यक्ति राखेपको सदस्यसचिवमा आउने सम्भावना कम हुन्छ। पहिलोपटक आफ्नो नियुक्तिमा पनि प्रधानमन्त्री ओलीको इच्छा नै मुख्य कारण रहेको सिलवाल स्वयंले प्रष्ट पारेका थिए। त्यसैले यसपटक पनि उनी दोहोरिने सम्भावना बलियो देखिएको हो।

तत्कालीन नेकपा एमालेमा ओली कमजोर रहेको अवस्थामा पनि मदन भण्डारी स्पोर्टस फाउन्डेसनमार्फत ओलीलाई खेलकुदमा सक्रिय बनाउन सिलवालले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसअघि पार्टीको युवा संघमा ओली अध्यक्ष हुँदा एउटै कमिटीमा रहेर सिलवालले काम गरेका थिए। त्यसयता सिलवाल र ओलीबीच निकट सम्बन्ध रहिआएको छ। सोही कारण पनि राखेपमा सिलवालको पुनरागमन हुने सम्भावना बलियो छ।

३. साग आयोजनाको नेतृत्व
गत वर्ष असार २३ गते सिलवाल राखेप सदस्य सचिवमा नियुक्त हुँदा १३औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुनेमा शंका थियो। सागको उद्घाटन र समापन गर्नुपर्ने मुख्य आयोजनास्थल दशरथ रंगशालाको पुनर्निर्माण हुनेमा दुविधा थियो। त्यस्तो अवस्थामा मंसिर १५ गतेदेखि आयोजना हुने सागका लागि सिलवालकै नेतृत्वमा दशरथ रंगशाला तयार भएको थियो। मुख्यतया भीआईपी प्यारापिटको छानाकै कारण समयमा साग होला र भन्नेमा धेरैलाई शंका रहे पनि अन्ततः उनकै नेतृत्वमा साग आयोजना भयो।

संयोग नै मान्नुपर्छ, १३औँ सागमा नेपालले अहिलेसम्मकै ठूलो सफलता हात पार्यो। १३औँ सागमा नेपालले ५१ स्वर्णसहित २०७ वटा पदक जितेर तालिकाको दोस्रो स्थानमा रहन सफल भयो। सिलवालले अध्ययनकै आधारमा आपूmले ५० वटाभन्दा बढी पदक जितेको दाबी गर्दै आएका छन्। यद्यपि साग सम्पन्न भइसकेको ७ महिनासम्म पनि उनले खर्च भने सार्वजनिक गर्न नसक्दा आलोचना पनि खेपेका थिए। 

४. योजना, प्रतिबद्धता र विश्वसनीयता
सिलवालले आफ्नो क्षमता नवौँ राष्ट्रिय खेलकुदबाट मूल्यांकन गर्न बारम्बार अनुरोध गर्ने गरेका छन्। गण्डकी प्रदेशको पोखरामा हुने भनिएको नवौँ खेलकुदमा भौतिक पूर्वाधार र व्यवस्थानका हिसाबले गुनासो गर्ने ठाउँ नराख्ने प्रतिबद्धता जाहेर गरेका थिए। त्यसले उनीमाथि खेलप्रेमीमा केही विश्वास जगाएको थियो।

खेलकुदको विकासका लागि आफू सरकारको मात्रै मुख ताकेर नबस्ने भन्दै खेलकुदलाई पर्यटनसँग जोड्दै अन्तर्राष्ट्रिय दाता तथा कर्पोरेट क्षेत्रलाई पनि यसमा समावेश गर्ने योजना उनले सुनाउँदै आएका छन्।

‘अहिलेसम्म खेलकुदमा आउनेहरुले सरकारको मात्रै मुख ताकेर बसेको देखेँ। अब म सरकारको मात्रै मुख ताकेर बस्दिन। अन्य दाता कर्पोरेट हाउसबाट सहयोग ल्याएर भौतिक पूर्वाधारलाई बलियो बनाउने काम गर्छु’, उनले भनेका थिए।

विगतमा राजनीतिक परिवर्तनसँगै सदस्य सचिव फरिरहँदा राखेपले चाहेजस्तो खेलकुदको विकास गर्न नसकेको भन्ने खेलकुदमा चर्चा हुने गरेको थियो। २०४६ सालको आन्दोलनपछि राखेपका सदस्य सचिवमध्ये ३ जनाले मात्र ४ वर्षे कार्यकाल पूरा गरेका थिए।

कम्तीमा ४ वर्ष राखेपको नेतृत्व गर्न पाए सदस्यसचिवले आफ्नो क्षमता देखाउने पर्याप्त अवसर पाउँछ। त्यसकारण राम्रो गरिरहेको मान्छेलाई नै सरकारले पुनः एकपटक मौका दिनसक्ने भएकाले र प्रधानमन्त्रीको रोजाइमा पनि पर्ने भएकाले सिलवालले त्यो अवसर पाउनसक्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad